काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सिन्धुली–१ का सांसद धनेन्द्र कार्की घर खरिदसम्बन्धी लेनदेन विवादमा तानिएका छन्। चितवनको खैरहनीस्थित एक घर किन्ने क्रममा उनले अझै करिब १८ लाख रुपैयाँ तिर्न बाँकी रहेको विषय सार्वजनिक भएको हो।
कार्कीले मनोज महतोको दुईतले घर एक करोड रुपैयाँमा किन्ने सहमति गरेका थिए। त्यसअनुसार ७० लाख रुपैयाँ तत्काल भुक्तानी गरिएको थियो भने बाँकी ३० लाख रुपैयाँ पछि तिर्ने समझदारी बनेको थियो। उक्त रकम घरधनीका ससुरा रुदल महतोको खातामा जम्मा गर्ने सहमति भएको थियो।
तर, तोकिएको समयमा रकम भुक्तानी नभएपछि विवाद सुरु भएको हो। कार्कीले दिएको आइसीएफसी बैंकको चेक बाउन्स भएपछि रुदल महतोले फागुन २१ अघि प्रहरीमा उजुरी दिएका थिए, जसका कारण कार्कीको बैंक खाता समेत रोक्का भएको बताइएको छ।
पछि उक्त मुद्दा मिलाउन कार्कीले १० लाख रुपैयाँ बुझाएर उजुरी फिर्ता गराएको जनाइएको छ। त्यसपछि पनि विभिन्न चरणमा गरी उनले कुल ८५ लाख रुपैयाँ भुक्तानी गरिसकेको दाबी छ। अब बाँकी रकममध्ये १५ लाख मूलधन र ब्याजसहित करिब १८ लाख रुपैयाँ तिर्न बाँकी रहेको दुबै पक्षको भनाइ छ, यद्यपि रकममा सामान्य फरक देखिन्छ।
हालै कार्कीले दिएको २२ लाख रुपैयाँको अर्को चेक पनि नसाटिएपछि महतो पक्षले प्रभु बैंक, भरतपुर शाखाबाट चेक बाउन्सको प्रमाणपत्र लिएको छ। साथै, कार्कीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्न प्रक्रिया अघि बढाइएको जनाइएको छ।
पटक–पटक अनुरोध गर्दा पनि रकम नआएपछि आफू कानुनी प्रक्रिया अघि बढाउन बाध्य भएको महतोको भनाइ छ। यद्यपि हालसम्म प्रहरीमा नयाँ मुद्दा दर्ता भने गरिएको छैन । उता सांसद कार्कीले भने व्यक्तिगत समस्याका कारण ढिलाइ भएको स्वीकार गर्दै छिट्टै सबै बाँकी रकम भुक्तानी गर्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्