Skip to content

बाढीपहिरोको विपत्तिमा सरकारको ध्यान राहतभन्दा अन्तै मोडिएको छ : सांसद युवराज दुलाल

nmb bank inside

बाढीपहिरोको विपत्तिमा सरकारको ध्यान राहतभन्दा अन्तै मोडिएको छ : सांसद युवराज दुलाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला सरकारको ध्यान विपद् व्यवस्थापनभन्दा अन्यत्र मोडिएको आरोप लगाएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले पछिल्लो चार दिनको अविरल वर्षाबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे। उनले प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र अस्थायी व्यवस्थापनका काम थाल्न सरकारसँग माग गरे ।

उनले भने, ‘गएको चार दिनको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा फेरि धेरै नै जनधनको क्षति भएको छ, यस घटनाप्रति म दुःख व्यक्त गर्न चाहन्छु । जीवन गुमाउने सबै नागरिकप्रति दलको तर्फबाट हार्दिक श्रद्धासुमन व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्न चाहन्छु । तत्काल राहत, उद्धार र अस्थायी व्यवस्थापनका काम अविलम्ब थाल्न सरकारसँग जोडदार माग गर्दछु ।’

दुलालले विपत्तिको समयमा सरकारले नागरिकलाई राहत र उद्धार दिनुपर्ने भए पनि सरकारको ध्यान अन्य विषयतर्फ केन्द्रित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन् ।

उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई असोज १० गते मध्यरातमा पक्राउ गरिएको विषयमा पनि सरकारसँग प्रश्न गरे । उनले सरकार कानुनी राज्यको बाटोमा अघि बढिरहेको छ कि अराजकताको बाटोमा भन्ने प्रश्न समेत उठाएका छन् ।

पूर्वप्रधानन्यायाधीशलाई ‘सुरक्षा थ्रेट’ का कारण पक्राउ गरिएको भनिएको प्रसंग उल्लेख गर्दै दुलालले सुरक्षा थ्रेट दिने व्यक्तिलाई पक्राउ गरिएको हो वा सुरक्षा थ्रेटमा रहेका व्यक्तिलाई, त्यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्