म फिल्म बनाउने सोचले फर्किएकी हुँ : विपना थापा
कसरी लोकप्रिय बन्यो विपना थापाको त्यो दशैं गीत ?
भेषराज कार्की, नेपाल न्यूज बैंक
काठमाडौं । पछिल्लो दुई वर्ष यता विपना थापाको अभिनयमा सक्रियता बढेको छ । ‘वरमाला’ मा अभिनय गरेपछि आफ्नो श्रीमानसँग भारत पुगेकी अभिनेत्री थापाले केही समय पारिवारिक गृहस्थी जीवनमै आफूलाई समर्पित गरिन् । करिब एक सय भन्दा बढी फिल्ममा देखिएकी थापा नेपालको सर्वाधिक व्यस्त अभिनेत्रीको रुपमा परिचित थिइन् ।
यद्यपि, डिजिटल प्रविधिको प्रवेशसँगै नेपाली फिल्मको कथ्य शैलीमा आएको परिवर्तनसँगै बदलिँदो अवस्थालाई मध्यनजर गर्दै उनले आफूलाई केहि समय परिवारमै व्यस्त बनाइन । लगभग उनी विसं २०८० सालताका नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा अभिनय गर्न नेपाल आइन । त्यसयता उनी नेपाली फिल्ममा पुनः सक्रिय छिन् ।
‘मैंले परिवारलाई दिनुपर्ने समय दिएँ, त्यसपछि मेरो अर्को परिवार फिल्मकर्मीलाई अब म काम गर्न तयार छु भनेर जानकारी दिएँ । त्यसपछि आएका फिल्मको प्रस्तावलाई स्वीकार गर्दै काम गरिरहेकी छु’, उनले भनिन् ।
‘यसपटकको दशैँ विशेष छ’
चाडपर्वको मध्य सिजनमा नेपालमा भेटिएकी उनको यसपटकको दशैँ विशेष छ । किनकि उनले अभिनय गरेको फिल्म ‘आ बाट आमा २’ हलमा गत असोज ३० देखि प्रदर्शनरत छ । उनी दर्शकसँग प्रतिक्रिया लिन दौडधुप गरिरहेकी छिन् ।
यसपटक उनको दशैं आफ्नो परिवार, फिल्मी परिवारसँगै दर्शकसँग मनाइरहेकी छिन् । उनले नेपाल न्यूज बैंकसँगको कुराकानीमा आफ्ना सुरुआती दिनका सम्झनाहरू साटेकी छिन् ।
काठमाडौँको स्यूचाटारमा जन्मिएकी अभिनेत्री थापाका परिवारका सबै सदस्य राजनीतिमा सक्रिय थिए । वडा तहदेखि सांसदसम्म उनको परिवारका सदस्य राजनीतिमा सक्रिय रहँदा पनि अभिनेत्री थापालाई त्यता सक्रिय हुने रहर जागेन । उनले आफूलाई कलामै व्यस्त बनाउनुका साथै आफ्नो रूची बढाइन् । हुन् त उनका बुवाले ‘छोरीलाई पनि मनिषा कोइराला जस्तै नायिका बनाउँछु’ भन्ने गर्थे ।
चर्चित नृत्याङ्गना विमला श्रेष्ठ उनको छिमेकी थिइन् । सोही कारण अभिनेत्री थापाको लगाव कलातर्फ बढिरहेको थियो । ‘कुनै दिन म यी विमला फुपूजस्तै नाच्ने हुन्छु’ भन्ने अठोटका साथ अघि बढिरहेकी थापा सानै उमेरदेखि नाच्नमा पारगङ्त थिइन् ।
त्यस्तो त उनले आफ्नो करिअरको सुरुआत ‘आमा’ नामक टेलीफिल्ममार्फत गरेकी थिइन् । त्यो मौका उनलाई निर्देशक रेशराज आचार्यले दिएका थिए । ‘आमा’ भन्ने टेलिफिल्ममा बालकलाकारको रुपमा छोरीको भूमिकामा पहिलोपटक अभिनय गर्दौ उनको अभिनय यात्राको सुरुआत भयो । त्यो टेलीफिल्म प्रशारण नभएता पनि उनको अभिनयको लामो यात्रा अगाडि बढ्यो ।
किनकि अभिनेत्री थापालाई त्यहि दौरान निर्देशक मोहन निरौलाले देखेका थिए । त्यसपछि थापालाई फिल्ममा अभिनय गर्ने प्रस्ताव राखे । ‘मलाई मोहन सरले फिल्ममा अभिनय गर्छौँ भनेर सोध्नुभयो । मैंले मेरो घरमा आएर सोध्नुस् भनेर जवाफ दिएँ । उहाँहरू मेरो घरमा आएपछि कुराकानी भयो र पहिलो फिल्म ‘जन्मभूमि’ मा काम गर्ने तय भयो’, उनले भनिन् ।
अभिनेत्रीका रुपमा देखिने भएपछि उनले आफ्नो बुवालाई स्मरण गरिन् । किनकि आफ्नो छोरीलाई पर्दाको हिरोइन बनाउँछु भन्ने बुवाले त्यस्तिबेलासम्म संसार छाडिसकेका थिए । उनले पहिलो फिल्मका लागि पारिश्रमिक पाँच हजार रुपैयाँ र मुट्ठीभरि ‘ह्वाइट र्याबिट’ चक्लेट पाइन् ।
‘वरमाला’को पारिश्रमिक र दशैं गीतको चर्चा
यसरी उनको अभिनय यात्राको सुरुआत भयो । विवाहपछि फिल्म छाड्ने बेलामा उनले अभिनय गरेको फिल्म ‘वरमाला’ अधिकतम पाँच लाख रुपैयाँ बुझिन् । यो रकम लिँदा नेपाली रजतपट बृत्तमा ठूलै हल्लाखल्ला भएको विपना बताउँछिन् ।
डेब्यू फिल्मपछि नै दर्शक र फिल्मकर्मीको रोजाइमा परेकी थापाको टाढाका नातेदार हुन् अभिनेता सुशील क्षेत्री । नाताले उनीहरू दाजुबहिनी हुन् । ‘आगो फिल्ममा काम गर्दा सहज हुन्छ भनेर सुरुआती एक हप्ता जस्तो मेरो र सुशील दाइको दृश्यहरु नै छायांकन गरिएको थियो । उहाँ मसँग काम गर्दा सहज हुनुहुन्थ्यो’, उनले भनिन् ।
अभिनेता र अभिनेत्रीकै रुपमा उनीहरूले धेरै फिल्ममा काम गरेका छन् । ती मध्ये एक हो ‘मुग्लान’ । जसको गीत ‘दशैँ आयो’ हरेक दशैँमा बज्ने गर्छ । अहिले पनि उत्तिकै लोकप्रिय छ ।
‘त्यो गीत त्यतिबेला कोदो फुल्ने समयमा नै छायांकन गरिएको थियो । दशैँकै माहोल थियो, सबैले नयाँ कपडा र दशैँको टीका लगाएर छायांकन गरेका थियौँ । फिल्मी परिवारसँग दशैँ मनाएको अनुभुती भएको थियो । हामीलाई गीतले दर्शकको मन जित्छ भन्ने विश्वास थियो’, उनले भनिन् ।
हरेक दशैँदेखि आफ्नो दुई गीत धेरै गुन्जिने गरेको उनी बताउँछिन । ‘दशैँ आयो’ सँगै उनको प्रदर्शनरत फिल्म ‘आ बाट आमा २’ मा समावेश गरिएको ‘रातो टीका लगाउँदा क्या दामी देखियो’ गीतले पनि दर्शकको उत्तिकै मन जित्नेमा उनी विश्वस्त छिन् ।
‘आउँदो दशैँदेखि मेरा दुई गीत बज्छन, यसमा म ढुक्क छु । किनकि ‘मुग्लान’ को झैँ यसपटक छायांकन गर्दा मैंले दशैँको माहोल फिल गरेकी थिएँ । निर्देशकलगायत अन्य सबै कलाकार पनि मेरा दुई गीत अबदेखि दशैँमा गुञ्जिनेछन् भनेकी थिएँ’ उनले भनिन् ।
पछिल्लो सक्रियता
आफ्नो चलिरहेको फिल्मी करिअरमा विश्राम लिनुको कारण उनले पारिवारिक दायित्व बताएकी छिन् । विवाह गरेपछि एउटी बुहारीले निर्वाह गर्नुपर्ने कर्तव्यले उनलाई केही समय विश्राम लिन प्रेरित गरेको उनको भनाइ छ ।
‘मैले बुहारीको रुपमा आफ्नो कर्तव्य पुरा गर्नुपर्ने थियो, किनकि श्रीमान्, सासु र बच्चालाई हेरचाह गर्नुपर्ने दायित्व थियो । एक किसिमको जिम्मेवारी पुरा गरेकाले पुनः फिल्ममा सक्रिय छु’, उनले भनिन् ।
त्यसो त अभिनेत्री थापाले अझै पनि आगामी कार्ययोजना पूर्ण रुपमा बनाएकी छैनन् । उनी आफ्नो छोराले १२ कक्षाको परीक्षा दिन लागेकाले पनि त्यसपछि आगामी कार्ययोजना बनाउने बताउँछिन् ।
‘अहिले छोराको अध्यन चलिरहेको छ, पाँच/छ महिनामा परीक्षा हुन्छ । त्यसपछि म के गर्ने भन्ने योजना बनाउने छु, अहिले अभिनय गरिरहेकी छु, त्यहि हो’, उनले भनिन् । त्यस्तो त उनी अभिनय गर्ने योजना बनाएर मात्र कमब्याक गरेकी होइनन् । उनी फिल्म मेकिङमै आउन चाहन्छिन् ।
‘म फिल्म बनाउने सोचले नै फर्किएकी हुँ, तर अहिले नै बनाउने छु भन्ने होइन । तर, भविष्यमा अवश्य फिल्म बनाउने छु’, उनले भनिन् ।
आफ्ना जीवनका व्यस्त दैनिकीमा उनले लगातार ३६ घण्टासम्म काम गरेकिछिन् । वर्षौंको विश्रामपछि ‘सुटिङसेट’मा विताउने पलले उनलाई आनन्द दिईरहेको छ । त्यसकारण पनि अभिनेत्री थापा आफ्नो कलाकारितालाई पुनः इन्जोय गरिरहेकी छिन् ।


प्रतिक्रिया दिनुहोस्