सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध
काठमाडौं । सरकारले भारतीय फिल्म ‘उड्ता तिर’ लाई नेपालमा प्रदर्शनका लागि प्रतिबन्ध लगाएको छ । सूचना तथा सञ्चार मन्त्रालयले वितरण कम्पनी नेसनल सिने ग्रुप नेपाललाई पत्र लेख्दै चलचित्रलाई सार्वजनिक प्रदर्शनका लागि अनुमति दिन नसकिने जनाएको हो ।
मन्त्रालयको श्रव्यदृश्य तथा प्रसारण शाखाले वितरकलाई पठाएको पत्रमा निर्माण, प्रदर्शन तथा वितरण ऐन २०२६ को दफा ८ ९३० ले निषेधित गरेको विषयवस्तुमा चलचित्र निर्माण भएको पाइएकाले सोही नियमानुसार सार्वजनिक प्रदर्शनको लागि अनुमति दिन नसकिने उल्लेख गरेको छ ।
केन्द्रीय चलचित्र जाँच समितिले केही दिनअघि यो फिल्मको जाँच गरिसकेको थियो । आकाश कौशिक निर्देशित यो फिल्म शुक्रबारदेखि प्रदर्शन तयारीमा थियो ।
आयुष्मान खुराना र सारा अली खानको शीर्ष भूमिका रहेको यो फिल्म हिन्दी स्पाइ कमेडी फिल्म हो । यसमा स्मरण गुमाएको एक गुप्तचर भारत र पाकिस्तानको जिरो लाइन सीमामा अलमलिएर अड्किन पुग्छ।
पाकिस्तान विरोधी कथावस्तु भएको कारण नेपालको केन्द्रीय चलचित्र जाँच समितिले प्रतिबन्ध लगाएको बुझ्न कठिन छैन । यसअघि समितिले भारत र पाकिस्तानलाई लक्षित गर्दै मित्रराष्ट्रसँगको सम्बन्धलाई असर पर्ने खालका फिल्मको सार्वजनिक प्रदर्शनमा अनुमति नदिने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्