काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपीएल) लाई सफल बनाउन सबै पक्षको सकारात्मक सहयोग आवश्यक रहेको बताएका छन् ।
एनपीएलको तेस्रो संस्करण सुरु हुनुअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन सञ्चारमाध्यमसहित सबै सरोकारवालाको सक्रिय तथा सकारात्मक भूमिका अपेक्षा गरेको बताए ।
उनले भने, ‘एनपीएललाई सफल पार्न सबैको सकारात्मक भूमिका र सक्रिय सहयोगको अपेक्षा गरेको छु । प्रतियोगितालाई सफल बनाउन सञ्चारमाध्यमलगायत सबै सरोकारवालाको सहयोग आवश्यक छ ।’
उनले एनपीएल सञ्चालनका लागि गठित कमिटी अधिकारसम्पन्न रहेको उल्लेख गर्दै उक्त कमिटीले गरेका निर्णय क्यानको बोर्डमा पेस भएपछि छलफल हुने बताए ।
एनपीएलसम्बन्धी सबै गतिविधिको जानकारी तत्काल बोर्डका सबै सदस्यलाई नहुने स्पष्ट पार्दै उनले आवश्यक निर्णय प्रक्रियाअनुसार बोर्ड तथा साधारणसभाबाट अनुमोदन गरिने जानकारी दिए ।
एनपीएलको लेखापरीक्षणबारे उठेका प्रश्नको जवाफ दिँदै चन्दले कानुनी व्यवस्थाका कारण लिगको लेखापरीक्षण क्यानकै माध्यमबाट गर्नुपर्ने अवस्था आएको बताए ।
लेखापरीक्षण प्रतिवेदनमा कार्यकारी अध्यक्ष, सचिव र कोषाध्यक्षको हस्ताक्षर आवश्यक पर्ने उल्लेख गर्दै उनले प्रतिवेदन बोर्डबाट पारित गराएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा पठाउनुपर्ने प्रक्रिया रहेको जानकारी दिए ।
उनले पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणमा उल्लेख्य सुधार भएको दाबी गर्दै आगामी संस्करणमा पनि प्रतियोगितालाई थप व्यवस्थित बनाउँदै लैजाने बताए । निर्णय प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन एनपीएल कमिटीलाई आवश्यक अधिकार दिइएको उनको भनाइ थियो ।
यसैगरी, क्यानका सचिव पारस खड्काले एनपीएलको तेस्रो संस्करणका लागि करिब ९५ देखि ९९ प्रतिशत तयारी पूरा भएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्