निर्माताको लगानी सुरक्षित गर्ने हाम्रो लक्ष्य हो :दीपकराज गिरी
काठमाडौँ । निर्माता तथा अभिनेता दीपकराज गिरीले निर्माताको लगानी सुरक्षित गर्ने र दर्शकलाई सन्तुष्ट पार्ने उदेश्यले फिल्ममा काम गर्ने गरेको बताएका छन् ।
दशैंलाई लक्षित गर्दै गत असोज ३१ गतेदेखि प्रदर्शनरत फिल्म ‘छ माया छपक्कै २’ ले घरेलुबजारमा अपेक्षित व्यापार नगरेपछि अभिनेता गिरीले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफ्ना राम्रा फिल्मको कमाइ कम नै रहेको बताए ।
‘हाम्रो समूहले निर्माण गरेको फिल्म ‘वडा नम्बर ६’ लाई धेरैले राम्रो भन्नुहुन्छ, तर त्यसको कमाइ अन्य भन्दा कम छ । यसपटक पनि हामीले सकारात्मक प्रतिक्रिया पाएका छौँ, तर कमाइ भने राम्रो हुनसकेको छैन’, उनले भने ।
उनले आफ्नो समूह जोडिने फिल्ममा लगानी गरिदिने निर्माताको लगानी सुरक्षित गर्ने उदेश्यले आफूले काम गर्ने गरेको बताए । ‘हाम्रो मेकिङ र कथ्य शैलीले अलि बजेट बढाउने गरेको छ, त्यसैले हामी लगानी सुरक्षित हुने सङघारमा छौँ’, अभिनेता गिरीले भने ।
फिल्म ‘छ माया छपक्कै’ मा निर्माताको रुपमा रोहित अधिकारी जोडिएका छन् भने क्रिएटिभसहित आफ्नो अभिनय, लेखनलाई अभिनेता गिरीसहित अभिनेत्री दीपाश्री निरौलाले लगानी गरेका छन् । टेलीफिल्म हुँदै ठूलो पर्दामा उदाएका अभिनेता गिरीसहितको समूह जोडिएर बनेको फिल्म मध्ये सबैभन्दा कम कमाइ ‘छ माया छपक्कै २’ ले गरेको छ ।
बक्सअफिस स्रोतका अनुसार फिल्मले हालसम्म घरेलुबजारमा तीन करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, दीपाश्री निरौला, कर्मा शाक्य र रिहान गिरीलगायत कलाकारको अभिनय छ ।
यसको अघिल्लो भाग ‘छ माया छपक्कै’ले नौ करोड ९२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । पहिलो भागको व्यावसायिक सफलताका कारण सिक्वेलप्रति पनि दर्शकको चासो थियो । तर, सार्वजनिक रिपोर्टअनुसार फिल्मको अहिलेसम्मको कमाइ अघिल्लो भागको तुलनामा कम छ ।


प्रतिक्रिया दिनुहोस्