काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले काठमाडौं आएका राउटे समुदायका सदस्यहरूलाई भेटेकी छन्।
भेटमा मन्त्री बादीले राउटे समुदायको परम्परागत कला, संस्कृति, रहनसहन, आवास, सुरक्षा तथा जीवनस्तर सुधारका विषयमा आत्मीय संवाद गरेकी हुन्।
यसअघि सल्यान भ्रमणका क्रममा राउटे बस्तीमै पुगेर उनीहरूको जीवनशैली र समस्या बुझ्ने अवसर पाएकी मन्त्री बादीलाई त्यसबेला समुदायका सदस्यहरूले आफ्नै हातले बनाएका रोटी बेल्ने सामग्री तथा काठका ठेकीलगायत परम्परागत हस्तकलाका सामग्री उपहार दिएका थिए।
त्यही भेटको सम्झना गर्दै राउटे समुदायका सदस्यहरू काठमाडौं आएको जानकारी पाएपछि मन्त्री बादी उनीहरूलाई भेट्न पुगेकी हुन्।
भेटघाटका क्रममा मन्त्री बादीले प्रधानमन्त्री र आफ्नो संयुक्त तस्बिर तथा मन्त्रालयको तस्बिर छापिएका सामग्रीसँगै साडी, पोते, जुत्तालगायतका आवश्यक सामग्री उपहारस्वरूप प्रदान गरिन्।
मन्त्री बादीले दिएको सम्मान र सामग्रीप्रति राउटे समुदायका सदस्यहरूले खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए। उनीहरूले आफूहरूले पाएका जुत्ता, साडी तथा अन्य सामग्रीबारे बस्तीमा फर्किएपछि समुदायका अरू सदस्यहरूलाई समेत सुनाउने बताएका छन्।
भेटघाटका क्रममा राउटे समुदायको बसोबास र मृत्युसंस्कारसँग जोडिएको परम्पराबारे पनि छलफल भएको थियो। राउटे समुदायका सदस्यहरूले आफ्नो समुदायमा कसैको मृत्यु भएमा बस्ती नजिकै खाल्डो खनेर अन्त्येष्टि गर्ने, मृत्युसंस्कारपछि सातदेखि बाह्र दिनसम्म किरिया बस्ने र त्यसपछि पुरानो बसोबास छाडेर अर्को स्थानमा बसाइँ सर्ने परम्परा रहेको जानकारी गराएका थिए। एक स्थानबाट अर्को स्थानमा बसाइँ सरेपछि पनि विभिन्न कारणले पुनः स्थान परिवर्तन गर्ने चलन रहेको उनीहरूले सुनाए।
यस्तो निरन्तर बसाइँसराइले खानपान, सुरक्षित आवास, स्वास्थ्य, शिक्षा तथा अन्य सेवा प्राप्त गर्न असहज भएको सन्दर्भमा छलफल भएको थियो।
मन्त्री सिता बादीले राउटे समुदायको ऐतिहासिक पहिचान, जीविकोपार्जनको इतिहास र यस समुदायको संस्कृति तथा परम्पराको सम्मान गर्दै यसको संरक्षण र प्रवद्र्धनमा नेपाल सरकार लागिरहेको बताइन्।
उनीहरूको इच्छाअनुसार सुरक्षित बसोबास, पर्याप्त अन्न, विशेष गरेर बालबालिका, गर्भावस्थामा रहेका महिला, एकल महिला तथा ज्येष्ठ नागरिकको पोषण र राउटे समुदायको जीवनस्तर सुधारका लागि सरकारले गरिरहेको प्रयत्नमा थप के गर्न सकिन्छ भन्ने विषयमा उनले सुझाव मागिन्।
राउटे समुदायका सदस्यहरूले आफूहरू पनि जीवनशैलीमा सकारात्मक परिवर्तन चाहेको र बिस्तारै शिक्षा, स्वास्थ्य र आवासमा परिवर्तन भइरहेको तर त्यसका लागि समुदायका अग्रज र मुखियालाई बुझाउन आवश्यक रहेको बताएका थिए। यससँगै उनीहरूले बस्तीको सुरक्षाका लागि प्रहरी परिचालनमा समन्वय गर्ने, बालबालिका तथा युवालाई खेलकुदका सामग्री उपलब्ध गराउने र विभिन्न स्थानको भ्रमण गराउने विषयमा थप आवश्यकता रहेको बताएका थिए। यस विषयमा मन्त्री बादीले सम्भावनाबारे पनि छलफल गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस्