प्रधानमन्त्रीको भारत भ्रमण : औसत उपलब्धी, ओझेलमा सीमा विवाद र पुराना मुद्दा
प्रधानमन्त्रीको दिल्ली भ्रमण : स्वागत भव्य, उपलब्धिमा विज्ञका फरक मत
आकांक्षा धामी, नेपाल न्यूज बैंक
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो द्विपक्षीय भारत भ्रमणलाई परराष्ट्र मामिलाका जानकारहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । केहीले पहिलो भ्रमणका हिसाबले यसलाई सफल र सकारात्मक मानेका छन् भने केहीले अपेक्षाअनुसार उपलब्धिमूलक हुन नसकेको टिप्पणी गरेका छन् ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्ता, विकास सहायता, ऊर्जा सहकार्य, पूर्वाधार निर्माण, हवाई सम्पर्क र विभिन्न समझदारीलाई सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ । तर सीमा विवाद, सन् १९५० को शान्ति तथा मैत्री सन्धि र पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाजस्ता विषयले ठोस प्रवेश नपाएको भन्दै विज्ञहरूले भ्रमणको उपलब्धिमाथि प्रश्न उठाएका छन् ।
नेपाल न्युज बैंकसँग कुरा गर्दै परराष्ट्र मामिलाका जानकार रणधिर चौधरीले प्रधानमन्त्री शाहको पहिलो भारत भ्रमणलाई सफल मानेका छन् । पहिलो द्विपक्षीय भ्रमण परिचयात्मक हुनुका साथै दुई देशका प्रधानमन्त्रीबीच प्रत्यक्ष संवाद र सम्बन्ध विस्तारका दृष्टिले पनि महत्त्वपूर्ण भएको उनी बताउँछन् ।
चौधरीले भारतीय प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहको दूरदर्शिता र विकासप्रतिको हुटहुटीबारे गरेको प्रशंसालाई पनि अर्थपूर्ण रूपमा लिएका छन् ।
मोदीले प्रधानमन्त्री शाहसँगको पछिल्लो संवादबाट नेपालका लागि केही परिणाममुखी काम गर्ने उहाँको चाहना र प्रतिबद्धता आफूले महसुस गरेको अभिव्यक्ति दिएका थिए । चौधरीका अनुसार भारतीय प्रधानमन्त्रीबाट सार्वजनिक रूपमा आएको यस्तो अभिव्यक्तिले दुई देशबीचको विश्वास र सहकार्यको वातावरणलाई थप बलियो बनाउन सक्ने विश्वास छ ।
उनले भने, ‘ प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमणलाई सफल भ्रमणका रूपमा लिएको छु । पहिलो द्विपक्षीय भ्रमणका हिसाबले यो परिचयात्मक हुनुका साथै दुई देशका प्रधानमन्त्रीबीच प्रत्यक्ष संवाद र आपसी विश्वास अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसर पनि हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमै प्रधानमन्त्री शाहको दूरदर्शिता र देश विकासप्रतिको हुटहुटीको प्रशंसा गर्नु सकारात्मक पक्ष हो। यसले प्रधानमन्त्री शाहको विकासप्रतिको प्रतिबद्धतालाई भारतले पनि नजिकबाट बुझेको संकेत गर्छ। समग्रमा यो भ्रमणले नेपाल–भारत सम्बन्धमा विश्वास र सहकार्यको नयाँ वातावरण निर्माण गरेको छ ।’
विशेषगरी रसुवा–भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि भारतले घोषणा गरेको आर्थिक सहयोगलाई उनले महत्त्वपूर्ण उपलब्धि मानेका छन् । भ्रमणअघि नै प्रधानमन्त्रीको प्राथमिकतामा विपद्पछिको पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउने विषय रहेको र त्यसले सम्बोधन पाएको उनको भनाइ छ ।
यद्यपि, नेपाल–भारतबीच दशकौँदेखि समाधान हुन नसकेका विषयहरूमा थप कूटनीतिक पहल आवश्यक रहेको चौधरीको धारणा छ । पहिलो भ्रमण भएकाले सबै विषय एकैपटक टुंगिने अपेक्षा गर्न नसकिने भन्दै उनले आगामी दिनमा प्रधानमन्त्री तहबाटै निरन्तर संवाद र पहल हुनुपर्नेमा जोड दिएका छन् ।
अपेक्षा उच्च, उपलब्धि भने औसत : गेजा शर्मा वाग्ले
परराष्ट्र मामिलाका जानकार गेजा शर्मा वाग्लेले भने प्रधानमन्त्री शाहको भारत भ्रमणलाई समग्रमा औसत भ्रमणका रूपमा मूल्यांकन गरेका छन् ।
उनका अनुसार नयाँ सरकार गठनपछि भएको पहिलो द्विपक्षीय भ्रमण भएकाले यसप्रति जनस्तर, राजनीतिक वृत्त र सञ्चारमाध्यममा निकै ठूलो अपेक्षा थियो । तर भ्रमणबाट प्राप्त उपलब्धि ती अपेक्षाअनुरूप हुन नसकेको उनको विश्लेषण छ ।
वाग्लेले नेपाल–भारतबीच लामो समयदेखि विवाद र छलफलमा रहेका सीमा समस्या, सन् १९५० को सन्धि तथा विकास साझेदारीका महत्त्वपूर्ण विषयमा पर्याप्त छलफल हुन नसकेको बताए ।
उनले भने, ‘ प्रधानमन्त्री बालेन्द्र शाहको बहुचर्चित भारत भ्रमण समग्रमा औसत देखिएको छ । नयाँ सरकार गठनपछिको पहिलो द्विपक्षीय भ्रमण भएकाले यसप्रति जनस्तर, राजनीतिक वृत्त र सञ्चारमाध्यममा निकै ठूलो अपेक्षा थियो । तर ती अपेक्षाअनुसार भ्रमण उपलब्धिमूलक हुन सकेको देखिँदैन । विशेषगरी नेपाल–भारतबीच लामो समयदेखि थाती रहेका सीमा विवाद, सन् १९५० को सन्धि र विकास साझेदारीका महत्त्वपूर्ण विषयमा पर्याप्त छलफल हुन सकेन । केही पुराना सहमति अघि बढाउने र नयाँ परियोजनामा समझदारी गर्ने काम भए पनि महत्त्वपूर्ण द्विपक्षीय मुद्दामा ठोस प्रगति देखिएन ।’
उनका अनुसार पञ्चेश्वर बहुउद्देश्यीय परियोजना र ऊर्जा साझेदारीका विषयमा पनि अपेक्षित प्रगति देखिएन । केही चालु परियोजनालाई अघि बढाउने सहमति र नयाँ परियोजनाको शिलान्यास भए पनि त्यसलाई भ्रमणको समग्र उपलब्धिका रूपमा मात्र हेर्न नसकिने उनको भनाइ छ ।
विकास र पूर्वाधारमा सकारात्मक प्रगति, पुराना मुद्दा भने यथावत्
अर्का परराष्ट्र मामिला विज्ञ तथा नेकपा (एमाले) का नेता डा. राजन भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमणलाई औसत माने पनि केही महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन् ।
उनका अनुसार प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका लागि भारतले घोषणा गरेको अनुदान तथा ऋण सहयोग सकारात्मक पक्ष हो । त्यस्तै, काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने नीतिगत सहमतिलाई पनि उनले महत्त्वपूर्ण मानेका छन् । यद्यपि यसको वास्तविक कार्यान्वयन प्राविधिक सहमतिमा निर्भर रहने उनको भनाइ छ ।
नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को शाखा स्थापना गर्ने सहमति, स्टार्टअप क्षेत्रमा सहकार्य विस्तार तथा क्रिकेट पूर्वाधार विकासका विषयलाई पनि उनले सकारात्मक रूपमा लिएका छन् ।
उनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणलाई समग्रमा औसत मान्न सकिन्छ । यद्यपि भ्रमणका क्रममा केही महत्त्वपूर्ण उपलब्धि पनि हासिल भएका छन् । प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका लागि भारतले घोषणा गरेको अनुदान तथा ऋण सहयोग सकारात्मक छ । त्यसैगरी, काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने नीतिगत सहमति महत्त्वपूर्ण उपलब्धि हो, तर यसको वास्तविक कार्यान्वयन प्राविधिक सहमतिमा निर्भर रहनेछ । नेपालमा आईआईटीको शाखा स्थापना, स्टार्टअप क्षेत्रमा सहकार्य विस्तार र क्रिकेट पूर्वाधार विकासका विषयमा भएको सहमतिलाई पनि सकारात्मक रूपमा लिनुपर्छ ।’
त्यसैगरी, सीमावर्ती क्षेत्रमा विशेष आर्थिक क्षेत्र निर्माण, आयात–निर्यात विस्तार तथा रेलमार्ग र सीमापार पूर्वाधार विकासका विषयमा भएको सहमतिले आर्थिक सम्बन्धलाई थप विस्तार गर्न सक्ने उनको विश्लेषण छ ।
भट्टराईका अनुसार बनबासामा एकीकृत जाँच चौकी (आईसीपी) निर्माण र सुदूरपश्चिममा ड्राइपोर्ट विकास गर्ने विषय यसअघिकै सहमतिका निरन्तरता हुन् । तर तिनलाई कार्यान्वयनको चरणमा लैजाने प्रतिबद्धता आउनु सकारात्मक भएको उनले बताए ।
रक्सौल–काठमाडौं रेलमार्गको स्थलगत सर्वेक्षण सम्पन्न हुनु र पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमतिलाई पनि उनले पूर्वाधार विकासका दृष्टिले महत्त्वपूर्ण मानेका छन् ।
तर पुराना सहमति दोहोर्याउनेभन्दा तिनको कार्यान्वयन सुनिश्चित गर्नु अहिलेको आवश्यकता रहेको भट्टराईको भनाइ छ ।
सीमा विवाद र पञ्चेश्वरमा ठोस प्रगति भएन
भ्रमणका सकारात्मक पक्ष हुँदाहुँदै पनि नेपालले लामो समयदेखि उठाउँदै आएका केही महत्त्वपूर्ण विषयमा ठोस प्रगति हुन नसकेको भट्टराईको टिप्पणी छ ।
विशेषगरी लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सीमा विवादमा दुवै प्रधानमन्त्रीबीच सार्थक छलफल भएको सार्वजनिक विवरणमा नदेखिएको उनले बताए ।
उनले भने, ‘भ्रमणका क्रममा केही सकारात्मक उपलब्धि हासिल भए पनि नेपालले लामो समयदेखि उठाउँदै आएका महत्त्वपूर्ण विषयहरूमा भने अपेक्षित प्रगति हुन सकेन । विशेषगरी लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतका सीमा विवादका विषयमा दुवै देशका प्रधानमन्त्रीबीच ठोस छलफल भएको देखिएन । यस्ता संवेदनशील विषयलाई उच्च राजनीतिक तहबाटै सम्बोधन गर्नुपर्ने आवश्यकता थियो । तर यसपटकको भ्रमणमा ती विषयले प्राथमिकता पाउन सकेनन् ।’
स्वागत र कूटनीतिक सम्बन्धमा सुधार, परिणामको परीक्षा बाँकी
नयाँदिल्लीमा बसेर नेपाल–भारत सम्बन्धको अध्ययन गरिरहेका सरोज झाले भने प्रधानमन्त्री शाहको भ्रमणलाई निकै सकारात्मक रूपमा लिएका छन् ।
उनका अनुसार भारतीय सरकारले प्रधानमन्त्री शाहलाई दिएको स्वागत र सम्मानले दुई देशबीचको सम्बन्धलाई सकारात्मक दिशामा अघि बढाउने संकेत गरेको छ । भारतका विभिन्न स्थानमा ब्यानर तथा स्वागतका कार्यक्रम आयोजना हुनु र युवाहरूको उत्साहपूर्ण सहभागिताले पनि भ्रमणको महत्त्व झल्काएको उनको भनाइ छ ।
उनले भने, ‘प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण निकै सकारात्मक र उपलब्धिमूलक रहेको मैले पाएको छु । भारतीय सरकारले उहाँलाई दिएको स्वागत र सम्मानले पनि नेपालप्रति भारतको सकारात्मक दृष्टिकोण झल्काउँछ । विभिन्न स्थानमा स्वागतका कार्यक्रम हुनु र युवाहरूको उत्साहपूर्ण सहभागिताले भ्रमणको महत्त्व थप उजागर गरेको छ ।’
झाले सीमा सुरक्षासम्बन्धी विषयबाहेक अन्य अधिकांश मुद्दामा सकारात्मक वातावरण बनेको टिप्पणी गरेका छन् । विशेषगरी भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि भारतबाट प्राप्त सहयोग र हवाई मार्गसम्बन्धी सहमतिलाई उनले महत्त्वपूर्ण मानेका छन् ।
उनले भने, ‘सीमा सुरक्षासम्बन्धी विषयबाहेक अन्य अधिकांश मुद्दामा सकारात्मक वातावरण बनेको छ । विशेषगरी भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि भारतले गरेको सहयोग र हवाई मार्गसम्बन्धी सहमतिलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्छ ।’
उपलब्धि कार्यान्वयनले मात्रै भ्रमणको वास्तविक मूल्यांकन
प्रधानमन्त्री शाहको पहिलो भारत भ्रमणले दुई देशबीचको उच्चस्तरीय राजनीतिक संवादलाई निरन्तरता दिएको छ । विकास सहायता, ऊर्जा, रेलमार्ग, हवाई सम्पर्क, शिक्षा, स्वास्थ्य तथा सीमापार पूर्वाधारका क्षेत्रमा भएका सहमति आगामी सहकार्यका आधार बन्न सक्छन् ।
तर विज्ञहरूको विश्लेषणमा भ्रमणको वास्तविक सफलता घोषणामा मात्र सीमित नरही सहमति कार्यान्वयनमा कति अघि बढ्छ भन्ने कुराले निर्धारण गर्नेछ ।
विपद्पछिको पुनर्निर्माणका लागि घोषित आर्थिक सहायता, हवाई मार्गको सञ्चालन, पञ्चेश्वर परियोजनाको डीपीआर, रेलमार्ग निर्माण र सीमासम्बन्धी बाँकी प्रश्नमा आगामी दिनमा हुने कूटनीतिक पहलले भ्रमणको उपलब्धिलाई मापन गर्नेछन् ।
यसर्थ, प्रधानमन्त्री शाहको पहिलो भारत भ्रमणलाई एकातिर विकास साझेदारी र द्विपक्षीय सम्बन्ध सुधारको सुरुवातका रूपमा लिन सकिन्छ भने अर्कोतिर नेपालले लामो समयदेखि उठाउँदै आएका महत्त्वपूर्ण राजनीतिक तथा कूटनीतिक मुद्दाको समाधानका लागि थप पहल आवश्यक रहेको सन्देशका रूपमा पनि बुझ्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्