Skip to content

डिसेम्बर १६ मा स्वदेश फर्किदै शेख हसिना, बंगलादेश सरकारसँग मागिन राष्ट्रिय ध्वजावाहक विमान

nmb bank inside

डिसेम्बर १६ मा स्वदेश फर्किदै शेख हसिना, बंगलादेश सरकारसँग मागिन राष्ट्रिय ध्वजावाहक विमान

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा दुई वर्षभन्दा बढी समय निर्वासनमा बिताएपछि आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने इच्छा व्यक्त गरेकी छन् । उनले आफ्नो स्वदेश फिर्तीका लागि दिल्लीबाट बंगलादेशको राष्ट्रिय ध्वजावाहक विमान बिमान बंगलादेश एयरलाइन्समार्फत हवाई यात्रा र आवश्यक कागजातको व्यवस्था मिलाउन ढाकास्थित सरकारसँग आग्रह गरेकी छन् ।

रोयटर्सका अनुसार हसिनाका प्रवक्ता सैयद मोजामेल अलीले मंगलबार यसबारे जानकारी दिएका हुन् । हसिनाले सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएको अवसरमा मनाइने विजय दिवसकै दिन बंगलादेश फर्कने इच्छा राखेको उनले बताएका छन् ।

‘सन् २०२४ अगस्ट ५ मा बंगलादेशको विमानमार्फत शेख हसिनालाई भारत ल्याइएको थियो । ‘अब उनलाई दिल्लीबाट ढाका फर्काउन सरकारले हवाई यातायातको व्यवस्था गर्नुपर्छ,’ अलीले रोयटर्ससँग भनेका छन् ।

उनले हसिनालाई संविधानविपरीत परिस्थितिमा देश छाड्न बाध्य पारिएको दाबी गर्दै डिसेम्बर १६ मा स्वदेश फर्कने वातावरण बनाउनु सरकारको जिम्मेवारी भएको बताएका छन् ।

बंगलादेशमा हरेक वर्ष डिसेम्बर १६ लाई विजय दिवसका रूपमा मनाइन्छ । सन् १९७१ मा पाकिस्तानी सेनाले आत्मसमर्पण गरेपछि बंगलादेश स्वतन्त्र राष्ट्र बनेको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।

यसैबीच, बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले सोमबार विद्यार्थी आन्दोलनबाट उदाएको नेसनल सिटिजन पार्टी (एनसीपी) का नेताहरूसँग छलफल गरेका छन् । सन् २०२४ जुलाई–अगस्टमा भएको विद्यार्थी नेतृत्वको आन्दोलनले हसिनालाई सत्ताच्युत गराएपछि उक्त आन्दोलनबाट एनसीपी गठन भएको थियो ।

ढाकास्थित क्याबिनेट डिभिजन सचिवालयमा भएको भेटमा एनसीपीका संयोजक नाहिद इस्लाम नेतृत्वको चार सदस्यीय टोली सहभागी थियो । टोलीमा सदस्यसचिव अख्तर हुसेन, वरिष्ठ संयुक्त संयोजक हसनत अब्दुल्लाह र संयुक्त संयोजक अक्रम हुसेन पनि थिए ।

बंगलादेशको सरकारी समाचार संस्था बीएसएसका अनुसार प्रधानमन्त्रीका अतिरिक्त प्रेस सचिव अतिकुर रहमान रुमोनले उक्त भेटवार्ता करिब ४० मिनेट चलेको जानकारी दिएका छन् ।

भेटपछि प्रधानमन्त्री कार्यालयका प्रवक्ता महदी अमिनले बंगलादेशलाई अस्थिर बनाउने प्रयास भइरहेका बेला लोकतान्त्रिक तथा अधिनायकवादविरोधी राजनीतिक शक्तिबीच एकता देखिएको बताएका छन् । उनले राजनीतिक विचार र सिद्धान्त फरक भए पनि देशको स्थायित्वमा चुनौती उत्पन्न हुँदा दलहरू एक ठाउँमा उभिन सक्ने बताएका छन् ।

एनसीपी संयोजक नाहिद इस्लामले भने राजनीतिक संवादलाई छलफलमा मात्र सीमित नराखी त्यसबाट ठोस परिणाम निकाल्नुपर्नेमा जोड दिएका छन् । ‘हामी छलफलका लागि मात्रै छलफल चाहँदैनौँ । संवाद जारी रहोस् भन्ने चाहन्छौँ, तर त्यसलाई परिणाममुखी बनाउन सरकारले के कदम चाल्छ भन्ने पनि हेर्न चाहन्छौँ,’ उनले भनेका छन् ।

सन २०२४ अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलन चर्किएपछि हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर बंगलादेश छाडेकी थिइन् । त्यसयता उनी भारतमा बस्दै आएकी छन् । यसैबीच बंगलादेशका विभिन्न क्षेत्रमा कच्चा बम विस्फोट, आगजनी र हिंसाका घटना भइरहेका विवरण सार्वजनिक भएका छन् । यस्तो परिस्थितिमा प्रधानमन्त्री रहमानले आन्दोलनमा सहभागी राजनीतिक समूहहरूसँग संवाद अघि बढाएका हुन् । एएनआई

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्