विजय बराल
अभिनेता
‘सिन्दुरे जात्रा’ मा मनछुने प्रेमकथा छ : विजय बराल
‘सरल स्वाभाव’का विजय बराल : जसले सिने क्षेत्रमा नयाँ स्वाद दिए
भेषराज कार्की, नेपाल न्यूज बैंक
काठमाडौँ । अभिनेता विजय बराल वि.स.२०८१ मा प्रदर्शन भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ मार्फत लोकप्रियताको उच्च विन्दुमा पुग्न सफल भए । रङ्गमञ्च हुँदै फिल्ममा भित्रिएका अभिनेता बराललाई त्यसअगाडि ‘कबड्डी’ शृंखलाले बिकेका रुपमा दर्शक माँझ चिनायो । सहायक भूमिकाहरूमा भ्याइनभ्याइ व्यस्त भएका अभिनेता बरालको कला यात्रा ‘पूर्णबहादुरको सारंगी’ पश्चात बदलियो ।
घरेलु बजारको आकार बढाउने श्रेय प्राप्त गर्नुको कारण उनको केन्द्रीय भूमिका थियो । अभिनेता बरालले पूर्णबहादुर गन्दर्भको भूमिकामार्फत लाखौं दर्शकको मन जिते । सारङ्गी रेटेर जीविकोपार्जन गर्ने परिवारको पूर्णबहादुरले आफ्नो छोरालाई डाक्टर बनाउन गरेको सङ्घर्षले दर्शकको मन जित्यो ।
आफ्नो अभिनय क्षमतामार्फत सानै भूमिकामा भएपनि आफ्नो पहिचान स्थापित गरेका अभिनेता बरालले जीवनमा केहि गर्नसकेको महसुस गर्ने गरेका छन् । ‘पूर्ण बहादुरको सारङ्गी’ पछि उनलाई समाजले हेर्ने शैलीमा परिवर्तन आएको छ । आफ्नो नामले परिवारको प्रतिष्ठालाई समाजमा उच्च गरेपछि उनलाई केही उपलब्धी प्राप्त गरे भन्ने आभाष भएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिकामा जन्मिएर काठमाडौँमा नाट्यकर्मी हुँदै फिल्ममा अभिनेता बनेका बरालले आफ्नो कला यात्रामा प्राप्त गर्ने उच्चतम सफलता प्राप्त गरिसकेका छन् ।
‘पूर्णबहादुरको सफलता पश्चात निश्चित रुपमा मेरा लागि समय फेरिएको छ । मलाई मुख्य भूमिका नै अफर हुन् थालेका छन् । यद्यपि, मेरा लागि मेरो पात्रहरू विशेष छन्, म मुख्य वा सहायक भन्दा पनि आफ्नो पात्रलाई ध्यान दिन्छु’, उनले भने ।
कक्षा ८ मै पढ्ने समयमा ‘ढोका खोल पोष्टे कि आमा, ढोका खोल न हो’ बोलको गीतले आकर्षित भएका अभिनेता बरालले उक्त गीतको सर्जक लालबन्दीकै गायक नारद खतिवडा रहेको थाहा पाएँपछि गीतसङ्गीत र हास्य प्रस्तुतीलाई पछ्याउन थाले । उनले नजिकका साथीहरूसामु विद्यालयका शिक्षकहरुको हाउभाउ, बोलचाल र शिक्षण शैलीको पनि नक्कल गरेर देखाउँथे । साथीहरूबाट प्राप्त हौसलाबाट उत्साहित उनले विस्तारै विभिन्न कलाकारको नक्कल गरेर आवाज निकाल्न (क्यारिकेचर) गर्न थाले ।
‘पहिलोपटक आफ्नो क्षमता सार्वजनिकरुपमा एउटा कार्यक्रममा म मञ्चमा प्रस्तुत भए । त्यहाँ मैंले विभिन्न नेताहरुको आवाजहरूको नक्कलसँगै ‘जलखैको पोको बोकेर’ बोलको गीतमा हास्यप्रधान नृत्य प्रस्तुत गरे । त्यसलाई सबैले रुचाउनुभयो । त्यसपछि म प्राय संस्कृति कार्यक्रममा प्रस्तुत हुन् थालें । त्यहिंबाट अभिनय गर्ने रहर म भित्र सिर्जित भएको जस्तो लाग्छ’, उनले भने ।
साथीहरूले व्यवसायिक कलाकारिता आरम्भ गर्न दिएको सुझावले उनलाई काठमाडौँ ल्यायो । ‘जोगिन्दर’ र ‘पानवाला’ को उपनामले चर्चामा आइसकेका कलाकार शिवशंकर रिजालले अभिनेता बराललाई आफ्ना ‘गाईजात्रा’ का लागि तयार गरिने प्रहसन र ‘प्यारोडी’ मा स्थान दिए । उनले ‘जुनियर आर्टिस्ट’ भएर काम पनि गरे ।
तर, उनको लक्ष्य सामान्य कमेडी नभई अभिनय बुझ्नु थियो । सोही क्रममा उनले पाटनको यलमाया केन्द्रमा भारतको दिल्लीस्थित विख्यात नेशनल स्कुल अफ ड्रामा (एनएसडी)को तर्फबाट सञ्चालन हुने नाटक सम्बन्धी तालिमको लागि निवेदन दिए । रङ्गकर्मी एमके रैनासँग ४५ दिनसम्म सञ्चालित उक्त तालिमको समापनसँगै उनले आफूमा फरक महसुस गरे ।
उनी नाट्यकर्मी राजन खतिवडामार्फत मण्डला नाटक घरमा जोडिए । यो यात्रा अझैसम्म निरन्तर छ । उनीसहितको टिम फिल्ममा व्यस्त भएता नाटकलाई उत्तिकै महत्व दिन्छन । किनकि फिल्ममार्फत गरेको आर्जनको केहि हिस्सा उनीहरूले नाटक घरमै लगाउने गरेका छन् ।
‘मण्डलाले मञ्चन गरेको ‘चरण दास चोर’ नामक नाटकमा अवसर पाएँ । अभिनेता दयाहाङ राई फिल्मको काममा व्यस्त हुनुभएपछि त्यहाँ अवसर पाएको थिएँ । पाएको मौकालाई सदुपयोग गर्न निकै मेहनत गरें । फलतः उक्त नाटक मञ्चन भएपछि मेरो अभिनय क्षमता धेरै जनासम्म पुग्यो । सबैले मेरो काम मन पराउँदा आगामी दिनमा सहजै अवसर प्राप्त गर्ने माहोल बन्दै थियो । मैले देखेको सपनाले विस्तारै मुर्तरुप लिँदै थियो’, उनले भने ।
नाटकमा काम गर्ने क्रममै ‘छड्के’ फिल्ममा अभिनेता बराललाई अभिनय गर्ने प्रस्ताव भयो । निर्देशक मीनबहादुर भामलाई ‘अडिसन’ दिएपछि उनले सानो भूमिका गर्ने मौका पाए । तर, उनका लागि त्यो खास थियो । किनकि वरिष्ठ नाट्यकर्मी सुनिल पोखरेलसँग उनले अभिनय गर्ने मौका पाएका थिए ।
त्यसपछि उनले ‘कबड्डी’ मा ‘बिके’ नामक पात्रलाई निर्वाह गर्ने मौका पाए । त्यसपछि उनको व्यस्तता फिल्ममा बढ्यो, र ‘पूर्णबहादुरको सारङ्गी’ ले नयाँ उचाई दियो ।
‘पहिलेको बुझाइ बोल्नु मात्र अभिनय थियो । तर, अहिले मैंले बोलेको वा अभिव्यक्त गरेको कुरा दर्शकको मनमा पुग्छ, उहाँ जोडिनु हुन्छ भने त्यो नै अभिनय हो जस्तो लाग्छ । अभिनय भनेको परिपक्वता पनि हो’, उनले भने ।
उनले शिर्ष भूमिका निर्वाह गरेको फिल्मले सर्वाधिक कमाउने फिल्मको नाममा रेकर्ड बनाएता पनि अभिनेता बराल सरल छन् । त्यस्तो त रङ्गकर्मीको पहिचान नै सरला हो ।
‘हामी नाट्यकर्मी स्वभावले नै सरल हुने गर्छौँ । मण्डला नाटक घरमा अन्य सफल एकसे एक कलाकार हुनुहुन्छ । अभिनेता दयाहाङ राईले पाउनु भएको सफलता र उहाँले प्रस्तुत गर्ने सरलताले मलाई भ्रम थपेन । मंैले कसका लागि दम्भ देखाउनु ? म भन्दा लोकप्रिय कलाकारको सरलताले मलाई सतही राखिरह्यो’, उनले भने ।
उनले पाएको सफलतालाई त्यसपछिका पात्रमा हावी हुन् दिएनन् । त्यसैले उनले मुख्य भूमिका पाउँदा पाउँदै पनि ‘जारी’ को मंगल सिंह र ‘कबड्डी’ को बिकेलाई छाडेनन् । ‘पूर्णबहादुरको सारङ्गी’ को पूर्णबहादुर, ‘दिमाग खराब’ को बले पात्र उनलाई प्रिय लाग्छ, किनकि ती पात्रले अभिनेता बराललाई पनि केही सिकाएका छन् ।
‘ती पात्रहरूले मलाई केहि नकेही दिएका छन् । सांस्कृतिक, भौगोलिकसँगै भिन्न समाजसँग परिचित गराएका छन् । त्यसकारण म त्यस्ता पात्रलाई आफ्नो नजिक ठान्छु’, उनले भने ।
उनले ‘पूर्णबहादुरकै सारङ्गी’ को निर्देशक सरोज पौडेल र को–स्टारहरू अन्जना बराइली, विनोद न्यौपानेलगायतसँग उनले सहकार्य गरेको फिल्म ‘सिन्दुरे जात्रा’ आगामी मङ्सिर १८ मा प्रदर्शन हुँदैछ । फिल्मको सार्वजनिक ट्रेलर र गीतसङ्गीतले चर्चा पाइसकेको छ । ‘पूर्णबहादुरकै सारंगी’ को टिमबाट आएको नयाँ फिल्म भएकाले पनि अपेक्षा बढ्नु स्वाभाविक हो ।
‘अपेक्षा बढ्नु स्वाभाविक नै हो, हामीले त्यही अनुसार मेहेनत पनि गरेका छन् । व्यवसायिक पाटोबारे केही भन्न नसकीएला तर मनछुने सामाजिक फिल्म बनाएका छौँ । यसले आज भन्दा ३५÷४० वर्ष अगाडिको समयमा लैजानेसँगै हामीलाई त्यसबेलाको समाजसँग परिचित गराउँछ’, उनले भने ।
उनले फिल्म ‘सिन्दुरे जात्रा’ लाई सिन्दुरको जात्राको रुपमा ब्याख्या गरे । ‘श्रीमानको माया गर्ने मान्छेले सिन्दुर हाल्दै गर्दा प्रेम र ढोका बीचको सङ्घर्षबाट उत्पन्न भएको कथा फिल्ममा देखाइएको छ । यहाँ त्याग, समर्पण, माया सबै छ । यसको कथा ठूलो भएकाले पनि यसलाई जात्रा वा उत्सवको रुपमा इङ्गित गरेका छौँ’, उनले भने ।
उनले आफ्नो पात्रले उक्त समयलाई मज्जाले चित्रण गरेको बताए । आफ्नो पात्रलाई जीवन्त बनाउनले आफ्नो पात्र निर्माणमा मेहनत गरे । उनी फिल्ममार्फत नयाँ पुस्ता आज भन्दा ३० वर्ष भन्दा अगाडिको समय र परिवेशलाई बुझ्ने मौका दिने बताए ।
‘पिरियड ड्रामा’ जनरामा निर्माण भएको फिल्मले तत्कालीन नेपाली समाजमा पुरुषको अहंकार र पितृसत्तात्मक सोचका कारण महिलाले भोग्नुपरेको अवस्था र त्यसका परिणामलाई चित्रण गरेको देखिन्छ ।
फिल्ममा अभिनेता विनोद न्यौपानेको ‘डिल्लीराम’ पात्र प्रेमकथाको प्रमुख बाधकका रूपमा देखिएका छन् ।
विजय बरालले ‘बाबुराम’ र अञ्जना बराइलीले ‘लक्ष्मी’को भूमिका निर्वाह गरेका छन् । यी दुई पात्रको प्रेममा डिल्लीरामले सिर्जना गर्ने अवरोधले कथालाई कस्तो मोडमा पु¥याउँछ भन्ने कौतूहलता ट्रेलरले जगाएको छ ।
फिल्ममा विजय, अञ्जना र विनोदसँगै उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राज कटुवाल, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय छ ।


प्रतिक्रिया दिनुहोस्