Skip to content
nabil bank inside

अनधिकृत रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा शाखा अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर

nmb bank inside

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनधिकृत रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा शाखा अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौँ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौँका शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बागमती नगर जग्गा एकीकरण आयोजनाको कार्यालय बौद्ध तथा अतिरिक्त जिम्मेवारीका रुपमा कागेश्वरी, गोकर्णेश्वर तथा शङ्करापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौँ नयाँ सहरी विकास आयोजनामा कार्यरत शाखा अधिकृत कार्कीले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको पाइएको आयोगले जनाएको छ । आयोगका अनुसार, कार्की विसं २०५८ साउन १६ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए । आयोगले विसं २०७९ चैत ३० गतेसम्मको सम्पत्तिका बारेमा अनुसन्धान गरेको छ । सो अवधिमा कार्कीको कूल आम्दानी रू ३ करोड ७७ लाख १३ हजार छ सय ४६ बराबर छ ।

त्यस्तै, सो अवधिमा शाखा अधिकृत कार्कीले रू ६ करोड ९८ लाख ४६ हजार ६ सय ३ बराबर खर्च गरेको पाइएको छ । आम्दानीभन्दा खर्चको मात्रा बढी भएको र त्यसको स्रोत खुलाउन नसकेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् । उनका अनुसार आयोगले रू ३ करोड २१ लाख ३२ हजार ९ सय ५६ बराबरको रकमको स्रोत खुलाउन नसकेको ठहर गरेको छ ।

आयोगले शाखा अधिकृत कार्कीको श्रीमती देवका अधिकारीको नाममा राखेको सम्पत्तिसमेत जफत गर्ने माग दाबी गर्दै बिहीबार  विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता घिमिरेको भनाइ छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्