विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मियता बढाउँछः पर्यटनमन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मियतामा नयाँ उचाई हासिल हुने धारणा व्यक्त गरेका छन् । सातदोबाटोस्थित ब्राइट फ्युचर उच्च माध्यमिक विद्यालयले विभिन्न आठ देशका बालनाट्य कलाकारहरुको सहभागितामा आयोजना गरेको चौथो ललाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बाल नाट्य महोत्सवको मंगरबार आयोजित उद्घाटन समारोहमा उनले विभिन्न देशका नाट्यकलाहरुको प्रदर्शनी र प्रस्तुतिले एकअर्काका संस्कृतिमा साक्षात्कार हुन सकिने बताए ।
“हामीले विभिन्न देशका कला चिन्नेछौं, त्यस्तै हाम्रो कला अरुलाई चिनाउन सक्नेछौं, यस्ता कार्यले संसारभरिक भाषा, संस्कृतिका बिषयमा मन्थन हुनेछ, यसले हामीले भाषा, कला, संस्कृतिको समन्वय र अन्तरसम्बन्धलाई स्थापित गर्छौं”, मन्त्री पाण्डेले भने ।
विद्यालयको कक्षाकोठामा सिकिरहेका उनले विद्यार्थीहरुलाई बिभिन्न देशका कला, संस्कृति, भाषा र सभ्यताको बारेमा वृहत् जानकारी दिने काम महत्त्वपूर्ण भएको जानकारी गराए । “विद्यार्थीहरुलाई ठूलो दायरामा पुगेर सिक्न, बुझ्न, बाहिरी संसारबारे जानकारी लिन यसले सहयोग पुग्नेमा विश्वास छ”, उनले भने ।।
मन्त्री पाण्डेले विद्यार्थीसँग भएको क्षमतालाई पहिचान र प्रस्फुटन गराउन शिक्षक र अभिभावकले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उनले विद्यार्थीले पनि आफ्नो प्रतिभा र क्षमतालाई पहिचान गरेर त्यसैमा लगनशीलताका साथ लाग्न सक्नुपर्नेमा जोड दिएका छन् ।
त्यसअवसरमा जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फूँयालले विद्यालयले विभिन्न देशका नाट्यकर्मीहरुलाई बोलाएर कार्यक्रम गरेर नेपालको महत्त्व र गरिमालाई उच्च बनाएको उल्लेख गरे । उनले नेपालको कला संस्कृतिलाई विश्वमा परिचित गराउनका लागि यसकिसिमका कार्यक्रमहरु प्रभावकारी हुने विश्वास व्यक्त गरे ।रासस
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्