काठमाडौँ । एउटा समयमा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना थिए । त्यतिबेला बैंक अफ काठमाण्डूका पूर्व सीइओ पक्राउ परेपछि संघ तत्काल सक्रिय भयो । संघ सीआईबी पुग्यो, बैंकिङका धेरै पक्षहरूबारे छलफल गर्यो । ढुंगाना राष्ट्र बैंक पनि पुगे, अन्य निकाय ढकढकाए । सरकारले समेत ध्यान देओस् भनेर दबाब दिए ।
त्यसकै प्रभाव हुनुपर्छ, त्यसपछि सीआईबीले कुनै बैंकका सीइओलाई पक्राउ गरेन ।
तर बैंकर्स संघको अध्यक्षमा कोइराला आएपछि भने उस्तै घटना दोहोरिँदा परिस्थिति उल्टो भयो । प्रभु बैंकका अशोक शेरचनले दाबी छोडेकै कारण अध्यक्ष बनेका कोइरालाले शेरचनबारे दुई शब्द कतै बोलेनन् ।
उनी अन्य बेला मिडियामा निकै बोल्ने व्यक्ति हुन् । तर यस विषयमा भने पूर्ण मौन रहे । सीआईबीले जे गर्यो, त्यसलाई मौन समर्थन नै गरेजस्तो देखियो ।
यस्तै घटना हुँदा ढुंगाना सरकारसम्म पुगेका थिए, तर कोइराला भने सबै काम छोडेर क्रिकेट हेर्न रंगशाला पुगेका तस्बिर स्वयं उनले नै सेयर गरे । अन्य बैंकका सीइओले ‘यो केसमा केही नबोल्ने ?’ भनेर सोध्दा कोइराला, ‘बोलियो भने हामीलाई पनि लैजान्छ, सबैका केस छन्, के गर्ने ?’ भन्ने गरेको अन्य सीइओहरू बताउँछन् ।
परेका बेला काम नलाग्ने, चाहिएका बेला नबोल्ने, उल्टै प्रतिशोध साँध्ने-यस्ता व्यक्तिलाई बैंकर्स संघले के हेरेर अध्यक्ष बनायो कुन्नि ! उनीहरूले नै जानून्, तर कोइरालाको मौनता शंकाको घेरामा परेको कुरा स्पष्ट छ ।
लाज जोगाउन उनले एकदिन सीआईबी भेटे पनि, त्यहाँ गएर ‘अनुसन्धानमा हस्तक्षेप गर्दिन’ भनेर भनेका रहेछन् । सीआईबीको कदमबारे उनले कुनै विरोध जनाएनन् ।
उनी राष्ट्र बैंक पनि पुगे, तर त्यहाँ उल्टै प्रभुलाई नै गाली गरेर गएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।
स्वयं उनले कतिपय बैंकका सीइओको फोन नै उठाउन छोडेको पनि सीइओहरूको आरोप छ ।
बैंकर्स संघको नेतृत्वलाई अलिकति राजनीतिक पहुँच हुनुपर्ने हो । तर कोइरालाको सम्बन्ध विश्वप्रकाश शर्मा लगायत केही नेतासँग बाहेक अन्यसँग कमजोर नै छ ।
बैंकर्स संघको नेतृत्वले बैंकका सीइओहरूलाई दु:ख पर्दा बोल्न सक्नुपर्छ । तर कोइराला चुप बस्नमै सुरक्षित ठानिरहेका छन् । सायद उनलाई पनि जेल जाने डर लागेको छ ।
चर्चा त यस्ता पनि छन् कि उनले घुमाउरो तरिकाले आफ्नै पूर्व अध्यक्षलाई ऋण दिएका छन् । यही कारण उनी झनै डराएका छन् । यदि यस्तो हो भने पद छोडेर कम्तिमा अरूलाई नेतृत्व दिनुपर्ने थियो । तर उनी न बोल्न सक्छन्, न पद छोड्न सक्छन् । न राजनीतिक पहुँच छ, न नेतृत्व क्षमता ।
अब प्रश्न उठ्छ- कोइराला अहिले के गरिरहेछन् ?
उनी आफ्नै बैंकमा गलत काम गर्ने एक महिला कर्मचारीको जागिर जोगाउन बोर्डसँग लडिरहेका छन् । क्लाइन्टका संवेदनशील कागजात लीक गर्ने सुनिता शर्मालाई हटाउन बोर्ड दबाब दिइरहेको छ, तर कोइराला उनलाई जोगाउन निर्देशकहरूलाई फकाइरहेका छन् ।
उनी आफैँले बनाएको प्रमोसन लिष्टमा संचालकले प्रश्न उठाएपछि उनी त्यही संचालकहरूलाई लिएर इजिप्ट घुमाइरहेका छन् ।
उनी कुनै बैंकका सीइओ पक्राउ परेकोमा चिन्तित देखिँदैनन् । उल्टै क्रिकेटको रमाइलो फेसबुकमा सेयर गरिरहेका छन् । परिवारमा जुठो पर्दा पार्टी मनाएजस्तो, बैंकिङ क्षेत्रमा जुठो पर्दा उनी क्रिकेट रमाइलो गर्दैछन् ।
अनि, पर्दाका जन्ती, मर्दाका मलामी बन्न नसक्ने, संकटमा बोल्न नसक्ने, ‘सीआईबी’ सुन्नासाथ थुरुरु हुने, राष्ट्र बैंकमा आफ्नो पक्ष राख्न नसक्ने यस्तो मानिसलाई बैंकर्स संघले के सोचेर अध्यक्ष बनायो कुन्नि !
उनको मौनताका कारण अब अरू बैंकका सीइओहरू पनि पक्राउ पर्ने चर्चा सुरु भइसकेको छ । कुमारी बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उच्च तहका कर्मचारीहरू आगामी सूचीमा छन् भन्ने हल्ला छ ।
अनि यस्तो संवेदनशील समयमा बैंकर्स संघको नेतृत्व यस्तै कमजोर हुनु पर्ने हो र ?
सबैले बेलैमा सोच्ने कि !
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्