Skip to content

एमआरपी कार्यान्वयन तिब्र, व्यवसायीद्वारा विरोध

nmb bank inside

काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन तिब्र बनाएको छ। विभागले अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन तिब्र बनाउँदै उद्योगदेखि ठूला डिपार्टमेन्टल स्टोरसम्म अनुगमन बढाएको हो ।

सरकारको १०० बुँदे कार्यसूचीमै एमआरपी कार्यान्वयनलाई प्राथमिकतामा राखिएपछि विभागले पछिल्ला दिनमा यसलाई सक्रिय रूपमा लागू गर्न थालेको हो । नयाँ सरकार गठनअघि एमआरपी कार्यान्वयनमा खासै ध्यान नदिएको विभाग अहिले भने पूर्ण रूपमा लागू गर्ने तयारीसहित अघि बढेको छ । यता उद्योग व्यवसायीहरुले भने एमआरपी कार्यान्वयन गर्ने सरकारी निर्णय ठिक नभएको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले एमआरपीको उद्देश्य उपभोक्तालाई मूल्यबारे जानकारी दिनु सकारात्मक भएपनि हालको अवस्थामा यसको कार्यान्वयन अत्यन्तै चुनौतीपूर्ण रहेको बताए । उनकाअनुसार नेपाल आयातमुखी अर्थतन्त्र भएकाले सानो परिमाणमा विभिन्न देशबाट एउटै कन्टेनरमा फरक–फरक वस्तुहरू आयात हुने अवस्था छ, जसले भन्सार विन्दुमै लेबलिङ र एमआरपी निर्धारण गर्न जटिलता सिर्जना गर्छ ।

उनले भन्सारमै कन्टेनर खोलेर सबै वस्तुमा एमआरपी टाँस्ने काम ठूलो पूर्वाधार र लागतसँग जोडिएको उल्लेख गर्दै यस्तो व्यवस्था हालको संरचनाले धान्न नसक्ने बताए । साथै, नेपालमा एमआरपी निर्धारण लागतमा आधारित नाफासँग जोडिने भएपनि भन्सार मूल्यांकन, दरबन्दी र हार्मोनी कोड प्रणालीमै स्पष्टता नहुँदा एमआरपी विश्वसनीय नहुने उनको भनाइ छ । अग्रवालकाअनुसार विश्वमा १० डिजिटको हार्मोनी कोड प्रयोग हुने भएपनि नेपालमा ८ डिजिटमै सीमित रहेको र कुन वस्तु कुन वर्गमा पर्छ भन्ने अन्योलले थप समस्या निम्त्याउनेछ ।

अग्रवालले देशभर मालवस्तु वितरणको ट्र्याकिङसमेत स्पष्ट नभएको, आवश्यक पूर्वाधार अभाव रहेको र यस्तो अवस्थामा एकैचोटि आयातित वस्तुमा एमआरपी लागू गर्न नसकिने बताए । उनकाअनुसार एमआरपी लागू गर्ने उद्देश्य राम्रो भएपनि खुला बजार अर्थतन्त्रअनुसार उपभोक्तालाई सहज रूपमा मूल्य जानकारी गराउने विकल्पतर्फ ध्यान दिनुपर्ने आवश्यकता छ । अन्यथा व्यवसायीहरूले सामान नै झिकाउन नसक्ने अवस्था आउन सक्ने र त्यसले समग्र आर्थिक गतिविधि प्रभावित हुने उनले  चेतावनी दिए ।

यता विभागका निर्देशक नरहरि तिवारीले पछिल्ला दिनमा अनुगमन टोली विस्तार गरी एमआरपी कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए । उनका अनुसार हाल उद्योग, ठूला डिपार्टमेण्टल स्टोर तथा धेरै पसल केन्द्रित स्थानहरूमा विशेष अनुगमन सञ्चालन भइरहेको छ । उनकाअनुसार विभागले भाटभटेनी लगायत मार्ट, होटल तथा रेष्टुरेण्ट, फार्मेसी, खाद्यान, कपडा लगायत सबैमा एमआरपी लागू गर्न निर्देशन दिइरहेको छ । साथै, आयात भएका वस्तुमा एमआरपी लागू गर्ने बारेमा भन्सार र आयात कर्ताबीच छलफल गरिरहेको निर्देशक तिवारीले बताए । –

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्