Skip to content

इजरायल रोजगारीको आश्वासन पूरा गर्न माग गर्दै माइतीघरमा पीडित युवाहरुको विरोध

nmb bank inside

काठमाडौँ। इजरायल रोजगारीको सपना बोकेर विगत दुई वर्षदेखि पर्खाइमा रहेका योग्य उम्मेदवारहरू सरकारले आफ्नो पूर्वआश्वासनविपरीत कार्य गर्न खोजेको भन्दै सडक आन्दोलनमा उत्रिएका छन् । मंगलबार काठमाडौँको माइतीघरमा वैदेशिक रोजगार विभागको ढिलासुस्ती र नीतिगत अस्पष्टताका कारण चरम अन्योलमा परेको भन्दै युवाहरूले सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।

वि.सं. २०८१ को गोलाप्रथा (लकी ड्र) मा छनोट हुन नसकेका तर सम्पूर्ण प्रक्रिया पूरा गरेर बसेका उम्मेदवारहरूलाई नयाँ खुल्ने कोटामा स्वतः समावेश गरिने आश्वासन वैदेशिक रोजगार विभागका उच्च अधिकारीहरूले निरन्तर दिँदै आएका थिए।तर, हालै सञ्चारमाध्यमहरूमा इजरायलका लागि २ हजार ३०० नयाँ कोटा खुल्न लागेको र पुराना उम्मेदवारहरूले पनि फेरि सुरुदेखि नै ’लकी ड्र’ प्रक्रियामा सामेल हुनुपर्ने समाचार सार्वजनिक भएपछि पीडित युवाहरू आन्दोलित बन्न पुगेका हुन्।

लामो समयको धैर्यता, मानसिक तनाव र ठूलो आर्थिक लगानी गरिसकेपछि पनि पुनः सुरुवाती चरणबाटै भाग्यको भर पर्नुपर्ने बाध्यता सिर्जना गरिएकाले आफूहरूमाथि ठूलो अन्याय भएको प्रदर्शनकारीहरूको गुनासो छ।आन्दोलनरत युवाहरूले आफ्नो माग पूरा गराउन यसअघि वैदेशिक रोजगार विभाग, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, र परराष्ट्र मन्त्रालयमा पटक–पटक डेलिगेसन गई ज्ञापनपत्र बुझाइसकेका छन्।

तर, सम्बन्धित निकायहरूले ठोस निर्णय लिनुको साटो गैरजिम्मेवारपूर्ण कार्यशैली देखाएको भन्दै उनीहरू मन्त्रालयको ढोकाबाट सडकमा आउन बाध्य भएका हुन्।उनीहरुले दुई वर्षदेखि प्रक्रिया पूरा गरेर रोकिएका योग्य उम्मेदवारहरूलाई नयाँ कोटामा पुनः प्रतिस्पर्धा गराउनुको साटो उनीहरूका लागि मात्र छुट्टै कोटा सुरक्षित गर्न माग गरेका छन् ।

विगतमा विभागले दिएको आश्वासन अनुरूप पुराना उम्मेदवारहरूलाई बिनाकुनै झन्झट नयाँ प्रक्रियामा स्वतः समावेश गर्न र नेपाल सरकार र श्रम मन्त्रालयले यस विषयलाई गम्भीरतापूर्वक लिँदै पुराना उम्मेदवारहरूको हकमा तत्काल उचित र न्यायोचित निकास नदिएसम्म आन्दोलन थप सशक्त बनाउने चेतावनी समेत पीडित युवाहरूले दिएका छन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्