Skip to content

हुलाकमार्फत घरदैलोमै राहदानी सेवा

nmb bank inside

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा हुलाकमार्फत घरदैलोमा राहदानी पुर्याउने सेवा सुरु गरिएको छ । जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले सेवाग्राहीको घरदैलोमै राहदानी (पासपोर्ट) पुर्याउने सेवाको शुभारम्भ गरेको हो ।

जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापूर्व) र जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापूर्व) बीच समझदारी भएअनुसार हुलाकमार्फत घरदैलोमै राहदानी पुर्याउने व्यवस्था लागू गरिएको जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत ठानेश्वर सापकोटाले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयबाट प्राप्त राहदानी कावासोती–१६, पिप्रेनी निवासी अमित परियारको घरमै पुगेर हस्तान्तरण गरी सेवा शुभारम्भ गरिएको हुलाक अधिकृत सापकोटाले बताएका छन् । परियारको मञ्जुरीमा उनकी आमा विमला परियारलाई राहदानी हस्तान्तरण गर्दै सेवाको सुरुआत गरिएको हो ।

राहदानी लिन सदरमुकामसम्म धाउनुपर्ने अवस्था रहेकामा सो अवस्थाको अन्त्य गर्दै नागरिकलाई घरदैलोमा नै पुर्याउने गरी सेवा सुरु गरिएको हुलाक अधिकृत सापकोटाले बताए । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हुने राहदानी सम्बन्धित व्यक्तिको घरमै पुर्याउने गरी सेवा प्रदान गर्दा नागरिकलाई सुविधा पुग्ने विश्वास गरिएको छ ।

‘सरकारले नागरिकलाई कतिपय सेवा घरमै दिने योजना बनाएको छ, सोहीअनुसार राहदानी घरदैलोमानै पुर्याउने सेवाको सुरुआत गरेका हौँ, यसले सेवाग्राहीलाई सुविधा थप्ने विश्वास छ’, हुलाक अधिकृत सापकोटाले भने ।

घरमै परिवारको सदस्यको राहदानी प्राप्त गर्दा खुसी लागेको विमला परियारले बताए । ‘जिल्ला प्रशासन कार्यालयमा राहदानी लिनका लागि समय व्यवस्थापन गरी पुग्नुपर्ने हुन्थ्यो, घरमै पाउँदा समयको बचत पनि भयो, त्याहाँ सम्म पुग्दा लाग्ने यातायात खर्च पनि बच्यो, धेरै सुविधा भयो’, उनले भने ।

नवलपुरमा पहाडी क्षेत्रसमेत रहेकाले उक्त क्षेत्रमा पनि यो सुविधा पुर्याउने हुलाक अधिकृत सापकोटाले बताए । ‘हामीलाई प्राप्त भएका राहदानी जुन पालिकाको भए पनि हाम्रा कार्यालय र सम्बन्धित पालिकाको कर्मचारीमार्फत घरमै पुर्याउनेछौँ” उनले भने, यस सेवाले नागरिकलाई सहजता प्रदान गर्नुका साथै हुलाक सेवाप्रतिको जनविश्वास र विश्वसनीयता थप मजबुत हुने विश्वास लिइएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्