Skip to content

फुटपाथको व्यापारदेखि अस्ट्रेलियाको सुनखानीसम्म: इन्जिनियर राजकुमारको लोभलाग्दो आर्थिक छलाङ

nmb bank inside

काठमाडौँ। सङ्घर्षको जग बलियो भयो भने सफलताको उचाइ कति लोभलाग्दो हुन्छ भन्ने उदाहरण हुन्, काभ्रेपलाञ्चोक कात्तिके देउराली (हाल चौरीदेउराली गाउँपालिका–६) का राजकुमार गौतम। बुबा बच्चु गौतम र आमा भगवती गौतमका सुपुत्र राजकुमारको बाल्यकाल र प्रारम्भिक जीवन चरम आर्थिक अभावबीच गुज्रिएको थियो। ८–९ वर्षको उमेरदेखि नै उनी हरेक वर्षको फागुन–चैतमा काठमाडौँको रत्नपार्कमा क्यालेन्डर बेच्न हिँड्थे। बुबाले २०४० सालदेखि नै काठमाडौँको महाबौद्धमा भारी बोक्ने काम गर्थे, जसकै कमाइबाट परिवार र छोराछोरीको पढाइ खर्च धानिएको थियो।
एसएलसी (एसईई) पास गरेपछि काठमाडौँ आएर राजकुमारले रत्नपार्कको पेटीमा चस्मा, घडी र पेटी जस्ता सामानहरू बेचे। सन् २००९ (वि.सं. २०६६) मा इन्जिनियरिङ पढ्न सुरु गर्दासम्म पनि उनी सडकमै व्यापार गर्थे। पछि उनले मोबाइल पसलमा काम गर्न थाले र बिस्तारै आफैँले मोबाइल पसल पनि सञ्चालन गरे। यही खुद्रा व्यापार र श्रमको जगबाट सुरु भएको उनको यात्रा आज अस्ट्रेलियाको प्रतिष्ठित सुनखानी उद्योग र नेपालको डिजिटल स्टार्टअप अर्थतन्त्रसम्म जोडिन आइपुगेको छ।

सैनिक अधिकृत बन्ने धोकोदेखि अस्ट्रेलियाको यात्रासम्म
मोबाइल पसलमा काम गर्दै इलेक्ट्रिकल इन्जिनियरिङ सकेका राजकुमारले नेपाली सेनामा प्राविधिक अधिकृत (टेक्निकल अफिसर) का लागि नाम समेत निकालेका थिए। तर, अन्तिम चरणमा आइपुग्दा उनी घाइते भए, जसका कारण सैनिक अधिकृत हुने उनको यात्रा सदाका लागि रोकियो। नेपालमा बहुराष्ट्रिय कम्पनी खेतान समूहमा काम गरिरहेका उनलाई त्यसपछि विदेश जाने सोच आयो।सन् २०१९ अक्टोबरमा अस्ट्रेलियाको कर्टिन युनिभर्सिटी (WA School of Mines) का लेक्चररहरू काठमाडौँमा एउटा सेमिनारका लागि आएका थिए। पर्थमा रहेका सिनियरहरूको सल्लाहमा राजकुमार सो सेमिनारमा पुगे। त्यहाँ खानी उद्योग (Mining Industry) सम्बन्धी प्रस्तुतिले उनको ध्यान तान्यो। त्यसमाथि अहिलेसम्म कोही पनि नेपाली विद्यार्थी उक्त विषय पढ्न नगएको थाहा पाएपछि उनलाई झन् चासो जाग्यो र कागजात प्रक्रिया अगाडि बढाए। प्रक्रिया सुरु गरेको मात्र ११ दिनमा भिसा आएपछि उनी सन् २०१९ मा वेस्टर्न अस्ट्रेलियाको पर्थ उडे।

खानी उद्योगमा व्यावसायिक सङ्घर्ष र आर्थिक प्रगति
कर्टिन युनिभर्सिटीबाट माइनिङ इन्जिनियरिङमा स्नातकोत्तर (Master’s Degree) अध्ययन गर्दागर्दै राजकुमारले खानीमै काम सुरु गरिसकेका थिए। सन् २०२२ डिसेम्बरमा पढाइ सकिए पनि इन्जिनियरकै रूपमा सिधै काम पाउन सहज थिएन। त्यसैले उनले केही समय खानीभित्रै ट्रक चलाउने काम गरे। खानीभित्र ट्रक चलाउनु निकै चुनौतीपूर्ण र कठिन थियो, जहाँ अङ्ग्रेजीमा आउने निर्देशनहरूलाई नेपालीमा सोचेर तत्कालै रेडियो सेटमा जवाफ दिनुपर्थ्यो। यो भाषागत कठिनाइलाई उनले न्युजिल्यान्डका सहकर्मीहरूसँग सङ्गत गरेर सहज बनाए।

चार महिनाको कठिन श्रमपछि अर्को खानीबाट प्रस्ताव आउनासाथ उनले आफ्नो म्यानेजरसँग पढाइ अनुसारको काम दिन वा जागिर छोड्ने अडान राखे। उनको क्षमता बुझेका म्यानेजरले उनलाई ‘प्रोडक्सन इन्जिनियर’ को जिम्मेवारी दिए। कार्यक्षमताकै आधारमा एक वर्षभित्रै उनी ‘प्लानिंग इन्जिनियर’ (Mine Planning Engineer) मा पदोन्नति भए।विगत तीन वर्षदेखि राजकुमार अस्ट्रेलियाको प्रमुख सुन उत्खनन कम्पनी ‘वेस्टगोल्ड रिसोर्सेज’ (Westgold Resources) मा प्लानिङ इन्जिनियरका रूपमा कार्यरत छन्। हाल उनी खानीको दैनिक, मासिक, वार्षिक र दुई वर्षे रणनीतिक योजनाहरू (Underground mine planning & Structural analysis) बनाउने महत्त्वपूर्ण भूमिकामा छन्। खानीभित्र ट्रक चलाउने, सर्भिस क्रू, ग्राउन्ड सपोर्टदेखि बमहरू चार्ज गर्ने र पड्काउनेसम्मको लाइसेन्स र तालिम लिएका राजकुमार खानी म्यानेजर बन्नका लागि आवश्यक सबै कोर्स पूरा गरिसकेका छन्।

उनका अनुसार यस उद्योगमा ८ दिन लगातार खानीमै बसेर काम गर्नुपर्छ र त्यसपछि ६ दिनको बिदा हुन्छ। “यो काम चुनौतीपूर्ण त छ, तर सुरक्षाको उच्च मापदण्ड हुने भएकाले धेरै डराउनुपर्दैन। वर्षमा कम्तीमा एउटा सुनको डल्लै भेटिने गरेको छ, जुन निकै रोमाञ्चक हुन्छ,” उनी भन्छन्।
पूँजी र सीपको ‘ब्रेन गेन’: नेपालको पूर्वाधार र डिजिटल अर्थतन्त्रमा लगानी
अस्ट्रेलियाको खानी उद्योगमा उच्च आर्थिक हैसियत बनाएका राजकुमारको ध्यान अहिले नेपालमै पूँजी र अन्तर्राष्ट्रिय सीप भित्र्याउने (Brain Gain) तर्फ केन्द्रित छ। उनले नेपालमा विगत तीन वर्षदेखि आरबी रिदम कन्सट्रक्सन (RB Rhythm Construction) सञ्चालन गरिरहेका छन्, जसले काठमाडौँ महानगरपालिका अन्तर्गतका भवन निर्माण तथा विभिन्न इन्जिनियरिङ परियोजनाहरू हेर्ने गर्दछ। यसको व्यवस्थापन उनका भाइ राजीव गौतम (सिभिल इन्जिनियर) ले गरिरहेका छन्।

यसका साथै, प्रविधि र कृषि क्षेत्रको आधुनिकीकरणका लागि राजकुमारले डिजिटल स्टार्टअपहरूमा समेत लगानी र नेतृत्व गरिरहेका छन्:
१. Gen-Go: काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले तयार भइरहेको यो एउटा मोबिलिटी र राइड-शेयरिङ (Ride-sharing) प्लेटफर्म हो।
२. Gothalo (गोठालो): नेपाली किसानहरूलाई आधुनिक कृषि जानकारी, पशुपालन व्यवस्थापन र डिजिटल वित्तीय तथा कृषि सेवाहरू उपलब्ध गराउने लक्ष्यका साथ विकास गरिएको मोबाइल एप हो।

भविष्यको योजना: नेपालमै सुनखानीको सम्भाव्यता र पीएचडी
राजकुमार हाल खानी उद्योगमा आफ्नो कामसँगै दिगो ऊर्जा प्रणाली र भारी उद्योगमा कार्बन उत्सर्जन घटाउने विषय (Hydrogen Fuel Technology) मा विद्यावारिधि (PhD) तहको अनुसन्धानमा समेत व्यस्त छन्।
आफ्नो व्यक्तिगत आर्थिक सफलता मात्र नभई समग्र देशकै आर्थिक विकासमा योगदान पुर्‍याउने उनको दीर्घकालीन सोच छ। “म अहिले अस्ट्रेलियाको प्रतिष्ठित खानी कम्पनीमा छु, तर मेरो लक्ष्य नेपालमा पनि सुनखानी उद्योगको व्यावसायिक सम्भाव्यता अध्ययन गर्ने हो। यसका लागि विभिन्न देशमा रहेका नेपाली खानी इन्जिनियर र भूगर्भविदहरूको टिम बनाउने प्रयासमा जुटिरहेको छु,” राजकुमारले आफ्नो भावी योजना सुनाए।
फुटपाथको सानो व्यापारबाट सुरु भएको राजकुमार गौतमको यो व्यावसायिक र आर्थिक रूपान्तरणको कथा नयाँ पुस्ताका उद्यमी र युवा इन्जिनियरहरूका लागि एउटा ठूलो प्रेरणाको स्रोत हो।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्