धरान । धरानस्थिति दिल्ली पब्लिक स्कुल (डिपिएस) धरानले विद्यार्थीबाट मनपरी शुल्क असुली गर्ने गरेको खुलासा भएको छ । अर्थ खबरलाई प्राप्त प्रमाणहरुले स्कुलले प्रमाणपत्र तथा इक्विभ्यालेन्स प्रक्रियामा विद्यार्थीबाट अतिरिक्त शुल्क असुली गर्ने, पुस्तक बिक्रीमा मनपरी शुल्क लिने गरेको खुलासा भएको हो ।
अर्थ खबरको सम्पर्कमा आएका पीडित विद्यार्थीका अनुसार स्कुलले कक्षा १२ पछि आवश्यक पर्ने इक्विभ्यालेन्स, माइग्रेसन, क्यारेक्टर सर्टिफिकेट लगायतका कागजात उपलब्ध गराउन विद्यार्थी अनुसार फरक–फरक शुल्क असुली गर्दै आएको छ । ‘एउटै सेवाका लागि कसैसँग २ हजार र कसैसँग ४ हजारसम्म असुली गरिएको छ ।’, अर्थ खबरको सम्पर्कमा आएका एक विद्यार्थीले भने, ‘केही विद्यार्थीसँग पर्सनल च्याट गरेर पनि तोकिएको भन्दा बढी शुल्क मागिएको छ ।’
उक्त सेवाहरु सम्पूर्ण अनलाइनबाटै सहजै पूर्ण हुने भए पनि शिक्षकहरुले मनपरी अतिरिक्त ‘सेवा शुल्क’ शीर्षकमा रकम मागेको भन्दै विद्यार्थीहरुले विरोध गरेका छन् ।

व्यक्तिगत क्युआरमार्फत असुली
यतिसम्म कि उक्त स्कुलका शिक्षकहरुले विद्यार्थी र अभिभावकबाट व्यक्तिगत क्युआरमा समेत शुल्क असुली गरेको पीडित पक्षको दाबी छ । ‘हामीसँग शिक्षकले विद्यालयको भुक्तानी व्यक्तिगत क्युआरमा मागेका छन् ।’, एक विद्यार्थीले अर्थ खबरसँग भने, ‘हो हदैसम्मको मनपरी हो, आर्थिक अनियमितता समेत हो ।’
डिपिएस धरानको मनपरी यतिमा मात्र सीमित छैन । स्कुलले पुस्तकको एमआरपी समेत मेटेर समेत विद्यार्थीसँग चर्को शुल्क असुली गर्ने गरेको आरोप विद्यार्थीहरुले लगाएका छन् ।
यसरी केही शिक्षकहरुले खुलेआम ठगी गरिरहँदा पनि उक्त मनपरीमाथि कुनै एक्सन नलिइएको विद्यार्थी र अभिभावकको गुनासो छ । ‘यो विषयमा पटक पटक आवाजहरु उठेका हुन् । गुनासोहरु गरिएका हुन् । तर अहिलेसम्म पनि विद्यालय प्रशासन यो विषयमा गम्भीर बनेको छैन ।’, एक विद्यार्थीले भने, ‘बरु जेसुकै गर भन्ने शैलीमा विद्यालयले मनपरी गरिरहेको छ ।’
यतिसम्म कि उक्त अनियमितता र मनपरीविरुद्ध आवाज उठाउने विद्यार्थीलाई स्कुलले उल्टै निरुत्साहित गर्ने, बेवास्ता गर्ने तथा मानसिक रुपमा दबाब दिने गरेको पीडित पक्षको आरोप छ ।

शिक्षकबाटै विद्यार्थीमाथि यौन दुर्व्यहार !
अझ डिपिएस धरानमा आर्थिक अनियमिततासँगै अर्को डरलाग्दो तथ्यको पनि खुलासा भएको छ । पीडित पक्षले दिएको प्रमाण र दाबीका आधारमा स्कुलका शिक्षकले विद्यार्थीमाथि नै यौन दुर्व्यवहार गर्ने गरेको पनि भेटिएको छ । यद्यपि उक्त विषयमा पीडित पक्ष कानूनी प्रक्रियामा गइसकेको छन् ।
अर्कोतर्फ सो दुर्व्यहारको विषयमा थप प्रमाण र तथ्यका आधारमा प्रहरीमा उजुरी गर्नेसमेत पीडित पक्षको तयारी छ । तर, सो विषयमा स्कुलका पदाधिकारी भने बोल्न मान्दैनन् ।
यसरी पटक पटक विभिन्न अनियमितता र दुर्व्यहारका घटना बाहिरिँदा पनि कुनै छानविन नभएको भन्दै पीडित पक्षले छानविनको समेत माग गरेका छन् । उनीहरुले स्कुलमा भएका अनियमितता र दुर्व्यवहारका विषयमा छानविन गरी पीडितलाई न्याय दिन पनि माग गरेका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्