Skip to content

अदालतले बिजनेस न्युजलाई समाचार हटाउन भनेपछि अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण

nmb bank inside

काठमाडौँ । अदालतले ‘बिजनेस न्युज डटकम’मा प्रकाशित समाचार हटाउन आदेश दिएपछि अनलाइन पत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काठमाडौं जिल्ला अदालतले ‘बिजनेस न्युज डटकम’मा प्रकाशित समाचार हटाउन र थप सामग्री प्रकाशन नगर्न दिएको आदेशप्रति अनलाइन पत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

संघले अदालतको उक्त आदेशले प्रेस स्वतन्त्रता तथा पत्रकारिताको मूल मर्ममै असर पार्ने खतरा उत्पन्न भएको जनाएको छ।

बिजनेस भेन्चर्स मिडिया प्रालिद्वारा सञ्चालित बिजनेस न्युज डटकमले ‘साइमेक्स इन्क प्रालि’ सम्बन्धी समाचार प्रकाशित गरेको थियो। सोही विषयमा परेको निवेदनका आधारमा काठमाडौं जिल्ला अदालतले जेठ २५ गते दिएको अन्तरकालीन आदेशलाई निरन्तरता दिँदै सम्बन्धित सामग्री तुरुन्त अनलाइनबाट हटाउन तथा मुद्दाको अन्तिम निर्णय नभएसम्म थप प्रकाशन वा प्रसारण नगर्न निर्देशन दिएको हो।

तर, पत्रकार आचारसंहिता २०७३ को बुँदा ५(८) अनुसार अनलाइनमा प्रकाशित सामग्री सकेसम्म नहटाउने व्यवस्था रहेको संघले उल्लेख गरेको छ। अदालतको आदेशले उक्त प्रावधानमाथि हस्तक्षेप गरेको संघको धारणा छ।

संघले समाचारको सत्यता परीक्षण नगरी केवल निवेदनकै आधारमा सामग्री हटाउन लगाउनु पत्रकारिताको मूल्य र मान्यताविपरीत भएको जनाएको छ। ‘तथ्य पुष्टि नगरी समाचार हटाउने आदेश दिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो,’ विज्ञप्तिमा भनिएको छ।

संघका अध्यक्ष शिवप्रसाद सत्यालद्वारा जारी विज्ञप्तिमा अदालतबाट प्रेस स्वतन्त्रताको संरक्षण हुने अपेक्षा गरिएको छ। साथै, संघले अदालतको सम्मान गर्दै संविधान र कानुनको पालना गर्न तथा अन्तिम फैसलालाई स्वीकार गर्न सबै पक्षलाई आग्रह गरेको छ।

 

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्