Skip to content

कलाकार मदनदासको नजरमा गाईजात्रा : हिजो सात दिन, आज बाह्रै महिना

nmb bank inside

मदनदास श्रेष्ठ

बरिष्ठ कलाकार

कलाकार मदनदासको नजरमा गाईजात्रा : हिजो सात दिन, आज बाह्रै महिना

गाईजात्राबाट कमेडी क्लबसम्म : व्यङ्ग्यको बदलिँदो यात्रा

काठमाडौं । गाईजात्रा नेपाली समाजमा दिवङ्गत पितृहरूको सम्झना गर्ने पर्व मात्र होइन, सामाजिक विकृति, विसङ्गति र राजनीतिक अवस्थामाथि व्यङ्ग्य गर्ने अवसरका रूपमा समेत स्थापित छ । समयसँगै गाईजात्राको स्वरूप फेरिँदै गएको छ । परम्परागत रुपमा र व्यङ्ग्यबाट सुरु भएको यसको यात्रा अहिले टेलिभिजन, हास्य सिरियल र कमेडी क्लबसम्म आइपुगेको छ ।

वरिष्ठ कलाकार मदनदास श्रेष्ठका अनुसार गाईजात्रालाई व्यवस्थित रूपमा ‘गाईजात्रा महोत्सव’का रूपमा प्रस्तुत गर्ने परम्परा तत्कालीन राजकीय प्रज्ञा–प्रतिष्ठानबाट सुरु भएको थियो । उनका अनुसार यसको सुरुआत करिब २०३१÷३२ सालतिर भएको हो ।

त्यतिबेला गाईजात्रा महोत्सवमा सामाजिक कुरीति र विसङ्गतिलाई केन्द्रमा राखेर कलाकारहरूले व्यङ्ग्यात्मक प्रस्तुति दिने गरेका थिए । कार्यक्रम टिकट बिक्री गरेर सञ्चालन गरिन्थ्यो र त्यसबाट प्राप्त रकमको केही हिस्सा कलाकारलाई समेत दिइन्थ्यो । यसले कलाकारको आयस्रोतमा समेत सहयोग पु¥याउने उद्देश्य राखेको श्रेष्ठ बताउँछन् ।

‘गाईजात्रा महोत्सवमा सामाजिक विसङ्गति, सामाजिक कुरीति र विशेषतः त्यसलाई उद्गार हुने किसिमको व्यङ्ग्यात्मक हिसाबले कलाकारहरूले प्रस्तुत गर्थे,’ श्रेष्ठले भने, ‘टिकट बिक्रीबाट उठेको पैसाबाट कलाकारहरूलाई पनि केही दिने र उनीहरूको आयस्रोतमा टेवा पु¥याउने उद्देश्य थियो ।’

राजनीतिक व्यङ्ग्यको बाटो खुल्दै

पञ्चायतकालमा राजनीतिक विषयमाथि प्रत्यक्ष व्यङ्ग्य गर्ने विषयमा विभिन्न प्रकारका बन्देज थिए । त्यसैले कलाकारहरू मुख्यतः सामाजिक कुरीति र विसङ्गतिलाई व्यङ्ग्यको विषय बनाउँथे ।

राजनीतिक परिवर्तनसँगै भने कलाकारको प्रस्तुति पनि विस्तार हुँदै गयो । राजनीतिक विसङ्गति, राजनीतिज्ञ र नेतृत्वका गतिविधिमाथि समेत व्यङ्ग्यात्मक प्रस्तुति हुन थाले ।

श्रेष्ठका अनुसार यस्तो व्यङ्ग्यको उद्देश्य कसैलाई अपमान गर्नु मात्र थिएन । कलाकारले व्यङ्ग्यका माध्यमबाट समाज र नेतृत्वलाई आफ्ना कमजोरीप्रति सजग गराउने प्रयास गर्थे ।

‘व्यङ्ग्यात्मक प्रस्तुति नकारात्मक मात्र होइन,’ उनले भने, ‘त्यसबाट मानिसहरू सकारात्मक हिसाबले समाजमा र आफूले गर्नुपर्ने कुरामा सजग होऊन् भन्ने उद्देश्य पनि हुन्छ ।’

समयक्रममा प्रज्ञा–प्रतिष्ठानबाट हुने गाईजात्रा महोत्सव रोकियो । त्यसपछि कलाकारहरूले आफ्नै समूह बनाएर विभिन्न ठाउँमा गाईजात्रा कार्यक्रम आयोजना गर्न थाले। कहिले राष्ट्रिय नाचघर, कहिले प्रज्ञा भवन त कहिले अन्य स्थानमा यस्ता कार्यक्रम हुन थाले ।

गाईजात्राबाट टेलिभिजनसम्म

गाईजात्रा महोत्सवबाट स्थापित भएका धेरै कलाकारले पछि टेलिभिजन र सानो पर्दामा अवसर पाए । हाँस्य सिरियलको विकाससँगै गाईजात्रामा प्रयोग हुँदै आएको व्यङ्ग्यात्मक शैली नयाँ माध्यममा पुग्यो । 

श्रेष्ठका अनुसार अहिले चर्चामा रहेका थुप्रै कलाकारले कुनै न कुनै रूपमा यही हाँस्य–व्यङ्ग्यको परम्पराबाट अवसर पाएका छन् ।

‘अहिले टेलिभिजनमा आउने विभिन्न हाँस्य सिरियलहरू त्यसैको प्रस्तुति हुन्,’ उनले भने, ‘धेरै कलाकारले त्यहाँबाट अवसर पाए र आफ्नो आयस्रोत पनि बढाए ।’

हाँस्य सिरियल हुँदै अहिले व्यावसायिक कमेडी क्लबसम्म व्यङ्ग्यको यात्रा पुगेको छ । श्रेष्ठका अनुसार सुरुमा सीमित रहेका कमेडी कार्यक्रम अहिले विभिन्न नाममा व्यावसायिक रूपमा सञ्चालन भइरहेका छन् ।

उनका विचारमा यी कार्यक्रमले सामाजिक र राजनीतिक क्षेत्रमा सुधारको वातावरण निर्माण गर्न पनि भूमिका खेलिरहेका छन् ।

नेताको क्यारिकेचरदेखि ‘बाह्रै महिना गाईजात्रा’सम्म

समयसँगै राजनीतिक नेतृत्वको क्यारिकेचर र नक्कल गाईजात्रे व्यङ्ग्यको लोकप्रिय विधा बनेको छ । राष्ट्रिय स्तरका राजनीतिज्ञको बोल्ने शैली, हाउभाउ र अभिव्यक्तिलाई कलाकारले प्रस्तुत गर्ने गरेका छन् ।

श्रेष्ठका अनुसार यस्तो प्रस्तुतिले राजनीतिज्ञलाई समेत आफ्नो व्यवहार र अभिव्यक्तिबारे सोच्न बाध्य बनाउने गरेको छ ।

‘कलाकारहरूले व्यङ्ग्यात्मक प्रहार गरिरहेका छन् भन्ने कुरा उनीहरूले पनि महसुस गर्छन् होला, अहिले राजनीतिक हिसाबमा पनि बाह्रै महिना, बाह्रैकाल गाईजात्राजस्तै देखिन्छ,’ श्रेष्ठले भने ।

उनले अहिलेको राजनीतिक अवस्थामाथि टिप्पणी गर्दै नेपालमा गाईजात्राको व्यङ्ग्य वर्षको केही दिनमा मात्र सीमित नरहेको बताए ।

‘देशभित्रको व्यङ्ग्य विदेशमा नलैजाऔँ’

श्रेष्ठले पछिल्लो समयको हाँस्य–व्यङ्ग्यमा देखिएको एउटा प्रवृत्तिप्रति भने असन्तुष्टि व्यक्त गरेका छन् । उनका अनुसार नेपालभित्र राष्ट्रिय नेता, राजनीतिज्ञ र सार्वजनिक व्यक्तित्वमाथि क्यारिकेचर गर्नु एउटा कुरा भए पनि विदेशमा आयोजना हुने नेपाली कार्यक्रमहरूमा समेत त्यही सामग्री प्रस्तुत गर्नु उपयुक्त हुँदैन ।

विदेशमा रहेका नेपालीहरूले समेत यसबारे आफूलाई गुनासो गर्ने गरेको उनले बताए ।

‘हाम्रो देशभित्रको विसङ्गति, राजनीति र राजनीतिज्ञका बारेमा व्यङ्ग्य गर्न ठीक छ,’ उनले भने, ‘तर विदेशमा गएर आफ्नै देशका राष्ट्रपति, प्रधानमन्त्री र ठूला नेताको क्यारिकेचर गर्दा विदेशीले हाम्रो देशका बारेमा के सोच्लान् भन्ने कुरा पनि कलाकारले विचार गर्नुपर्छ ।’

श्रेष्ठले कलाकारहरू विदेशमा कार्यक्रम गर्न जाँदा केही विषयमा सजग हुनुपर्ने धारणा राखे । उनका अनुसार व्यङ्ग्यको नाममा ‘छाडापन’ बढ्नु उचित होइन ।

‘कलाकार साथीहरू अलि सजग हुनुपर्छ,’ उनले भने, ‘छाडा चाहिँ छाडा छ, एकदमै ।’

गाईजात्राको परम्परादेखि डिजिटल युगसम्म

श्रेष्ठका अनुसार गाईजात्राको मूल परम्परा निकै पुरानो हो । दिवङ्गत पितृहरूको सम्झनामा गाई बनाएर विभिन्न देवीदेवताको नाममा सहर परिक्रमा गर्ने परम्परा यससँग जोडिएको छ ।

परम्परागत रूपमा गाईजात्राका क्रममा व्यङ्ग्यात्मक नाटक, चुट्किला र सामाजिक व्यङ्ग्यसमेत प्रस्तुत हुने गरेका थिए। केही समयका लागि यस्ता व्यङ्ग्यात्मक गतिविधिलाई विशेष छुट हुने सामाजिक मान्यता रहेको श्रेष्ठको भनाइ छ ।

उनले विगतमा तिहारका केही दिनमा जुवा खेल्नसमेत छुट दिइने गरेको प्रसङ्ग सुनाए । उनका अनुसार त्यतिबेला निश्चित अवधिका लागि मात्र त्यस्तो छुट हुने गरेको थियो ।

गाईजात्रामा गरिने व्यङ्ग्य पनि निश्चित अवधिसँग जोडिएको थियो। त्यो अवधिमा मानिसका कमजोरी, सामाजिक विसङ्गति र तत्कालीन अवस्थामाथि खुला रूपमा व्यङ्ग्य गर्ने परम्परा थियो ।

श्रेष्ठका अनुसार समयसँगै समाज र प्रविधि परिवर्तन भयो। परम्परागत गाईजात्रे व्यङ्ग्य डिजिटल माध्यम, टेलिभिजन र सामाजिक सञ्जाल हुँदै आधुनिक हास्य कार्यक्रमसम्म आइपुगेको छ ।

तर उनको दृष्टिमा गाईजात्राको मूल मर्म भने उही हो, मनोरञ्जनसँगै समाजलाई आफ्नो कमजोरी देखाइदिने र सुधारका लागि सचेत गराउने ।

आज गाईजात्रा केही दिनको पर्वमा मात्र सीमित छैन । राजनीतिक गतिविधि, सामाजिक बहस र डिजिटल माध्यममा दैनिकजसो व्यङ्ग्यको उपस्थिति देखिन्छ । त्यसैले श्रेष्ठको भाषामा भन्नुपर्दा, ‘अहिले त बाह्रै महिना बाह्रै काल गाईजात्रा चलिरहेको छ ।’

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्