काठमाडौं । आज बिहान रसुवामा तिब्बततर्फबाट आएको बाढीले बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू समेत बगाएको छ। भोटेकोशी नदी उर्लिँदा बस्ती तथा भौतिक संरचनासँगै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूमा समेत ठूलो क्षति पुगेको हो।
नेपाल बैंकर्स संघका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका विभिन्न बैंकका शाखा कार्यालयहरूमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। तर, सञ्चार सेवा अवरुद्ध भएका कारण ती क्षेत्रका कर्मचारी तथा शाखा कार्यालयसँग सम्पर्क हुन नसक्दा क्षतिको यकिन विवरण संकलन गर्न कठिन भइरहेको संघले जनाएको छ।
संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार बाढीको सूचना प्राप्त भएपछि संघले आकस्मिक बैठक बसेर क्षतिको अवस्था र आवश्यक कदमबारे छलफल गरेको थियो। उक्त बैठकले प्रभावित क्षेत्रमा कार्यरत बैंकका कर्मचारीहरूको उद्धारका लागि सम्बन्धित सरकारी निकायसँग समन्वय र सहयोगको अनुरोध गर्ने निर्णय गरेको छ।
बाढीका कारण बैंकिङ सेवा समेत प्रभावित हुने देखिएको छ भने प्रभावित क्षेत्रमा वित्तीय पहुँचमा अस्थायी अवरोध आउने सम्भावना रहेको जनाइएको छ। संघले परिस्थितिको निरन्तर अनुगमन गरिरहेको र थप विवरण आउँदै जाँदा सार्वजनिक गरिने जनाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्