मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट वञ्चित मुगुका दुर्गम बस्तीका नागरिकले आफ्नै गाउँमा निःशुल्क स्वास्थ्य उपचार र औषधि पाएका छन्। छायाँनाथ रारा नगरपालिका–४ र ५ अन्तर्गत भामवाडा र कार्कीवडाका ६ हजार १०० जना सर्वसाधारणले गाउँमै सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट प्रत्यक्ष लाभ लिएका हुन्।
दुर्गम क्षेत्रका नागरिकलाई सहज र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले हेल्थघर प्रालिको सहजीकरणमा उक्त शिविर सञ्चालन गरिएको थियो। शिविरमा छायाँ नेपाल तथा हिमाली ग्रामीण युवा सामुदायिक विकास केन्द्र, मुगुले निःशुल्क औषधि उपलब्ध गराएका थिए भने जिल्ला अस्पताल, मुगुले प्राविधिक सहयोग पुर्याएको थियो।
शिविरमा पाँच जना विशेषज्ञ चिकित्सक र चार जना सहायक चिकित्सकसहितको टोली खटिएको थियो। उक्त टोलीले विभिन्न रोगको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक उपचार सेवा प्रदान गरेको थियो।
हेल्थघर प्रालिका संस्थापक अध्यक्ष सरोज रोकायाका अनुसार भौगोलिक कठिनाइका कारण सामान्य उपचारका लागि समेत टाढाका स्वास्थ्य संस्थासम्म पुग्न बाध्य स्थानीय नागरिकलाई लक्षित गरी बस्तीमै स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
“भौगोलिक विकटता र यातायातको असहजताका कारण धेरै नागरिक नियमित स्वास्थ्य परीक्षणबाट वञ्चित हुनुपरेको छ,” अध्यक्ष रोकायाले भने, “आफ्नै बस्तीमा उपचार पाउँदा समयमै रोग पहिचान हुनुका साथै सम्भावित जटिलताबाट जोगिन ठूलो मद्दत पुगेको छ।”
शिविरमा स्वास्थ्य परीक्षण गराउनुका साथै आवश्यक औषधिसमेत निःशुल्क पाएपछि बिरामीहरूले खुसी व्यक्त गरेका छन्। दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउँदै उपचारको अवसर प्रदान गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने छाया नेपालका कर्णाली प्रदेश प्रमुख मीनबहादुर रावलले बताए।
शिविरमा विशेषगरी दम, उच्च रक्तचाप, शरीर दुख्ने, हाडजोर्नीसम्बन्धी समस्या तथा आँखामा संक्रमण भएका बिरामीहरू बढी देखिएको चिकित्सक अर्जुन भामले बताए।
दुर्गम बस्तीका नागरिकलाई आफ्नै गाउँमा स्वास्थ्य परीक्षण, उपचार र निःशुल्क औषधि उपलब्ध गराउने यस्ता शिविरले आर्थिक अभाव तथा भौगोलिक कठिनाइका कारण स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई राहत पुर्याएको छ।







Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्