काठमाडौँ। सांस्कृतिक पहिचान, राष्ट्रिय महत्त्व र सामाजिक चेतनासँग जोडिएका चलचित्र निर्माणलाई प्रोत्साहन गर्न सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा ३ करोड ५० लाख रुपैयाँ अनुदान दिने भएको छ।सूचना तथा सञ्चार मन्त्रालयले मौलिक, यथार्थपरक तथा जनचेतनामूलक चलचित्र निर्माण गर्न इच्छुक व्यक्ति तथा संस्थाबाट आवेदन माग गरेको छ। मन्त्रालयले चलचित्रको स्क्रिप्ट, प्रोडक्सन र पोस्ट प्रोडक्सन गरी तीन विधामा अनुदान उपलब्ध गराउने जनाएको छ।
मन्त्रालयका अनुसार इच्छुक व्यक्ति तथा संस्थाले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक विवरण र कागजातसहित आवेदन पेस गर्नुपर्नेछ। सरकारले स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत चलचित्र क्षेत्रको विकास तथा मौलिक सिर्जनालाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो।
अनुदान प्राप्त गर्न इच्छुकले चलचित्रको कथा तथा पटकथा, भाषा, लेखक, निर्माता, निर्देशक र छायाँकारको विवरणसहित आवेदन दिनुपर्नेछ। त्यस्तै, चलचित्र निर्माण गर्ने संस्था वा कम्पनीको नाम र ठेगाना, साझेदार संस्थाको विवरण, कलाकारको नाम तथा सङ्ख्या र सम्बन्धित व्यक्तिहरूको बायोडाटा पनि पेस गर्नुपर्नेछ।
आवेदनसँगै चलचित्र निर्माणसम्बन्धी कार्ययोजना बुझाउनुपर्ने मन्त्रालयले जनाएको छ। चलचित्रको कथा तथा पटकथा विकासदेखि निर्माण र निर्माणपछिका कामसम्म आर्थिक सहयोग उपलब्ध गराउने सरकारको योजना छ।
सरकारले ‘सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८३’ अनुसार अनुदान कार्यक्रम कार्यान्वयन गर्न लागेको हो।
यस कार्यक्रममार्फत स्थानीय संस्कृति, परम्परा, सामाजिक यथार्थ तथा राष्ट्रिय पहिचान झल्काउने चलचित्र निर्माणमा सहयोग पुग्ने सरकारको अपेक्षा छ। आर्थिक अभावका कारण मौलिक विषयवस्तुमा चलचित्र निर्माण गर्न कठिनाइ भोगिरहेका सिर्जनाकर्मीलाई प्रोत्साहन गर्नुका साथै सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयलाई चलचित्रमार्फत अभिलेखीकरण र प्रवर्द्धन गर्न कार्यक्रमले सहयोग पुर्याउने लक्ष्य राखेको छ।
अनुदान वितरणको प्रक्रिया, छनोटका मापदण्ड तथा अन्य सर्त कार्यविधिअनुसार निर्धारण हुने मन्त्रालयले जनाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्