Skip to content

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

nmb bank inside

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो।

युट्युब च्यानलमा गत मार्च १३ मा सार्वजनिक भएको गीतले दर्शकमाझ लोकप्रियता कमाउँदै पाँच करोड भ्युजको आँकडा पार गरेको हो।

गीतले पाँच करोड भ्युज पार गरेपछि अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेकी छन्। उनले एउटा तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘नेपालका कतिपय ठाउँमा, जहाँ सायद मेरा फिल्महरू पुग्न सकेनन्, त्यहाँ मेरा गीतहरूले मलाई पु¥याइदिए । मेरो करियरमा गीतहरूको भूमिका एकदमै ठूलो छ ।’

स्वस्तिमाले गीतले पाएको सफलताप्रति खुसी व्यक्त गर्दै आफ्नो करियरमा गीतहरूको महत्त्वबारे उल्लेख गरेकी हुन्।

फिल्म ‘लालीबजार’को यस गीतमा स्वस्तिमा खड्का र समाइरा थापालगायत कलाकारको आकर्षक प्रस्तुति छ। खेम सेन्चुरी र दीपिका बयम्बु मगरको स्वर रहेको गीतमा रमेश बीजीको शब्द तथा खेम सेन्चुरीकै संगीत छ। गीतको नृत्य निर्देशन प्रदीप लामाले गरेका हुन्।

युट्युबमा लोकप्रिय बनेको गीतले टिकटक र इन्स्टाग्राम रिल्समा समेत दर्शकको ध्यान खिचेको छ। गीतका अंशमा आधारित छोटा भिडियोहरू सामाजिक सञ्जालमा लोकप्रिय बनेसँगै यसको चर्चा थप बढेको छ।

गत वैशाख २५ गते नेपालमा प्रदर्शन भएको फिल्म ‘लालीबजार’ले सफलतापूर्वक ५१औँ दिन मनाएको थियो। दसैँको अवसर पारेर फिल्म ओटीटी प्लेटफर्म डिगोमा पनि सार्वजनिक गरिएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्त्व प्रस्तुत गरिएको फिल्मले ओटीटीमा रिलिज भएपछि विदेशमा रहेका नेपाली दर्शकबाट समेत प्रतिक्रिया पाइरहेको छ।

फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी र कुन्टललगायत कलाकारको अभिनय छ। यही फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनयमा डेब्यु गरेका छन्।

यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्मको पटकथा तथा संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्। फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्