Skip to content

अब बेलायतमा पढ्ने विद्यार्थीले जीवनयापन खर्च धेरै देखाउनुपर्ने !

nmb bank inside

काठमाडौं । बेलायतमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीले अब भिसा आवेदन दिँदा जीवनयापन खर्चका लागि पहिलेभन्दा बढी रकम देखाउनुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी नोभेम्बर ३० देखि विद्यार्थी भिसाका लागि आवश्यक आर्थिक मापदण्ड बढाउने भएको हो ।

नयाँ व्यवस्थाअनुसार लन्डनमा अध्ययन गर्ने विद्यार्थीले प्रतिमहिना १ हजार ५७० पाउन्ड र लन्डनबाहिर अध्ययन गर्नेले १ हजार २०३ पाउन्ड खर्च धान्न सक्ने प्रमाण देखाउनुपर्नेछ । नौ महिनाको कोर्सका लागि लन्डनमा १४ हजार १३० पाउन्ड र लन्डनबाहिर १० हजार ८२७ पाउन्ड आवश्यक पर्नेछ । यो रकम विश्वविद्यालयको शुल्कबाहेक हो ।

बेलायतमा सन् २०२४–२५ मा ६ लाख ८५ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत थिए । नेपाल बेलायतमा विद्यार्थी पठाउने पाँचौँ ठूलो मुलुक बनेको छ । सन् २०२५ को डिसेम्बरसम्मको एक वर्षमा १९ हजार ५५३ नेपाली विद्यार्थीले बेलायतको अध्ययन भिसा पाएका थिए ।

तर, बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि जीवनयापन सहज छैन । बढ्दो महँगी, रोजगारीको अभाव र पढाइको चापले उनीहरू आर्थिक समस्यामा परिरहेका छन् ।

रोह्याम्पटन विश्वविद्यालयमा स्नातक तह अध्ययनरत सृष्टि बोहोराका अनुसार बेलायतमा काम पाउन कठिन छ । सातामा २० घण्टा काम गर्दा पनि खान र कोठाभाडा तिर्न पर्याप्त आम्दानी नहुने उनको अनुभव छ । विश्वविद्यालयको शुल्कसमेत नेपालमा ऋण खोजेर तिर्नुपरेको उनले बताइन् ।

जीवनयापन खर्चको मापदण्ड बढेसँगै बेलायतमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीले भिसा आवेदनअघि नै थप आर्थिक तयारी गर्नुपर्ने देखिएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्