सुर्खेत । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदीबन्दी सुरुङ खनेर फरार भएका छन्। कारागारभित्र सुरुङ खनेर उनीहरू शुक्रबार राति फरार भएका हुन्। शनिबार बिहान कैदीबन्दीको गणना गर्ने क्रममा आठ जना कम भएपछि घटना सार्वजनिक भएको हो।
भेरी नदीको किनारमा रहेको जिल्ला कारागारबाट कैदीबन्दीले करिब चार मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेर बाहिर निस्किएको पाइएको छ। कारागारबाट बाहिरिएपछि भेरी नदी पार गर्न पुलसमेत रहेकाले उनीहरू पुल तरेर फरार भएको बताइएको छ।
डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार कारागारमा रहेका १७ जनामध्ये आठ जना फरार भएका हुन्। फरार हुनेमा छ जना कैद सजाय भोगिरहेका र दुई जना पुर्पक्षका लागि थुनामा रहेका कैदीबन्दी छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीसहितको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ। कैदीबन्दी कुन समयमा फरार भए भन्ने यकिन हुन सकेको छैन। घटनाबारे कारागारको सीसीटीभी फुटेज जाँच भइरहेको छ।
चार जिल्लाका कैदीबन्दी फरार
फरार हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाया, त्रिपुरासुन्दरी नगरपालिका–४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक रहेका छन्।
त्यस्तै, चोरी मुद्दामा कैद भुक्तान गरिरहेका जाजरकोटको नलगाड नगरपालिका–९ का कैलाश भन्ने कपिल परियार पनि फरार भएका छन्। चोरी मुद्दामै पुर्पक्षका लागि थुनामा रहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारीसमेत फरार भएको प्रहरीले जनाएको छ ।
फरार हुनेमध्ये राम विक, कालिप्रसाद रोकाया, धनबहादुर बुढा, रेशम राना र यज्ञ विक जबरजस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका थिए । कपिल परियार चोरी मुद्दामा कैद भुक्तान गरिरहेका थिए भने तिलक र आदेश भण्डारी चोरी मुद्दामै पुर्पक्षका लागि थुनामा थिए।
सुरक्षा व्यवस्थामाथि प्रश्न
कारागारभित्रै सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएपछि सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। लामो सुरुङ खन्ने क्रममा प्रयोग गरिएका सामग्री कहाँबाट ल्याइयो, सुरुङ खन्ने गतिविधि सुरक्षाकर्मीले किन थाहा पाएनन् र कैदीबन्दी कसरी बाहिरिन सफल भए भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
प्रहरीले फरार कैदीबन्दीको खोजी सुरु गरेको छ। उनीहरू कुन दिशातर्फ गए र कहाँ पुगे भन्नेबारे यकिन जानकारी प्राप्त भइसकेको छैन। घटनाको थप विवरण सीसीटीभी फुटेज र स्थलगत अनुसन्धानपछि खुल्ने जिल्ला प्रशासनले जनाएको छ।
एकै पटक कारागारमा रहेका १७ जनामध्ये आठ जना फरार हुनुले डोल्पा कारागारको सुरक्षा निगरानी र व्यवस्थापनमा गम्भीर चुनौती देखाएको छ।


Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्