Skip to content

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलको ट्रफी सार्वजनिक

nmb bank inside

काठमाडौं । दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ को ट्रफी सार्वजनिक गरिएको छ । 

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा सोमबारदेखि बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा सुरु हुने प्रतियोगिताअघि बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले ट्रफी सार्वजनिक गरिन् । 

ट्रफी सार्वजनिक गर्दै उपप्रमुख अर्यालले अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको माध्याबाट बुटवललाई खेलकुद पर्यटनको रुपमा चिनाउन सहयोग पुग्ने बताइन् । 

कार्यक्रममा मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले जननेता मदन भण्डारीको नाममा आयोजना गरिन लागिएको यस प्रतियोगितामा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको उच्च स्तरको प्रदर्शन रहने बताए । प्रतियोगिताको उद्घाटन दिउँसो ३ः०० बजे पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् । असोज १७ गतेसम्म चल्ने प्रतियोगितामा स्वदेशी र विदेशका गरी आठ टोलीको सहभागिता रहने छ । 

प्रतियोगितामा नेपालबाट विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपीएप क्लब, मणिमुकुन्द भलिबल क्लब, सभापोखरी भलिबल क्लब र गल्कोट भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । यस्तै विदेशी टोलीमा भारतका गुजराज स्टेट भलिबल एसोसियसन र खैरा क्लब पन्चाब तथा श्रीलंकन पुलिस टिम रहेको छ । 

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह चरणबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल विजेताबीच उपाधि भिडन्त हुनेछ । 

प्रतियोगिताको विजेता टोलीलाई रनिङ्ग शिल्डसहित सात लाख रुपैयाँ, उपविजेतालाई तीन लाख ५० हजार रुपैयाँ, तेस्रो हुनेलाई एक लाख ७५ हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार स्वरुप ७५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, ब्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही आठ हजार नगदसहित सम्मान गरिनेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष आचार्यले बताए । प्रतियोगितामा सहभागि आठ वटै टोली बुटवल आईपुगिसकेको पनि आयोजकले जनाएको छ । 

ट्रफी सार्वजनिक कार्यक्रममा नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाह, मदन भण्डारी स्पोट्र्स एकेडेमीका उपाध्यक्ष मोहन रेग्मी, गणेश ठगुन्नालगात पदाधिकारीको उपस्थिति रहेको थियो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्