काठमाडौं । महानगर प्रहरीसँगको विवाद पछि काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीका दाइ मदन नेपालीले सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगर्दा समस्या भएको गुनासो गरेका छन् ।
बुधबार गृहमन्त्री सुदन गुरुङसँग भेटका लागि सिंहदरबार पुगेका मदनले सञ्चारकर्मीसँग कुरा गर्दै सम्झौता कार्यान्वयनका लागि आफू पटकपटक सिंहदरबार धाउनुपरेको बताए ।
उनले भने, ‘भाईले प्राण त्याग गरेको तीन महिना भइसक्यो । हाम्रो सम्झौता जुन थियो, त्यो सम्झौता कार्यान्वयन अझै पनि भएको छैन । त्यो चाँडो होस् भनेर म सिंहदरबार धाइरहेको छु ।’
उनका अनुसार गणेशको आत्मदाहपछि सरकारले सत्यतथ्य छानबिन गरी प्रतिवेदन तयार पार्ने र गणेशलाई आत्मदाह गर्न बाध्य बनाउनेमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएको थियो । त्यससँगै गणेशकी श्रीमतीलाई रोजगारी, छोरीलाई उच्च शिक्षा तथा परिवारका सदस्यको स्वास्थ्य उपचारलगायतका मागमा पनि सहमति भएको उनले बताए ।
‘सबैभन्दा पहिला त सत्य तथ्य छानबीन रिपोर्ट तयार पारेर भाइलाई मर्नसम्म बाध्य बनाउनेलाई कारबाही गर्नेछ भनिएको थियो । बुहारीको रोजगार, छोरीलाई उच्च शिक्षा दिने, परिवारको सदस्यलाई स्वास्थ्य उपचार लगायत माग थियो । तर केही भएको छैन,’ उनले भने । सरकारले गरेको सम्झौतामध्ये पोस्टमार्टम गरेर अन्त्येष्टि गर्ने माग मात्र पूरा भएको उनको भनाइ छ । ‘एउटा पोस्टमार्टम गरेर अन्त्येष्टि गरिने भनेको माग मात्र पूरा भयो,’ उनले भने ।
गणेशको आत्मदाहपछि परिवारका सदस्यहरू मानसिक रूपमा समेत समस्यामा परेको उनले बताए । उनका बुबा घटनापछि राति उठेर हिँड्ने गरेको र बुहारी पनि डिप्रेसनको सिकार बनेको उनले बताए ।
‘बुबा पनि त्यो घटनापछि मानसिक समस्याबाट गुज्रिनुभएको छ । राति–राति उठेर हिँड्नुहुन्छ । हामी ४–५ भाइ छोरा थियौँ, अहिले म एकजना मात्र बचेँ । त्यही भएर यस्तो समस्या आयो । बुहारी पनि डिप्रेसनमा गएकी छिन्। म एकजना पनि सिंहदरबार धाउँदा–धाउँदा डिप्रेसन होला जस्तो भइसक्यो,’उनले भने।
सरकारले सम्झौता कार्यान्वयन नगरे आफूहरूको अवस्था थप गम्भीर बन्ने उनको भनाइ छ । उनले गरिब तथा विपन्न परिवारसँग पीडाबाट बाहिर निस्कने पर्याप्त विकल्प नभएको भन्दै सरकारसँग आफूहरूको माग तत्काल पूरा गर्न आग्रह गरे ।
‘गरिबले मर्ने बाटो रोज्ने विकल्प छैन, हाम्रो भाइले त्यही रोज्यो, हामीले रोज्ने त्यही हो । बुबा, ममी, म, बुहारीसहित सरकारको नाम गरेर मर्नुको विकल्प छैन,’ उनले भने । मदनले आफूहरूलाई आश्वासनभन्दा सम्झौता कार्यान्वयन आवश्यक रहेको भन्दै सरकारलाई तत्काल निर्णय गरेर परिवारको माग सम्बोधन गर्न आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्