Skip to content

नेपाली श्रमिकलाई रोजगारीका लागि मलेसियामा जाने बाटो बन्द !

nmb bank inside

काठमाडौं । नेपाली श्रमिकको प्रमुख गन्तव्य मलेसियामा वैदेशिक रोजगारीका लागि जाने बाटो तत्कालका लागि बन्द भएको छ । नेपाल र मलेसिया सरकारबीच श्रमिक पठाउने म्यानपावर कम्पनी छनोटको विषयमा सहमति जुट्न नसक्दा नयाँ श्रमिकको स्वास्थ्य परीक्षणदेखि भिसा जारी गर्ने प्रक्रियासम्म प्रभावित भएको हो ।

मलेसियाले गत असोज १५ गतेदेखि नेपालबाट जाने नयाँ श्रमिकको बायोमेडिकल अर्थात् स्वास्थ्य परीक्षण प्रक्रिया रोकेको छ । स्वास्थ्य परीक्षणको रिपोर्टबिना मलेसियाको नयाँ भिसा (कलिङ भिसा) जारी नहुने भएकाले रोजगारीका लागि जाने तयारीमा रहेका नेपाली श्रमिक प्रभावित भएका छन् ।

मलेसियाको ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लूसीएमएस) अन्तर्गत सूचीकृत नेपालका ३६ स्वास्थ्य परीक्षण संस्थाले रिपोर्ट जारी गरेपछि मात्रै श्रमिकका लागि भिसा प्रक्रिया अघि बढ्छ । तर, उक्त प्रणाली सञ्चालनको जिम्मेवारी पाएको वेस्टिनेट एसडीएन कम्पनीले मलेसियाबाट मान्यताप्राप्त नेपाली म्यानपावर कम्पनीमार्फत बायोमेडिकल दर्ता भएपछि मात्रै स्वास्थ्य परीक्षण गर्न सकिने जनाएको छ ।

मलेसियाले गत भदौमा नेपालका २५ म्यानपावर कम्पनीलाई प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सीका रूपमा सूचीकृत गरेको थियो । ती कम्पनीअन्तर्गत २५० सहायक रिक्रुटमेन्ट एजेन्सीसमेत छनोट गरिएको छ । तर, नेपाल सरकारले उक्त सूचीलाई स्वीकृति दिएको छैन ।

युवा तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनी छनोटको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आएको छ । यही विवादका कारण दुई देशबीच श्रमिक पठाउने विषयमा सहमति हुन नसकेको हो ।

विवाद समाधानका लागि नेपालले संयुक्त कार्यदलको बैठक प्रस्ताव गरेको छ । मन्त्रालयले आगामी नोभेम्बर १८–१९ वा डिसेम्बर २–३ मध्ये कुनै एक मितिमा बैठक बस्न प्रस्ताव गरेको हो । मलेसियाली पक्षको अनुकूलताअनुसार बैठकको मिति तय गरिने नेपाल सरकारले जनाएको छ ।

दुई देशबीचको विवाद समाधान भएर श्रमिक पठाउने प्रक्रिया पुनः सुरु नभएसम्म मलेसियाको रोजगारीमा जान चाहने नयाँ नेपाली श्रमिकले थप प्रतीक्षा गर्नुपर्ने देखिएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्