काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बीजक उपलब्ध गराउनुपर्ने नेपाल आयल निगमको निर्देशनको स्वागत गरेको छ। महासंघले बुधबार विज्ञप्ति जारी गर्दै यस निर्णयले ग्यासको कारोबारलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन सहयोग पुग्ने भन्दै उक्त कदम अत्यन्तै स्वागतयोग्य रहेको जनाएको हो ।
नेपाल आयल निगमको एलपी ग्यास तथा एभिएसन विभागले गत कात्तिक ९ गते सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा बिल उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो। ग्यास बिक्रेताले उपभोक्तालाई ग्यास बिक्री गरेपछि बिल नदिने गरेको गुनासो बढ्दै गएपछि निगमले यस्तो निर्देशन दिएको हो।
महासंघले ग्यासको कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन भ्याट बिल वा बीजक जारी गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको जनाएको छ। यसले कारोबारमा पारदर्शिता कायम गर्नुका साथै ग्यास बिक्री वितरण प्रक्रियालाई थप व्यवस्थित बनाउन मद्दत पुग्ने महासंघको विश्वास छ।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले सबै ग्यास व्यवसायीलाई निगमको निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन्। उनले उपभोक्तालाई पनि ग्यास खरिद गर्दा बिक्रेतासँग अनिवार्य रूपमा बिल माग्न र बिल लिने बानी बसाल्न अनुरोध गरेका छन्।


प्रतिक्रिया दिनुहोस्