Skip to content

‘अर्नव’ चक्रवातको जोखिममा कृषि र पर्यटन, सतर्कता अपनाउन आग्रह

nmb bank inside

‘अर्नव’ चक्रवातको जोखिममा कृषि र पर्यटन, सतर्कता अपनाउन आग्रह

मनिषा बस्नेत/नेपाल न्यूज बैंक

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नव’को प्रभाव बिहीबार बेलुकादेखि शनिबारसम्म नेपालमा देखिन सक्ने भन्दै कृषि तथा पर्यटन क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

चक्रवातको प्रभावले देशका विभिन्न स्थानमा वर्षा, हावाहुरी र मेघगर्जनसहित चट्याङ पर्ने तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले पाकेको धान र पशुपन्छीको सुरक्षामा ध्यान दिन विज्ञहरूले सुझाएका छन् ।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् तथा प्रवक्ता विभूति पोखरेलका अनुसार चक्रवातको मार्ग र गति अझै निश्चित भइसकेको छैन । यसको प्रभावले मध्य र पूर्वी नेपालका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने उनले बताइन् । मध्य र पूर्वी तराईमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ भने सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रमा शुक्रबार बेलुका र शनिबार असिनासमेत पर्न सक्ने उनको भनाइ छ ।

‘भोलि बेलुकादेखि प्रभाव पर्ने देखिन्छ । वर्षा गराउने सम्भावना छ र यसको प्रभाव शनिबारसम्म रहन सक्छ । अहिले पनि प्रणाली कता सर्छ भन्ने अनिश्चित छ । हामीले अन्तिम समयसम्म अवस्था निगरानी गरेर अद्यावधिक गरिरहेका हुन्छौँ,‘ पोखरेलले नेपाल न्यूज बैंकसँग भनिन् ।

उनका अनुसार लामो समय वर्षा नभएका स्थानमा एकैपटक वर्षा हुँदा पहिरोको जोखिम बढ्न सक्छ । त्यसैले पहिरोको जोखिम भएका सडक तथा क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउनुपर्ने उनले बताइन् । उच्च हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको सम्भावना रहेकाले पदयात्रा तथा अन्य पर्यटकीय गतिविधिमा पनि सतर्कता आवश्यक रहेको उनको भनाइ छ ।

‘विशेषगरी पर्यटन र कृषि क्षेत्रमा सतर्कता अपनाउनुपर्ने देखिन्छ । धान काट्ने बेला भएकाले कृषि क्षेत्रमा ध्यान दिनुपर्छ । उच्च हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको सम्भावना पनि रहन्छ,‘ पोखरेलले भनिन् ।

यस्तै, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कृषि मौसमविद् रामेश्वर रिमालले चक्रवातको सम्भावित प्रभावबाट कृषि क्षेत्रमा हुन सक्ने क्षति कम गर्न किसानलाई पूर्वतयारी गर्न आग्रह गरेका छन् । उनका अनुसार फलफूल, तरकारी, धान र उखु लगाइएका खेतबारीमा पानी जम्न नदिन निकासको व्यवस्था मिलाउनुपर्छ ।

पाकिसकेको धान काट्न मिल्ने अवस्था भएमा उपलब्ध मेसिन तथा अन्य साधन प्रयोग गरी काट्ने र सुरक्षित रूपमा भित्र्याउने व्यवस्था मिलाउन उनले सुझाएका छन् । तर, मौसमको अवस्था हेरेर काम गर्नुपर्ने उनको भनाइ छ ।

‘पाकेको धान छ र नजिकै कस्टम हायरिङ सेन्टरबाट मेसिन पाइन्छ भने आजै काटेर भित्र्याउन सकिन्छ । भोलिदेखि भने धान नकाट्दा नै राम्रो हुन्छ,‘ रिमालले भने । उनका अनुसार तराई क्षेत्रमा हावाहुरीका कारण पाकेको धान ढल्ने जोखिम छ । धान ढलेमा लामो समय खेतमै छाड्न नहुने र पानीमा डुबेको बाली मौसममा सुधार आएपछि सकेसम्म चाँडो उठाएर सुकाउनुपर्ने उनले बताए । काटिसकेको धान भिजेमा आलीकान्ला वा बाँसका भाटाको सहायताले पानी तर्काएर सुकाउन सकिने उनको सुझाव छ ।

राम्ररी नपाकेको धान ढलेको अवस्थामा सम्भव भएसम्म नजिकका बाला जम्मा गरी ठाडो हुने गरी बाँध्न उनले सुझाएका छन् । पाकेको धान पानीमा डुबेको छ भने चाँडै काटेर सुकाउने र आवश्यक परे मिलसँग समन्वय गरी चिउरा वा भुजा बनाएर बिक्री गर्ने विकल्प अपनाउन सकिने उनले बताए । धानखेत र उखुबालीमा पानी जम्न नदिन गराबीबीच नाली काट्नुपर्ने र फलफूल तथा तरकारी खेतीमा पनि पानी निकासको व्यवस्था मिलाउनुपर्ने रिमालले बताए ।

मल र विषादी छर्न रोक्न आग्रह

चक्रवातको प्रभाव रहने अवधिमा खेतबारीमा मल तथा विषादी छर्ने काम स्थगित गर्न पनि रिमालले आग्रह गरेका छन् । वर्षाका कारण मल तथा विषादी बगेर जाने र बालीले आवश्यक पोषण लिन नपाउने भएकाले मौसम सुधार भएपछि मात्रै प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

‘अहिले विषादी छर्ने वा मल हाल्ने काम गर्दा वर्षाले बगाएर लैजान सक्छ । त्यसैले मौसम सुधार भएपछि मात्रै यी काम गर्नु उचित हुन्छ,‘ उनले भने । पहाडी क्षेत्रमा गहुँ, तोरी र आलु लगाउने समय भए पनि मौसममा सुधार आएपछि मात्रै जग्गा तयारी गर्न उनले सुझाएका छन् । तराईका अग्ला जग्गामा छोटो अवधिको धान लगाएका किसानले आलु खेतीका लागि जग्गा तयार गर्ने काम पनि तत्काल स्थगित गर्नुपर्ने उनको भनाइ छ ।

हावाहुरीले केराका बोट ढाल्न सक्ने भएकाले टेको दिन र माछापालन गरिएका पोखरीमा बाहिरबाट धमिलो पानी तथा भल पस्न नदिन आवश्यक व्यवस्था मिलाउन उनले आग्रह गरेका छन् । ठूलो वर्षाले पोखरीको पानी बाहिर निस्कने सम्भावना भएमा माछा बग्न नदिन निकासद्वारमा उपयुक्त जाली लगाउनुपर्ने उनले बताए ।

पशुपन्छीलाई सुरक्षित राख्न सुझाव

चक्रवातका कारण उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने भएकाले चौँरी तथा भेडाबाख्रालाई खुला ठाउँमा चराउन नलैजान र अस्थायी भए पनि ओतको व्यवस्था गर्न रिमालले आग्रह गरेका छन् । अत्यधिक चिसो हुँदा पशुवस्तुलाई आवश्यकताअनुसार पानी तताएर खुवाउन सकिने उनले बताए ।

पशुपन्छीका लागि राखिएको अन्न, पराल र दाना भिज्न नदिन पनि किसानले ध्यान दिनुपर्ने उनको भनाइ छ । भिजेको पराल, ढुसी लागेको दाना र कुहिएको खानेकुरा पशुवस्तुलाई खुवाउँदा स्वास्थ्यमा असर पर्न सक्ने भएकाले त्यसबाट जोगाउन उनले सुझाएका छन् ।

रिमालका अनुसार पछिल्लो पूर्वानुमानमा चक्रवातको प्रभाव यसअघि अनुमान गरिएभन्दा केही कमजोर हुन सक्ने देखिए पनि देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना रहेकाले सतर्कता आवश्यक छ । खेतबारीमा पानी निकासको व्यवस्था मिलाउने, काटिसकेको बाली सुरक्षित राख्ने, भिजेको उत्पादन छिटो सुकाउने र पशुपन्छीलाई सुरक्षित स्थानमा राख्नेजस्ता उपाय अपनाएमा सम्भावित क्षति कम गर्न सकिने उनले बताए ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्