काठमाडौं । निषेधित क्षेत्रमा आवश्यक अनुमति नलिई पदयात्रा गराएको भन्दै अध्यागमन विभागले एक ट्राभल्स एजेन्सीसहित चार विदेशी नागरिकलाई कारबाही गरेको छ।
विभागका अनुसार डोल्पा जिल्लाको निषेधित क्षेत्र तल्लो डोल्पामा पदयात्रा अनुमति नलिई मेक्सिकोका चार जना नागरिक प्रवेश गरेको पाइएपछि कारबाही गरिएको हो।
जिल्ला प्रशासन कार्यालय, डोल्पाबाट प्राप्त पत्रका आधारमा आवश्यक छानबिन गर्दा प्रचलित कानुनको पालना नगरी विदेशी नागरिकलाई निषेधित क्षेत्रमा पदयात्रा गराउने माउन्ट रोज टुर्स एन्ड ट्राभल्स प्रालिलाई अध्यागमन ऐन, २०४९ को दफा १०(४) बमोजिम ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
त्यसैगरी, पदयात्रा अनुमति नलिई निषेधित क्षेत्रमा प्रवेश गरेका मेक्सिकोका चारै जना नागरिकलाई जनही १० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ। उनीहरूबाट पदयात्रा अनुमति लिँदा लाग्ने दस्तुरबापत प्रतिव्यक्ति २० अमेरिकी डलरसमेत असुल गरिएको विभागले जनाएको छ।
नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन पदयात्रासम्बन्धी कानुनी प्रावधान तथा अनुमति प्रणालीको पूर्ण पालना गर्नुपर्ने विभागले स्पष्ट पारेको छ।
विशेषगरी निषेधित क्षेत्रमा प्रवेश गर्दा अध्यागमन नियमावली, २०५१ को नियम ३२ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था छ।
विभागले विदेशी नागरिक, ट्रेकिङ एजेन्सी तथा सम्बन्धित सरोकारवालालाई निषेधित क्षेत्रमा पदयात्रा गराउँदा अनिवार्य रूपमा अनुमति लिन र प्रचलित कानुनी व्यवस्थाको पूर्ण पालना गर्न आग्रह गरेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्