विदेशी खेलाडीका पोस्टमा छचल्कियो नेपालको सुन्दर
पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान
प्रमिला कार्की, नेपाल न्यूज बैंक
काठमाडौँ । अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नरले नोभेम्बर ४ (कात्तिक १८) मा इन्स्टाग्राममा एउटा पोस्ट गरे। उक्त भिडियो पोस्टले लाखौँ दर्शकको ध्यान तान्यो। वार्नरले पोस्ट गरेको भिडियोमा सगरमाथाको दृश्य समेटिएको थियो।
नेपालको प्राकृतिक सुन्दरताबाट प्रभावित वार्नरले भिडियो पोस्ट गर्दै सगरमाथा आफ्नै आँखाले देख्नु अविश्वसनीय अनुभव भएको उल्लेख गरे। उनले त्यसअघि नेपालीको आतिथ्य, आत्मीयता र क्रिकेटप्रतिको प्रेमको पनि प्रशंसा गरेका थिए। वार्नर यतिबेला नेपालमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजको टोलीबाट क्रिकेट खेलिरहेका छन्।
यतिबेला चर्चामा रहेको एनपीएल क्रिकेट खेलको आयोजना र प्रवद्र्धनमा मात्र सीमित छैन, बरु नेपालको पर्यटन प्रवद्र्धनमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।
एनपीएलमा सहभागी हुन आएका वार्नरजस्तै खेलाडी, प्रशिक्षक तथा अन्य प्रयोजनका लागि नेपाल आएका विदेशीले आफ्ना सामाजिक सञ्जालमा पोस्ट गरेका नेपालसम्बन्धी सामग्रीले यहाँको पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएको छ।
सामाजिक सञ्जालमा कसैले सगरमाथाको दृश्य सार्वजनिक गरेका छन् भने कसैले नेपाली ढाका टोपी लगाएको तस्बिर पोस्ट गरेका छन्। कतिपयले नेपालीको आतिथ्य र आत्मीयताको प्रशंसा गर्दै नेपाललाई सुन्दर देशका रूपमा चित्रण गरेका छन्।
एनपीएलका सन्दर्भमा नेपाल आएका विदेशीका यस्ता पोस्टले नेपालको पर्यटन प्रवद्र्धनमा नयाँ अवसर सिर्जना गरेका छन्। उनीहरू मैदानमा क्रिकेट खेल्न आएका छन्, तर मैदानबाहिरका गतिविधि र नेपालका पर्यटकीय गन्तव्यका तस्बिर तथा भिडियोमार्फत अन्तर्राष्ट्रिय दर्शकमाझ नेपालको परिचयसमेत फैलाइरहेका छन्।
वेस्ट इन्डिजका आन्द्रे रसेलले नेपाली ढाका टोपी लगाएको तस्बिर सामाजिक सञ्जालमा राखेका थिए। उक्त तस्बिरमा हजारौँ प्रतिक्रिया आएका थिए।
त्यसैगरी, इंग्ल्यान्डका मोइन अलीले पनि नेपाल र जनकपुर बोल्ट्सलाई धन्यवाद दिँदै नेपालको सुन्दरता र नेपालीको प्रशंसा गरेका थिए। उनले इन्स्टाग्राममा लेखेका थिए, ‘नेपाललाई धन्यवाद र जनकपुर बोल्ट्सलाई पनि धन्यवाद। अद्भुत देश र अद्भुत मानिसहरू।’
त्यस्तै, भारतका पूर्वक्रिकेटर शिखर धवनले पहिलो संस्करणको एनपीएलमा कर्णाली याक्सबाट खेलेका थिए। नेपाल बसाइका क्रममा उनले हेलिकोप्टर यात्रासहितका दृश्य र नेपालीसँगको भेटघाट समेटिएको भिडियो सामाजिक सञ्जालमा राखेका थिए। उनले नेपालको प्राकृतिक सुन्दरता र नेपालीको आत्मीयताप्रति प्रशंसा गर्दै लेखेका थिए, ‘जति अग्ला हिमाल, त्यति नै न्यानो र सरल नेपालका मानिस।’
यी पोस्ट केवल खेलाडीका व्यक्तिगत भ्रमणका सम्झना मात्र होइनन्, अन्तर्राष्ट्रिय दर्शकमाझ नेपालको प्राकृतिक सुन्दरता, संस्कृति र आतिथ्य चिनाउने माध्यम पनि बनेका छन्। विश्व क्रिकेटमा परिचित खेलाडीका सामाजिक सञ्जालमा रहेका लाखौँ प्रशंसकसम्म नेपालका दृश्य पुग्नु पर्यटन प्रवद्र्धनका दृष्टिले महत्त्वपूर्ण अवसर हो।
विदेशी खेलाडीका यस्ता गतिविधिले नेपालको पर्यटन प्रवद्र्धनमा कस्तो प्रभाव पार्न सक्छ भन्ने विषयमा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया एनपीएललाई खेल पर्यटनको दृष्टिकोणबाट महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गर्छन्।
‘समग्रमा एनपीएल भनेको एउटा राष्ट्रव्यापी राष्ट्रिय खेल महोत्सव नै भयो। क्रिकेटको मात्रै नभएर समग्र खेल क्षेत्रका लागि विदेशबाट खेलाडी ल्याएर आठवटा टिम बनाएर लिगको अवधारणामा प्रतियोगिता सञ्चालन हुनु सकारात्मक कुरा हो। यसले खेल क्षेत्रसँगै खेल पर्यटनलाई पनि राम्रो प्रभाव पारेको छ,’ उनले भने।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले एनपीएल हेर्न काठमाडौँबाहिरबाट समेत दर्शक आउने गरेको बताए। दसैँलगत्तै प्रतियोगिता सुरु भएकाले चाडपर्वको समयमा घुमफिरसँगै क्रिकेट हेर्ने अवसर पनि दर्शकले पाएको उनको भनाइ छ। यसले आन्तरिक पर्यटनलाई समेत चलायमान बनाउन सहयोग गरेको उनले बताए।
अन्तर्राष्ट्रिय स्तरमा परिचित खेलाडी नेपाल आउनुले उनीहरूका प्रशंसकमाझ पनि नेपालको चर्चा हुने थपलियाको भनाइ छ। खेलाडीका सामाजिक सञ्जालमा रहेका अन्तर्राष्ट्रिय दर्शकसम्म नेपालका दृश्य पुग्नु आफैँमा पर्यटन प्रवद्र्धनको अवसर भएको उनले बताए।
‘डेभिड वार्नरले सगरमाथाको दृश्य राख्नेबित्तिकै उनका लाखौँ प्रशंसकले त्यो हेरे। उनीहरूले नेपालको सुन्दरता देखे। यसरी हामीलाई थोरै खर्चमा ठूलो प्रचार हुन्छ, ठूलो प्रभाव पर्ने प्रवद्र्धन हुन्छ,’ उनले भने।
थपलियाका अनुसार एनपीएलले नेपालमा अन्तर्राष्ट्रिय स्तरका खेल प्रतियोगिता आयोजना गर्न सक्ने क्षमता पनि देखाएको छ। यसले नेपाललाई खेल पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुर्याउनेछ। नेपालको प्राकृतिक सुन्दरता र खेल आयोजना गर्ने क्षमतालाई सँगसँगै जोडेर अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्न सकिने उनको भनाइ छ।
एनपीएलका खेलाडी काठमाडौँ उपत्यकाभित्रका पर्यटकीय क्षेत्र घुम्नेदेखि बिदाको समयमा पोखरा र चितवनजस्ता गन्तव्यमा पुग्ने गरेका छन्। उनीहरूले घुमफिरका क्रममा खिचेका तस्बिर र भिडियो सामाजिक सञ्जालमा राख्दा ती गन्तव्यको परिचय पनि अन्तर्राष्ट्रिय दर्शकमाझ पुग्ने गरेको छ।
यसरी क्रिकेट प्रतियोगिता आयोजना गर्नु खेल क्षेत्रको विकाससँगै नेपालको पर्यटन प्रवद्र्धनको माध्यम पनि बन्न सक्छ। विदेशी खेलाडीको लोकप्रियता, उनीहरूको सामाजिक सञ्जालमा रहेको ठूलो दर्शक समूह र नेपालका प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई जोड्न सके एनपीएल नेपालको पर्यटन चिनाउने प्रभावकारी माध्यम बन्न सक्ने देखिन्छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्