मनिषा बस्नेत, नेपाल न्यूज बैंक
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भेटिएका राकेश परियारको अनुहारमा खुसी देखिएको थिएन । यद्यपी, उनमा विदेश जाने उत्साह भने थियो ।
रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) गइरहेका परियार भाइटिकाको पूर्वसन्ध्यामा विदेश जाने बाध्यताका कारण दुःखी देखिन्थे । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले तिहारको दिन विदेशिनुपर्दा दुःख लागेको बताउँदै पढाइ सकिएपछि रोजगारीको लागि विदेश जाने निर्णय गरेको बताए ।
‘दुःख लागेको छ, तिहारको दिन जान परेको छ । पढाइ सकिएपछि अब जाउँ जस्तो लागेर जान लागेको छु,’ उनले भने ।
रोजगारीका लागि विदेश जानेमा परियार मात्र छैनन् परियार जस्ता नेपालीको लर्को नै लागेको छ । नेपालीको महान् चाड तिहारको तेस्रो दिन पनि विदेशिने नेपालीहरूको लर्को रोकिएको देखिएन । विमानस्थलमा देखिएको त्यही लर्कोको एक पात्र हुन् परियार ।
वैदेशिक रोजगारी तथा उच्च शिक्षाका लागि सोमबारसमेत विदेशिनेहरूको चहलपहलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य भावुक बनेको थियो ।
चाडपर्वको समयमा परिवार र आफन्तसँग रमाइलो गर्दै तिहार मनाउने रहर हुँदाहुँदै पनि रोजगारी र अध्ययनका लागि विदेशिनुपर्ने धेरै नेपालीको बाध्यता छ ।
तिहारको उल्लासमय समयमा विमानस्थलमा देखिएका यस्ता दृश्यले परदेशिने नेपाली र उनीहरूका परिवारको भावनात्मक अवस्थालाई झल्काएको छ ।
विमानस्थल प्रशासनका अनुसार चाडपर्वका बेलामा विदेशिने नेपालीको संख्यामा थोरै कमी आएको जस्तो देखिए पनि बन्द नै भएको छैन । यस चाडपर्वको बेलामा पनि अध्ययन रोजगारी र अन्य व्यक्तिगत प्रयोजनका लागि नेपालीहरु विदेश गइरहेका छन् ।
तस्विर, भिडियो : दामोदर सापकोटा, नेपाल न्यूज बैंक








Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्