Skip to content

क्यानबेरामा देउसी–भैलोको रौनक

nmb bank inside

अस्ट्रेलिया । परदेशको भूमिमा नेपाली लोकसंस्कृतिको मिठास, देउसी–भैलोको गुञ्जन र सामुदायिक एकताको उत्साह एकसाथ देखिएको छ।

नेपालीहरूको महान् चाड तिहारको अवसरमा अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाली समुदायले परम्परागत देउसी–भैलोमार्फत संस्कृति संरक्षणसँगै सामाजिक सद्भाव र सहयोगको सन्देश फैलाएको छ।

क्यानबेरास्थित नेपाली राजदूतावासमा चार दशक पुरानो नेपाली संस्था अष्ट्रेलिया नेपाल फ्रेण्डशिप सोसाइटी (ए एन् एफ् एस) को आयोजनामा देउसी–भैलो कार्यक्रम सम्पन्न भएको हो। नेपाली मौलिक कला, संस्कृति, परम्परा र सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपाली समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा परम्परागत देउसी–भैलो गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुतिमार्फत नेपाली चाडपर्वको मौलिकता र सांस्कृतिक पहिचान झल्काइएको थियो।

दूतावासमा आयोजित कार्यक्रमसँगै ए एन् एफ् एस् को टोलीले क्यानबेराका विभिन्न स्थानमा पुगेर पनि देउसी–भैलो खेलेको थियो। यस क्रममा समुदायका सदस्य तथा शुभेच्छुकहरूबाट १० हजार २९७ अस्ट्रेलियन डलर संकलन भएको संस्थाले जनाएको छ।

कार्यक्रममा कार्यबाहक राजदूत तारा गौतमले देउसेहरूलाई स्वागत गर्दै उपहार प्रदान गर्नुभएको थियो। देउसीमा सहभागी कलाकार यज्ञ अधिकारीले परम्परागत रूपमा देउसी भट्याउने क्रममा सामाजिक गुनासा, समसामयिक विषय र सुधारका सुझावहरूलाई समेत सिर्जनात्मक शैलीमा गीत तथा लयमार्फत प्रस्तुत गरिएको बताए ।

यसैगरी, क्यानबेरासँगै रहेको क्विनबियनमा पनि क्विनवियन नेपाली समुदायले सामूहिक रूपमा देउसी–भैलो खेलेको थियो। त्यहाँ संकलित रकम नेपाली भाषा विद्यालयको सञ्चालन तथा प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले जुटाइएको हो।

विदेशमा हुर्किरहेका नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र परम्परासँग जोडिराख्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास समुदायले लिएको छ।

प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिँदै आएका नेपाली समुदायका यस्ता गतिविधिले सांस्कृतिक पहिचान जोगाउनुका साथै आपसी सद्भाव, एकता र सामाजिक उत्तरदायित्वलाई समेत बलियो बनाउँदै लगेका छन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्