Skip to content

राष्ट्रिय संवत्‌को मान्यता पाए पनि ओझेलमा नेपाल संवत्, पाठ्यक्रमदेखि नोटसम्म प्रयोग गर्न माग

nmb bank inside

राष्ट्रिय संवत्‌को मान्यता पाए पनि ओझेलमा नेपाल संवत्, पाठ्यक्रमदेखि नोटसम्म प्रयोग गर्न माग

काठमाडौं । नेपाल संवत्‌ले राष्ट्रिय संवत्‌को मान्यता पाइसकेको भए पनि यसको व्यावहारिक प्रयोग र प्रवद्र्धनमा राज्यले पर्याप्त ध्यान दिन नसकेको राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले जनाएको छ । नेपाल संवत्‌को ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्त्वबारे आम नागरिकलाई जानकारी गराउन तथा यसको प्रयोग विस्तार गर्न सरकारले विशेष नीति बनाएर कार्यान्वयन गर्नुपर्ने प्रतिष्ठानको माग छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले नेपाल संवत् कुनै एउटा समुदायको मात्र नभई सम्पूर्ण नेपालीको साझा सम्पत्ति भएको बताए । उनले नेपाल संवत्को महत्त्व र यसको ऐतिहासिक योगदानबारे नयाँ पुस्तालाई जानकारी गराउन विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा पर्याप्त विषयवस्तु समावेश गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा अध्यक्ष श्रेष्ठले नेपाल संवत् पनि इस्वी संवत् र विक्रम संवत्जस्तै समय गणना गर्ने पात्रो भएको उल्लेख गर्दै नेपालको मौलिक पहिचान बोकेको संवत्का रूपमा यसको विशेष महत्त्व रहेको बताए ।

‘नेपाल संवत् भनेको जसरी हामी इस्वी संवत् भन्छौँ, त्यो पनि एउटा संवत् हो भनेर बुझ्नुपर्छ । हाम्रो जीवनमा दिन, रात, हप्ता, महिना र वर्षको जति महत्त्व छ, त्यसैगरी पात्रोको पनि महत्त्व हुन्छ । हामीले वर्षको पात्रो पल्टाउँदा इस्वी संवत्, विक्रम संवत्, नेपाल संवत् अथवा शक संवतमध्ये कुन प्रयोग गर्ने भन्ने कुरा हो । त्यसैले नेपाल संवत् नेपालको लागि धेरै महत्त्वपूर्ण र विशेषता बोकेको संवत् हो,’ उनले भने ।

उनका अनुसार नेपाल संवत् ११४७ वर्षदेखि निरन्तर प्रचलनमा रहेको नेपालको पुरानो संवत् हो । इतिहासमा विभिन्न संवत्हरूको विकास र प्रयोग भए पनि तीमध्ये कतिपय समयक्रममा लोप हुँदै गए । तर नेपाल संवत् भने लामो समयदेखि निरन्तर चलिरहेको उनले बताए ।

नेपाल संवत्‌को सुरुवात राष्ट्रिय विभूति शंखधर साख्वाले जनताको ऋणमोचन गरी उनीहरूलाई दासत्वबाट मुक्त गराएको ऐतिहासिक घटनासँग जोडिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । इतिहासकार स्वर्गीय भुवनलाल प्रधानको अनुसन्धान तथा ऐतिहासिक दस्तावेजका आधारमा शंखधर साख्वाले नेपाल संवत् सुरु गरेको उल्लेख गरिएको उनले बताए ।

त्यतिबेला नेपाली जनता ऋणमा डुबेका कारण जीवनयापन गर्नसमेत कठिन अवस्थामा थिए । ऋण तिर्न नसक्दा उनीहरू दासत्वको अवस्थामा रहन बाध्य भएको इतिहासमा उल्लेख रहेको श्रेष्ठले बताए । त्यस्तो अवस्थामा शंखधर साख्वाले आफ्नो धनसम्पत्ति खर्च गरेर सर्वसाधारणको ऋणमोचन गराएको र त्यसैको सम्झनामा नेपाल संवत् सुरु भएको उनको भनाइ छ ।

‘यो संवत् मानवीय कल्याणको भावनाबाट सुरु भएको हो । मानिसलाई ऋणबाट मुक्त गर्ने, दासत्वबाट स्वतन्त्र बनाउने र एक मानिसले अर्को मानिसलाई सहयोग गर्नुपर्छ भन्ने सामाजिक भावनाको विकास यससँग जोडिएको छ,’ उनले भने ।

अध्यक्ष श्रेष्ठका अनुसार नेपाल संवत् सुरु भएको १० वर्षपछि ऋणमोचनसँग सम्बन्धित कागजात च्यातेर ऋणमुक्तिको घोषणा गरिएको प्रसंग पनि इतिहासमा उल्लेख छ । नेपाल संवत्को सुरुवातलाई केवल समय गणनाको नयाँ व्यवस्था मात्र नभई सामाजिक न्याय र मानवीय कल्याणसँग जोडिएको ऐतिहासिक घटनाका रूपमा बुझ्नुपर्ने उनले बताए ।

उनले नेपाल संवत्‌को अर्को विशिष्ट पक्ष यसको नामकरण रहेको बताए । विश्वका विभिन्न मुलुकमा कुनै व्यक्तिले आफ्नो योगदानको सम्झनामा आफ्नै नामबाट संवत् सुरु गर्ने परम्परा रहे पनि शंखधर साख्वाले आफ्नो नाम नराखी मातृभूमि नेपालको नामबाट संवत् सुरु गरेको उनको भनाइ छ ।

नेपाल संवत्‌को प्रयोग लिच्छविकालदेखि हुँदै आएको र मल्लकालमा यसको व्यापकता बढेको अध्यक्ष श्रेष्ठले बताए । समयक्रममा यो सामाजिक तथा सांस्कृतिक उत्सवका रूपमा पनि विकसित भएको उनको भनाइ छ । अहिले नेपाल संवत्लाई ऋणमोचनको ऐतिहासिक स्मरण, सामाजिक एकता, राष्ट्रिय भावना र सांस्कृतिक उत्सवका रूपमा मनाउने गरिएको उनले बताए ।

तर पछिल्लो समय नेपाल संवत्‌को प्रयोग र जानकारी पुस्तान्तरण हुन नसक्दा यसको महत्त्व ओझेलमा परेको श्रेष्ठको भनाइ छ । चन्द्रशमशेरको शासनकालमा नेपाल संवत्को प्रचलन हटाएर विक्रम संवत् सुरु गरिएपछि यसको प्रयोग क्रमशः घट्दै गएको उनले बताए ।

‘जब मानिसलाई आफूसँग भएको वस्तुबारे नै थाहा हुँदैन, त्यसको महत्त्व पनि बुझ्दैन । हामीले विद्यालयमा जे पढाउँछौँ, विद्यार्थीले त्यही सिक्छन् । विद्यालयमा जनवरी, फेब्रुअरी, मार्च र वैशाख, जेठ, असार पढाइन्छ तर नेपाल संवत्का विषयमा पर्याप्त जानकारी दिइँदैन,’ उनले भने ।

नेपाल संवत्‌को तिथि, साल, स्थापना, राष्ट्रियता र सामाजिक महत्त्वबारे विद्यालय तहदेखि नै पठनपाठन हुनुपर्ने उनको माग छ । यसलाई पाठ्यक्रममा व्यवस्थित रूपमा समावेश गर्नु राज्यको दायित्व भएको उनले बताए ।

नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन र यसको प्रयोग विस्तार गर्न करिब ४७ वर्षअघि संगठित आन्दोलन सुरु भएको श्रेष्ठले जानकारी दिए । आन्दोलनको नेतृत्व नेवार समुदायका अगुवाले गरे पनि यसको उद्देश्य सम्पूर्ण नेपालीको साझा संवत्का रूपमा स्थापित गर्नु रहेको उनले बताए ।

आन्दोलनका क्रममा पद्मरत्न तुलाधरलगायतका अगुवाले नेपाल संवत् नेवार समुदायको मात्र नभई सबै जातजाति र नेपालीको साझा संवत् भएको विषय निरन्तर उठाएको उनले स्मरण गरे । तर आन्दोलनको नेतृत्व नेवार समुदायले गरेकाले नेपाल संवत् नेवार समुदायको मात्र हो भन्ने बुझाइसमेत समाजमा विकास भएको उनको भनाइ छ ।

२०४६ सालको जनआन्दोलनपछि नेपाल संवत्को ऐतिहासिक महत्त्व र सामाजिक योगदानबारे थप चर्चा हुन थालेको श्रेष्ठले बताए । त्यसपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको, उहाँको नाममा हुलाक टिकट प्रकाशन गरेको र नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मान्यता दिएको उनले जानकारी दिए ।

उनका अनुसार करिब तीन वर्षअघि मन्त्रिपरिषद्ले विक्रम संवत् प्रयोग गरिने सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको थियो । अहिले मन्त्रालय, विभाग, सरकारी कार्यालय, नगरपालिका तथा गाउँपालिकाबाट हुने पत्राचारमा नेपाल संवत् उल्लेख हुन थालेको उनले बताए ।

यद्यपि सरकारी निर्णय कार्यान्वयनमा आए पनि नेपाल संवत्को प्रयोगलाई अझ व्यापक बनाउनुपर्ने उनको भनाइ छ । यसका लागि प्रतिष्ठानले विभिन्न प्रविधिगत पहलसमेत गरेको छ ।

प्रतिष्ठानले स्पाइरल इन्टरनेसनलको सहयोगमा नेपाल संवत् एप निर्माण गरेको छ । उक्त एपमार्फत नेपाल संवत्, विक्रम संवत् र इस्वी संवत्का मिति तथा तिथि हेर्न र एक संवत्को मितिलाई अर्को संवत्मा रूपान्तरण गर्न सकिने अध्यक्ष श्रेष्ठले बताए । यसबाट विगतका २०, ३०, ४०, ५० तथा १०० वर्षअघिका मिति र तिथिसमेत हेर्न सकिने उनको भनाइ छ ।

त्यस्तै कम्प्युटर तथा ल्यापटपमा प्रयोग गर्न मिल्ने नेपाल संवत्सम्बन्धी विजारसमेत निर्माण गरिएको उनले जानकारी दिए । यी दुवै प्रविधिगत सामग्री प्रतिष्ठानले सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

तर यी सामग्री निर्माण तथा अनुसन्धानमा सरकारले आर्थिक लगानी नगरेको अध्यक्ष श्रेष्ठको गुनासो छ । नेपाल संवत्को प्रवद्र्धनका लागि आवश्यक अनुसन्धान, प्रविधि विकास र प्रचारप्रसारमा राज्यले बजेट विनियोजन गर्नुपर्ने उनले बताए ।

नेपाल संवत्‌लाई नेपाली नोट तथा सिक्कामा समेत प्रयोग गर्न प्रतिष्ठानले सरकारसँग माग गर्दै आएको छ । नेपाली मुद्रा प्रयोग गर्ने नागरिकले आफ्नो देशको मौलिक संवत् पनि त्यसमा देख्न पाउनुपर्ने उनको तर्क छ।

‘हामीले नेपाली नोट र सिक्का प्रयोग गर्छौँ । त्यसमा नेपाल संवत् पनि प्रयोग हुनुपर्छ भनेर सरकारलाई घचघच्याइरहेका छौँ,’ उनले भने ।

अध्यक्ष श्रेष्ठका अनुसार तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको कार्यकालमा नेपाली नोटमा नेपाल संवत् प्रयोग गर्न माग गरिएको थियो । तर त्यसबेला नेपाल संवत्को सट्टा विक्रम संवत् उल्लेख गरिएको र पछि इस्वी संवत्समेत थपिएको उनले बताए । यसलाई राज्यका प्रशासनिक संयन्त्रमा भएको कमजोरीका रूपमा उल्लेख गर्दै आगामी दिनमा नेपाली नोटमा नेपाल संवत् समावेश गर्नुपर्ने उनले माग गरे ।

त्यसैगरी नेपाल संवत्‌का प्रवर्तक शंखधर साख्वाको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्नुपर्ने माग पनि प्रतिष्ठानले अघि सारेको छ । विभिन्न नेता तथा साहित्यकारका नाममा राष्ट्रिय पुरस्कार स्थापना भए पनि नेपाल संवत् सुरु गर्ने ऐतिहासिक व्यक्तित्वको नाममा अहिलेसम्म राष्ट्रिय पुरस्कार स्थापना नहुनु दुःखद् भएको श्रेष्ठले बताए ।

नेपाल संवत् चन्द्रमाको गतिका आधारमा गणना हुने भएकाले यसको तिथि र मितिको व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने उनले बताए । इस्वी संवत् र विक्रम संवत् सौर्यमासका आधारमा गणना हुने भएकाले यी संवत्हरूबीच गणनाको प्रकृतिमा भिन्नता रहेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय अभ्यासअनुसार समय मिलानका विषयमा नेपालले पनि आवश्यक अध्ययन गर्नुपर्ने उनले बताए ।

नेपाल संवत्‌को नयाँ वर्ष मनाउने क्रममा पछिल्लो समय स्थानीय तह तथा विभिन्न संस्थाबाट सामान्य सहयोग हुन थालेको श्रेष्ठले बताए । कतिपय स्थानमा चियापान, सरसफाइ तथा अन्य कार्यक्रमका लागि स्थानीय तहले सहयोग गर्ने गरेको उनले जानकारी दिए ।

तर यस्ता प्रयास पर्याप्त नभएको भन्दै उनले नेपाल संवत्को संरक्षण र प्रवद्र्धनलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्ने बताए । यसका लागि विद्यालयको पाठ्यक्रममा समावेश गर्ने, सरकारी कागजातमा प्रयोग गर्ने, नेपाली नोटमा उल्लेख गर्ने, शंखधर साख्वाको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने र प्रविधिगत विकासमा लगानी गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको माग छ ।

नेपाल संवत् नेपालको नामबाट स्थापित भएको विशिष्ट संवत् भएकाले यसको संरक्षण गर्नु सम्पूर्ण नेपालीको साझा जिम्मेवारी भएको अध्यक्ष श्रेष्ठले बताए ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्