मलंगवामा आजदेखि ‘उर्लँदो नदीसरी : महिला र परिवर्तनका कथाहरू’ कला प्रदर्शनी सुरु हुँदै
विश्वनाथ ठाकुर, नेपाल न्यूज बैंक
सर्लाही । महिलाको श्रम, ज्ञान, नेतृत्व, सङ्घर्ष र परिवर्तनका कथालाई कलामार्फत उजागर गर्ने उद्देश्यले सर्लाहीको मलंगवामा आजदेखि तीन दिने कला प्रदर्शनी तथा हाट बजार सुरु हुँदैछ ।
सृजनालय र युएन ओमेनको आयोजनामा सञ्चालन हुन लागेको ‘उर्लँदो नदीसरी स् महिला र परिवर्तनका कथाहरू’ नामक प्रदर्शनी मंसिर ३, ४ र ५ गतेसम्म मलंगवा–१० स्थित जानकी पार्टी प्यालेसमा सञ्चालन हुनेछ ।
प्रदर्शनीमा महिलाका जीवन्त अनुभव, भोगाइ, श्रम, नेतृत्व र सङ्घर्षमा आधारित विभिन्न कलाकृति तथा अडियो कथाहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ । यसले महिलाका आवाज, अनुभव र योगदानलाई कलामार्फत समाजसामु ल्याउने अपेक्षा गरिएको छ ।
त्यसैगरी, सर्लाहीका महिलाद्वारा उत्पादित स्थानीय सामग्रीहरूको हाट बजारसमेत सञ्चालन गरिनेछ। हाट बजारमा स्थानीय महिला उद्यमीले उत्पादन गरेका सामग्रीहरूको अवलोकन तथा खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । यसले महिला उद्यमशीलता, स्थानीय उत्पादन र आर्थिक सशक्तीकरणलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।
तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुला रहनेछ । प्रदर्शनीमा प्रवेश निःशुल्क हुनुका साथै अपाङ्गतामैत्री व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
आयोजकले महिलाका कथा, सिर्जना र योगदानलाई नजिकबाट बुझ्न तथा महिला नेतृत्व र परिवर्तनको यात्रामा ऐक्यबद्धता जनाउन सम्पूर्ण सर्वसाधारणलाई प्रदर्शनीमा सहभागी हुन आग्रह गरेको छ ।
महिलाका कथा सुन्ने, उनीहरूको सिर्जनाको सम्मान गर्ने र परिवर्तनका आवाजलाई सामूहिक रूपमा अघि बढाउने उद्देश्यसहित आयोजना गरिएको यस कार्यक्रमले स्थानीय महिला सर्जक तथा उद्यमीलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्