Skip to content

चुनावी प्रतिबद्धता कार्यान्वयनतर्फ सांसद खनालको सक्रियता: विज्ञहरूसँग छलफल सुरु

nmb bank inside

काठमाडौँ । नवलपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य मनिष खनालले आफ्नो चुनावी वाचापत्रमा उल्लेख गरिएका प्रतिबद्धताहरूलाई नीतिगत रूप दिन विज्ञहरूसँगको छलफल शृङ्खला सुरु गरेका छन्  । ‘नीतिबाट विधि, र विधिबाट समृद्धि’ भन्ने नाराका साथ उनले आफ्नो निर्वाचन क्षेत्रको समस्या, अवसर र चुनौतीहरूको सूक्ष्म अध्ययनका लागि यो अभियान थालेका हुन्  ।

छलफल शृङ्खलाको पहिलो दिन सांसद खनालले मदन पुरस्कार विजेता प्रख्यात अनुसन्धानकर्ता, पत्रकार तथा लेखक मोहन मैनालीसँग भेटवार्ता गरेका छन् । मैनालीकै निवासमा भएको उक्त भेटघाटमा नवलपुर क्षेत्रको समसामयिक र दीर्घकालीन मुद्दाहरूमा केन्द्रित रहेर लामो संवाद भएको थियो ।

नारायणी नदी कटान र सामाजिक–आर्थिक प्रभाव

छलफलका क्रममा लेखक मैनालीले केही वर्षअघि नवलपुर क्षेत्रमा गरेको अनुसन्धान र विशेष गरी ‘नारायणी नदी कटान’ का विषयमा कुराकानी भएको थियो । नदी कटानले त्यस क्षेत्रमा निम्त्याएको सामाजिक र आर्थिक संकट तथा त्यसको दीर्घकालीन समाधानका उपायहरूका बारेमा खनालले विज्ञ सुझाव लिएका छन् ।

पहाडी भेग र मध्यवर्ती क्षेत्रका समस्या

भेटमा नवलपुरका पहाडी क्षेत्रहरू बौदीकाली, हुप्सेकोट, विनयी त्रिवेणी र मध्यविन्दुका मगर बस्तीहरूको अवस्था, त्यहाँका आर्थिक सम्भावना र चुनौतीहरूबारे पनि चर्चा गरिएको थियो । साथै, मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयले भोग्नुपरेका सामाजिक समस्याहरूका बारेमा अनौपचारिक तर गहन छलफल भएको सांसद खनालले जानकारी दिए ।

भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै खनालले भने, ‘आफ्नो निर्वाचन क्षेत्रलाई अझ गहिरिएर बुझ्ने र त्यहाँका समस्याहरूलाई सम्बोधन गर्ने थालनी गरिसकेका छौँ । अब यो यात्रा रोकिँदैन, नागरिक र विज्ञहरूको सुझाव ग्रहण गर्दै निरन्तर अघि बढ्नेछौँ ।’

लेखकसँगको यो भेटले नीति निर्माणमा महत्त्वपूर्ण सहयोग पुग्ने खनालले विश्वास व्यक्त गरेका छन् । चुनावी वाचाहरूलाई केवल भाषणमा सीमित नराखी विज्ञहरूको परामर्शमा ठोस नीति बनाउन खनालको यो कदमलाई स्थानीय स्तरमा सकारात्मक रूपमा हेरिएको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्