Skip to content

मेयर सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन

nmb bank inside

काठमाडौँ । किर्ते नागरिकता मुद्दामा पक्राउ अनुमति जारी भएपछि फरार रहेका वीरगन्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) राजेशमान सिंहको खोजी कार्यलाई जिल्ला प्रहरी कार्यालय पर्साले तीव्र पारेको छ। मेयर सिंहलाई नियन्त्रणमा लिन प्रहरीले विशेष टोलीसमेत परिचालन गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकका अनुसार मेयर सिंहलाई पक्राउ गर्न प्रहरी टोली परिचालन भइसकेको छ। मंगलबार मेयर सिंहसहित ४ जनाको नाममा पर्सा जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र (पुर्जी) प्राप्त हुनासाथ प्रहरीले उनको खोजी कार्यलाई तीव्र बनाएको थियो।

मेयर सिंह अदालतमा हाजिर हुन जाँदा प्रहरीलाई सोको जानकारी किन नगराइएको र कसको संरक्षणमा उनी सुटुक्क अदालत छिरे भन्ने विषयमा समेत प्रहरीले विशेष अनुसन्धान सुरु गरेको छ।

प्रहरी स्रोतका अनुसार मेयर सिंह अदालतमा आएको सूचना ढिलो गरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली अदालत पुगेको थियो। तर, प्रहरी टोली पुग्नुभन्दा पहिल्यै मेयर सिंह त्यहाँबाट फरार भइसकेका थिए।

फरार भएका मेयर सिंहको खोजीका लागि जिल्ला प्रहरी कार्यालय पर्साले सम्भावित क्षेत्रहरूमा विशेष टोली परिचालन गरी निगरानी बढाएको छ। कानुनको नजरमा फरार रहेका स्थानीय सरकारका प्रमुख नै प्रहरीलाई छक्याउँदै हिँड्न थालेपछि वीरगन्जको प्रशासनिक र राजनीतिक वृत्तमा तरंग पैदा भएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्