काठमाडौं । काठमाडौंको माइतीघर मण्डलमा दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरूले सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन्। सडक पेटीमा जीविकोपार्जन गर्दै आएका उनीहरूले विभिन्न सरकारी निकायबाट धरपकड र जबरजस्ती हटाउने प्रयास भएको भन्दै आन्दोलन गरेका हुन्।
प्रदर्शनका क्रममा सहभागी रोजिता ऐरले सरकारले आफूहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्नुपर्ने माग गरिन्। उनले क्षमता र सीप हुँदाहुँदै पनि बाध्यतावश सडकमा उत्रिनुपरेको बताइन्।
उनले भनिन्, ‘सरकारले शिक्षा, स्वास्थ्य र रोजगारी हामीलाई दिनुप¥यो। हामी यहाँ सडकमा यसरी आउनुपर्ने बाध्यता हो। सरकारले चाँडोभन्दा चाँडो हाम्रो कुरा सुनोस्। सबैजना हामी युवा क्षमता हुँदाहुँदै पनि बाध्यताले सडकमा उत्रिनुपरेको छ। हाम्रो पनि बालबच्चा छन्। सडकमा बसेर नै जीविकोपार्जन गरौँ भन्ने हाम्रो माग होइन। हामीलाई रोजगार चाहिएको छ भनेर ध्यानाकर्षण गराउन आएका हौँ।’
ऐरले दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरूमाथि राज्य पक्षबाट विभेदपूर्ण व्यवहार हुने गरेको आरोपसमेत लगाइन्। ‘सरकारले हामीलाई अन्यायपूर्ण व्यवहार गर्ने, अपशब्द प्रयोग गर्ने, लछापछार गर्ने र दुव्र्यवहार गर्ने काम गरेको छ,’ उनले भनिन्।
प्रदर्शनकारीहरूले राज्यले अपांगता भएका व्यक्तिहरूका लागि सम्मानजनक रोजगारी, सामाजिक सुरक्षा तथा मानवअधिकारको प्रत्याभूति गर्नुपर्ने माग गरेका छन्।
साथै, सडक पेटीमा जीविकोपार्जन गरिरहेका दृष्टिविहीनहरूमाथि हुने धरपकड तत्काल रोक्न पनि उनीहरूले सरकारसँग आग्रह गरेका छन्।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्