ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड
काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजाति समुदायको ज्ञान उत्पादन र त्यसको उपभोग पक्ष अझै कमजोर रहेको बताएका छन्।
नेपाल आदिवासी ज्ञान सम्मेलन २०८२ को स्मारिका लोकार्पण तथा प्रशंसापत्र वितरण समारोहमा बोल्दै अध्यक्ष थापा मगरले ज्ञान उत्पादन, अनुसन्धान र त्यसको प्रयोगमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।
उनले विभिन्न प्रतिवेदन अध्ययन गर्दा अन्य प्रतिवेदनको तुलनामा आदिवासी जनजाति समुदायसँग सम्बन्धित अध्ययन–अनुसन्धानका सामग्री कमजोर देखिने गरेको बताए।
‘हामी वास्तवमा ज्ञान, नलेज प्रोडक्सन र कन्जम्प्सनमा कमजोर छौँ। धेरै रिपोर्टहरू हेर्दा अरूसँग तुलना गर्दा हाम्रा रिपोर्टहरू केही तलै छन् कि जस्तो लाग्छ,’ उनले भने ।
उनले विगतमा प्रख्यात भूगोलविद् तथा योजनाविद् डा. हर्क गुरुङले एक पृष्ठको कार्यपत्रबाट गहिरो ज्ञान प्रस्तुत गरेको उदाहरण दिँदै ज्ञानको गुणस्तर र प्रस्तुतिको महत्वबारे चर्चा गरे।
अध्यक्ष थापा मगरले डा. हर्क गुरुङले प्रस्तुत गरेको एक पृष्ठको सामग्रीमा नेपालको राजनीतिक प्रतिनिधित्व, आदिवासी जनजातिको अवस्था, आर्थिक तथा सामाजिक स्थिति, जनसंख्या लगायतका विषय समेटिएको स्मरण गरे।
‘एक पाना कागजको डाटाबाट उहाँले जुन व्याख्या गर्नुभयो, त्यसले उहाँको ज्ञान उत्पादन र ज्ञान उपभोगको स्तर देखाउँथ्यो,’ उनले भने।
उनले आदिवासी जनजाति महासंघले प्रकाशन गरेको डा. हर्क गुरुङको पुस्तक ‘जनजाति सेरोफेरो’ ज्ञानको महत्वपूर्ण स्रोत भएको उल्लेख गर्दै यस्ता पुस्तकहरूको अध्ययन र प्रयोग बढाउनुपर्ने बताए।
‘राम्रो ज्ञान उत्पादन मात्र भएर पुग्दैन, त्यसको उपभोग पनि हुनुपर्छ। उत्पादन र उपभोग दुवै भयो भने मात्र त्यसले प्रभाव पार्छ,’ उनले भने।
अध्यक्ष थापा मगरले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति आयोगलाई अधिकार प्रवद्र्धन र संरक्षणका लागि एकअर्काका परिपूरक संस्थाका रूपमा अघि बढाउनुपर्ने बताए।
उनले महासंघको संरचना जनस्तरसम्म पुगेकाले समुदायसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै आयोगको भूमिका नीतिगत तहमा प्रभाव पार्ने रहेको बताए।
‘महासंघ, प्रतिष्ठान र आयोगका आफ्ना–आफ्ना उद्देश्य छन्। त्यसअनुसार काम गर्दै एकअर्काको सहयोगी बन्नुपर्छ,’ उनले भने।
संविधान संशोधनका विषयमा आदिवासी जनजाति महासंघसँग समन्वय गरेर सुझाव लिएको उल्लेख गर्दै उनले समुदायका वास्तविक समस्या र मागलाई राज्यका निकायसम्म पुर्याउनुपर्ने बताए।
उनले राष्ट्रिय जनावरका रूपमा गैँडालाई बनाउनुपर्ने सुझावसमेत आदिवासी समुदायका अनुभव र पीडासँग जोडिएको बताए। उनले सोलुखुम्बु भ्रमणका क्रममा किरात समुदायले धार्मिक संस्कारमा गाईको प्रयोगसँग सम्बन्धित समस्या सुनाएको उदाहरण दिँदै समुदायका सांस्कृतिक अभ्यास र समस्या सम्बोधन हुनुपर्ने धारणा राखे।
अध्यक्ष थापा मगरले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको पुनर्संरचना आवश्यक रहेको बताए। उनले प्रतिष्ठानलाई प्रभावकारी बनाउन नेतृत्व चयन प्रक्रिया पारदर्शी र सक्षम व्यक्तिको छनोटमा आधारित हुनुपर्नेमा जोड दिए।
‘हामीले आफ्ना मान्छे वा पार्टी हेरेर नेतृत्व चयन गर्ने हो भने समस्या हामीबाटै सुरु हुन्छ। सक्षम र योग्य व्यक्ति ल्याउनुपर्छ,’ उनले भने।
उनले प्रतिष्ठान लामो समय नेतृत्वविहीन अवस्थामा रहन नहुने भन्दै छिटो नियुक्ति प्रक्रिया अघि बढाउन सबै सरोकारवालालाई आग्रह गरे ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्