काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य, सामाजिक उत्तरदायित्व र सञ्चारमाध्यमको भूमिकामाथि गम्भीर बहस सुरु भएको हो ।
चार घटनामध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते अवस्थामा उपचाररत छन् । लगातार एउटै प्रकृतिका घटना दोहोरिन थालेपछि मनोचिकित्सकहरूले यसलाई केवल व्यक्तिगत समस्याको परिणाम मात्र नभई मानसिक स्वास्थ्य, सामाजिक वातावरण र केही सञ्चारमाध्यममा आउने अतिरञ्जित समाचारका कारण हेर्नुपर्ने बताएका छन्।
असार २५ गते : राहदानी विभाग अगाडि नेपालीको आत्मदाह
गत असार २५ गते २५ वर्षीय गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो । उक्त घटनाले देशभर व्यापक ध्यानाकर्षण गराएको थियो ।
असार २७ गते : बुद्धनगरमा अर्को आत्मदाह प्रयास
यस्तै ४५ वर्षीय अश्विन राउतले काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा आत्मदाहको प्रयास गरेका उनको पनि निधन भयो ।
असार ३० गते : सर्लाहीमा मण्डलको मृत्यु
सर्लाहीको गोडैता नगरपालिकाका ४२ वर्षीय विवेक मण्डलले आत्मदाहको प्रयास गरेका थिए । गम्भीर घाइते भएका उनको असार ३० गते उपचारका क्रममा मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भएपनि प्रारम्भिक रूपमा व्यक्तिगत तथा सामाजिक समस्यासँग घटना जोडिएको प्रहरीले जनाएको थियो ।
यसैबीच पछिल्लो घटना रौतहटमा भएको छ । रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्महत्याको प्रयास गरेका छन् ।
प्रहरीका अनुसार देबेन्द्र सहनीका छोरा गौतमले घरायसी वा अन्य कुनै कारणले उक्त कदम चालेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
रौतहटका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी बसन्त गौतमका अनुसार आगलागीबाट सहनीको घाँटीमुनिको भाग करिब ३१.५ प्रतिशत जलेको छ । घटनापछि उनलाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पतालमा पु¥याइएको थियो । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
हाल उनको अवस्था मध्यम रहेको र उपचारमा उनका बुबा संलग्न रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा घाइते युवक मानसिक रोगको औषधि सेवन गरिरहेको र घटनाका बेला मादक पदार्थ सेवन गरेको हुन सक्ने जानकारी उनका परिवारका सदस्यले दिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।
लगातार एउटै प्रकृतिका घटना दोहोरिएपछि मनोचिकित्सक डा. गोपाल ढकालले यसलाई ‘कपी–क्याट इफेक्ट’ सँग जोडेर हेर्नुपर्ने बताएका छन् ।
उनले आत्मदाह आत्महत्याको एउटा माध्यम मात्र भएको उल्लेख गर्दै कुनै एउटा घटनालाई सनसनीपूर्ण रूपमा प्रस्तुत गर्दा त्यसैको अनुकरण गर्ने जोखिम बढ्ने बताए ।
उनका अनुसार नेपालमा दैनिक औसत २० जनाले आत्महत्या गर्ने तथ्यांक रहेपनि कुनै एउटा माध्यमलाई अत्यधिक प्रचार गरिएपछि सोही माध्यम अपनाउने सम्भावना बढ्ने गरेको विभिन्न अध्ययनले देखाएको छ ।
‘एउटा घटनालाई पटक–पटक समाचार, भिडियो र सामाजिक सञ्जालमार्फत सनसनीपूर्ण ढंगले प्रस्तुत गर्दा आत्महत्याको सोचमा रहेका व्यक्तिले त्यही माध्यम अनुकरण गर्न सक्छन्,’उनले भने।
डा. ढकालका अनुसार आत्महत्याका घटनाको समाचार सम्प्रेषण गर्दा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तयार गरेको मिडिया गाइडलाइन पालना गर्न आवश्यक छ । समाचारमा घटनाको विधि, स्थान, दृश्य वा विस्तृत विवरणलाई प्राथमिकता दिनुभन्दा मानसिक स्वास्थ्य, रोकथामका उपाय र सहयोग उपलब्ध हुने सेवाबारे जानकारी दिनुपर्ने उनको सुझाव छ ।
उनले आत्महत्याको सोचमा रहेका धेरै व्यक्तिहरू कुनै न कुनै माध्यम खोजिरहेको अवस्थामा समाजमा व्यापक चर्चा भएको घटना उनीहरूका लागि अनुकरणको माध्यम बन्न सक्ने बताए ।
‘आत्महत्याको सोच बनाइरहेका व्यक्तिहरूले कुन माध्यम अपनाउने भन्नेबारे खोजिरहेका हुन्छन् । त्यही बेला कुनै एउटा घटनालाई अत्याधिक प्रचार गरियो भने त्यसले उनीहरूलाई प्रभावित गर्न सक्छ,’ उनले भने ।
उनका अनुसार विशेषगरी बालबालिका र किशोरकिशोरीमा यस्तो प्रभाव अझ बढी देखिन सक्छ । चर्चामा आउने, सामाजिक सञ्जालमा व्यापक फैलिने वा धेरै बहस हुने घटनाले उनीहरूमा जिज्ञासा र अनुकरणको प्रवृत्ति बढाउन सक्ने भएकाले सञ्चारमाध्यमले झन् बढी संवेदनशीलता अपनाउनुपर्ने उनले बताए।
डा. ढकालले पछिल्ला घटनाले मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार, समयमै मनोसामाजिक परामर्श उपलब्ध गराउने व्यवस्था, परिवार र समुदायको सहयोग तथा जिम्मेवार सञ्चार अभ्यासको आवश्यकता थप स्पष्ट बनाएको बताए ।
उनले यस्ता घटनालाई सनसनीपूर्ण बनाउनेभन्दा किन मानिस यस्तो अवस्थामा पुग्छ, कसरी रोक्न सकिन्छ, संकटमा परेका व्यक्तिलाई कहाँबाट सहयोग लिन सकिन्छ भन्ने विषयलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।
लगातार दोहोरिएका आत्मदाहका घटनाले मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको प्रमुख मुद्दाका रूपमा लिएर राज्यले प्रभावकारी रोकथाम कार्यक्रम, परामर्श सेवा विस्तार र जनचेतनामूलक अभियानलाई थप सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्