Skip to content

गाजामा युद्धको प्रभाव : अंगभंग शरीरमै फुटवल खेल्दैछन् घाइतेहरु

nmb bank inside

एजेन्सी । गाजामा युद्धका क्रममा घाइते भएका युवाहरुमा फुटवलप्रतिको क्रेज तिब्र देखिएको छ । उनी भग्नावशेषबीच फुटबल खेलिरहेका छन्।कोही बैसाखीको सहारामा त कोही एउटा मात्रै खुट्टाको भरमा खेल्दै छन्। उनीहरूको संकल्प र खेलप्रतिको समर्पण प्रेरणादायी देखिन्छ ।

उनीहरूका लागि फुटबल केवल खेल मात्र होइन आफ्नो मनोबल बलियो बनाउने र विनाशका बीच पनि आफ्नो आत्मसम्मान कायम राख्ने माध्यम हो।

गाजा सिटीका ध्वस्त भवनहरूको बीचमा २० वर्षीय सैफ बिलाल आफ्ना टोलीका साथीहरूसँग हरेक दिन अभ्यास गर्छन्। बाल्यकालदेखि नै फुटबलप्रेमी बिलाल १५ वर्षको उमेरमै व्यावसायिक खेलाडी बनेका थिए र उनी प्यालेस्टिनी राष्ट्रिय टोलीमा पुग्ने सम्भावना भएका प्रतिभाशाली खेलाडी मानिन्थे।

तर सन् २०२४ मार्च ५ मा गाजामा भइरहेको आक्रमणबाट जोगिन भागिरहेका बेला इजरायली गोलीले उनको देब्रे खुट्टामा लाग्यो। विभिन्न अस्पतालमा उपचार, प्लास्टर र स्टिल प्लेटको सहायताले खुट्टा बचाउने प्रयास गरिए पनि अन्ततः चिकित्सकहरूले उनको खुट्टा काट्न बाध्य भए।

बिलाल भन्छन्, ‘त्यो क्षण मलाई लाग्यो कि मेरा सबै सपना चकनाचुर भए। यो केवल फुटबलको कुरा थिएन, मेरो भविष्य नै अन्धकारमय भयो। मैले जुन लक्ष्यका लागि संघर्ष गरिरहेको थिएँ, सबै एकैचोटि समाप्त भयो।’

बिलालको पीडा गाजामा फैलिएको ठूलो मानवीय संकटको एउटा उदाहरण मात्र हो। विश्व स्वास्थ्य संगठनले गत अक्टोबर सार्वजनिक गरेको प्रतिवेदनअनुसार गाजामा जारी द्वन्द्वका कारण करिब ४२ हजार मानिस गम्भीर रूपमा घाइते भएका छन्, जसमा ५ हजारभन्दा बढीले आफ्ना हात वा खुट्टा गुमाएका छन्।

युद्धका कारण मानसिक रूपमा आघातमा परेका यी युवाहरूलाई पुनः आत्मविश्वास दिलाउने उद्देश्यले यस वर्ष जनवरी १ मा ‘गाजा विल’ फुटबल टोली गठन गरिएको थियो।

 

टोली पूर्ण रूपमा अंगभंग भएका खेलाडीहरूबाट बनेको छ। कठिन शारीरिक अभ्यास र मनोवैज्ञानिक परामर्शमार्फत उनीहरूलाई नयाँ जीवन सुरु गर्न सहयोग गरिन्छ।

टोलीका मुख्य प्रशिक्षक हातिम अल–मग्राबी भन्छन्, ‘गाजा विल’ केवल एउटा फुटबल टोली वा अवधारणा मात्र होइन। यसमार्फत हामी संसारलाई एउटा सन्देश दिन चाहन्छौं—गाजाको इच्छाशक्ति युद्धभन्दा बलियो छ। गाजाको इच्छाशक्ति अपांगताभन्दा बलियो छ। गाजाको इच्छाशक्ति कुनै पनि असम्भवतालाई जित्न सक्ने शक्ति हो।’

बिलालका लागि फुटबल मैदान एउटा आश्रयस्थलजस्तै बनेको छ। त्यहाँ पुग्दा उनले फेरि सामान्य जीवनको अनुभूति गर्छन्, मनमा थुप्रिएका पीडा बाहिर निकाल्न सक्छन् र एउटा खुट्टा गुमाए पनि गोल गर्न सकेकोमा गर्व महसुस गर्छन्।

तर युद्धग्रस्त क्षेत्रमा अभ्यास गर्नु निकै कठिन छ। बिलालसँग केवल एउटा जोडी बैसाखी छ। यदि त्यो भाँचियो भने अर्को पाउन लगभग असम्भव छ। गाजाका सडकभरि छरिएका धारिला भग्नावशेषले उनीहरूसँग भएको थोरै सुरक्षात्मक सामग्रीसमेत च्यात्न सक्छ।

यस्ता कठिनाइका बाबजुद पनि बिलालले अहिलेसम्म एउटा पनि प्रशिक्षण सत्र छुटाएका छैनन्। उनको यही निरन्तर प्रयासले उनलाई हाल प्यालेस्टाइन राष्ट्रिय एम्प्युटी (अंगभंग भएका खेलाडीहरूको)फुटबल टोलीमा स्थान दिलाएको छ, जहाँ उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो देशको प्रतिनिधित्व गर्नेछन्।

प्रशिक्षक हातिम अल–मग्राबी भन्छन्, ‘साँचो कुरा भन्नुपर्दा, मलाई सबैभन्दा धेरै अचम्म उनीहरूले नै पार्छन्। मेरा दुवै हातखुट्टा स्वस्थ छन्। तर जब म कुनै अंगभंग भएका खेलाडीलाई लडेर फेरि उठेको, आफ्ना बैसाखी समातेर फेरि बलको पछि दौडिएको र आफ्नो सम्पूर्ण शक्ति लगाएर गोलतर्फ प्रहार गरेको देख्छु, तब मलाई लाग्छ उनी संसारलाई एउटा सन्देश दिइरहेका छन्—‘म अपांग छैन। म सक्छु। म सक्षम छु, र म यो गरेर देखाउनेछु।’(सीसीटिभीप्लस)

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्