Skip to content

कक्षा १२ को प्रमाणपत्रमा मनपरी शुल्क असुली, विद्यार्थीहरू आक्रोशित

nmb bank inside

काठमाडौं । कक्षा १२ का प्रमाणपत्र वितरणका क्रममा निजी कलेजहरूले तोकिएको शुल्कभन्दा बढी रकम असुलिरहेको गुनासो व्यापक रूपमा उठ्न थालेको छ। राष्ट्रिय परीक्षा बोर्डले Transcript, Provisional तथा Migration Certificate का लागि सीमित शुल्क निर्धारण गरे पनि विभिन्न कलेजहरूले फरक–फरक शीर्षकमा अतिरिक्त रकम लिईरहेको गुनासो उठ्न थालेको हो।

ललितपुरको कुमारपाटीस्थित क्यास्पियन भ्याली सेकेन्डरी स्कुलले Transcript का लागि १,६०० रुपैयाँ र Character Certificate शीर्षकमा ३,००० रुपैयाँ गरी कुल ४,६०० रुपैयाँ असुलेको प्रमाण सार्वजनिक भएको छ। बोर्डको मापदण्डभन्दा बढी शुल्क लिइएको भन्दै विद्यार्थीहरूले असन्तुष्टि जनाएका छन्।

विद्यार्थीहरूका अनुसार अतिरिक्त शुल्कबारे जानकारी लिन कलेज प्रशासनमा जाँदा केही कर्मचारीबाट दुर्व्यवहारसमेत भएको आरोप छ। यसले शैक्षिक संस्थाहरूको पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।

यस्तै, विराटनगरस्थित मेरील्याण्ड कलेजमा पनि बोर्डले तोकेको करिब १,५०० रुपैयाँको सट्टा Character Certificate का नाममा मात्र ४,००० रुपैयाँसम्म असुलिएको गुनासो आएको छ। विद्यार्थीहरूले फाराम भर्ने चरणमै अतिरिक्त शुल्क लिइएको दाबी गरेका छन्।

शिक्षा क्षेत्रका सरोकारवालाहरूका अनुसार बोर्डले निर्धारण गरेको शुल्कभन्दा बाहिर गएर अनिवार्य रूपमा अतिरिक्त रकम असुल्नु कानुनी तथा नैतिक रूपमा अनुचित हो। Character Certificate लगायतका कागजातका नाममा मनपरी शुल्क निर्धारण गर्नु शिक्षा क्षेत्रभित्रको विकृति भएको उनीहरूको भनाइ छ।

देशका विभिन्न स्थानबाट यस्तै गुनासाहरू बढ्दै गएपछि विद्यार्थी र अभिभावकहरूले सम्बन्धित निकायसँग कलेजहरूको शुल्क संरचना छानबिन गर्न, बोर्डको मापदण्ड कडाइका साथ कार्यान्वयन गराउन तथा नियमविपरीत शुल्क असुल्ने संस्थामाथि कारबाही गर्न माग गरेका छन्।

शिक्षा सेवा प्रदान गर्ने नाममा आधारभूत प्रमाणपत्र वितरण प्रक्रियालाई समेत आम्दानीको माध्यम बनाउने प्रवृत्तिले विद्यार्थीहरू थप आर्थिक भारमा परेको विद्यार्थी र अभिभावकहरूको गुनासो छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्