सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन, पूर्वाधार सुधार तथा पुनर्संरचनाको प्रक्रिया अघि बढाइने
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले सिंहदरबारस्थित दिवा शिशु केन्द्रको स्थलगत अनुगमन गरेकी छन्।
अनुगमनमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका सम्बन्धित अधिकारी तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिवको सहभागिता रहेको थियो। सो क्रममा मन्त्री बादीले केन्द्रको सेवा सञ्चालन, बालबालिकाका लागि उपलब्ध हेरचाह सेवा, भौतिक पूर्वाधार तथा समग्र व्यवस्थापनको अवस्थाको अवलोकन गरेकी थिइन्।
केन्द्र परिसरमा रहेको पुरानो भवनको संरचनागत अवस्था, उपयोगिता तथा त्यसलाई दिवा शिशु केन्द्रको प्रयोजनमा उपयोग गर्न सकिने सम्भावनाबारे समेत स्थलगत अवलोकन गरिएको थियो। उक्त भवनलाई आवश्यक मर्मत तथा स्तरोन्नति गरी दिवा शिशु केन्द्रको प्रयोजनमा उपयोग गर्ने वा केन्द्रको आवश्यकता अनुरूप पुनर्संरचना गर्ने विषयमा प्राविधिक अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाउनेबारे छलफल भएको थियो।
मन्त्री बादीले प्रारम्भिक बाल स्याहार तथा संरक्षण सेवाको गुणस्तर अभिवृद्धिका लागि सुरक्षित, सुविधा सम्पन्न र बालमैत्री पूर्वाधार आवश्यक रहेको बताएकी छन्। उनले दिवा शिशु केन्द्रको दीर्घकालीन आवश्यकता, सेवा विस्तार तथा बालबालिकाको सर्वोत्तम हितलाई दृष्टिगत गरी पूर्वाधार विकासका सम्भावित विकल्पमा आवश्यक तयारी अगाडि बढाउनुपर्नेमा जोड दिएकी छन्।
अनुगमनका क्रममा भएको छलफलका आधारमा दिवा शिशु केन्द्रको पूर्वाधार सुधार तथा पुनर्संरचनासम्बन्धी विषयमा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्दै प्राविधिक अध्ययनको प्रक्रिया अगाडि बढाइने समझदारी भएको मन्त्रालयले जनाएको छ।




Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्