काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले हालैको अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति पुर्याए पनि अधिकांश क्षेत्रमा विद्युत् सेवा सुचारु भइसकेको जानकारी दिएका छन् ।
सोमबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक श्रेष्ठले वर्षा रोकिनसाथ वितरण केन्द्र र ग्रिड सञ्चालन विभागको संयुक्त समन्वयमा सेवा पुनःस्थापनाको काम तीव्र पारिएको बताए ।
उनले भने, ‘मिति २०८३÷६÷९ गतेदेखिको अविरल वर्षाको कारण विभिन्न विद्युतीय संरचनामा क्षति पुग्न गएको थियो। बाढीका कारण आकस्मिक रूपमा बन्द गरिएका केही उत्पादन केन्द्रहरू सञ्चालनमा आएका छन्। टावरमा क्षति पुगेका कारण अवरुद्ध उत्पादन केन्द्रहरू सञ्चालनमा आउन केही समय लाग्नेछ । तापनि वितरण प्रणाली सञ्चालनमा सम्बन्धित वितरण केन्द्र र ग्रिड सञ्चालन विभागको संयुक्त समन्वयबाट अधिकांश स्थानहरूमा वर्षा रोकिनसाथ विद्युत् आपूर्ति सञ्चालनमा ल्याइसकिएको छ । बाँकी क्षेत्रहरूमा पनि लाइन सुचारु गर्न प्राविधिकहरू कार्यक्षेत्रमा खटिरहेका छन्।’
उत्पादन तथा प्रसारणतर्फको क्षतिबाढीपहिरोका कारण प्राधिकरण र निजी क्षेत्रका थुप्रै आयोजनाहरू प्रभावित भएका छन् ।
प्राधिकरणका अनुसार कुश्मा–दाना प्रसारण लाइनमा क्षति पुग्दा सात जलविद्युत् केन्द्रको १९० मेगावाट उत्पादन प्रभावित भएको थियो ।
राहुघाट जलविद्युत् केन्द्रको टेलरेस गेट र डक्टमा क्षति पुगेको तथा टर्बाइन फ्लोरमा पानी पसेकाले सफा गरी सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने जनाइएको छ ।
उनले भने, ‘प्राधिकरणको सहायक कम्पनीमार्फत प्रवद्र्धन गरिएको राहुघाटको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ भने टर्बाइन फ्लोरमा पनि पानी पसेको हुँदा सफा गरी सञ्चालनमा ल्याउन करिब १० दिन लाग्नेछ, स्विचयार्ड भने चालु भइसकेको छ । कुश्मा–दाना प्रसारण लाइनमा क्षति पुग्दा कुल ७ वटा जलविद्युत् केन्द्रहरूको १९० मेगावाट विद्युत् रोकिएको छ ।’
सेती र मादी करिडोरमा बाढीका कारण अवरुद्ध २६२ मेगावाट तथा मस्र्याङ्दी करिडोरका १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्र सञ्चालनमा आइसकेका छन् । कालीगण्डकी ‘ए’ को १४४ मेगावाटको प्लान्ट पनि सञ्चालनमा ल्याउने तयारी गरिएको उनले जानकारी दिए ।
प्रसारण लाइनतर्फ कालीगण्डकी करिडोरको २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना–कुश्मा खण्डको टावर नम्बर २१ र २२ मा क्षति पुगेको जानकारी दिइएको छ । बाटो अवरुद्ध भएकाले विस्तृत विवरण संकलन भइरहेको उनले बताए ।
अवरुद्ध वितरण लाइन म्याग्दी, मनाङ, बागलुङ, मुस्ताङ, तनहुँ, रुकुम पूर्व र प्युठानमा विद्युत् अवरुद्ध भएकोमा धेरै ठाउँमा सेवा सुचारु भइसकेको छ ।
गत भदौ १० गतेको बाढीले माथिल्लो त्रिशूली ३ ‘बी’ २२० केभी हब बगाउँदा र अन्य केन्द्रहरूमा क्षति पुग्दा करिब १४ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको प्राधिकरणले जनाएको छ ।
उक्त क्षेत्रमा सफाइ कार्य सकिएपछि मात्र वास्तविक क्षतिको मूल्यांकन गरी टेन्डर तथा बजेट व्यवस्थापन प्रक्रिया अघि बढाइने श्रेष्ठले बताए ।
उनले भने, ‘सुख्खायाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल क्षमता १२१८ मेगावाट मात्र हुनेछ । माग र आपूर्ति सन्तुलनका लागि ढल्केबर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न विन्दुबाट ३५० मेगावाट र आरटीसीको माध्यमबाट १५० मेगावाट गरी कुल ११५४ मेगावाट आयात गर्ने योजना छ । जसअनुसार कुल विद्युत् उपलब्धता २३७२ मेगावाट पुग्ने अनुमान छ ।’
काठमाडौं उपत्यकाको लोड व्यवस्थापनमा विशेष तयारीहिउँदमा काठमाडौं उपत्यकामा विद्युतीय चुलो र हिटर–एसीको प्रयोग बढ्दा लोड व्यवस्थापन चुनौतीपूर्ण हुने भएकाले प्राधिकरणले विशेष योजना बनाएको छ ।
उनले थपे, ‘पोहोर साल उपत्यकामा ७०० मेगावाट पिक डिमान्ड रेकर्ड भएकोमा यसपालि १० प्रतिशत बढ्ने अनुमान छ । यसलाई सम्बोधन गर्न चोभार, फुटुङ र मूलपानी सबस्टेसनहरू चार्ज गरी लोड सिफ्ट गरिँदै छ । यसका लागि बागमती प्रदेश कार्यालय प्रमुखको संयोजकत्वमा कार्यदल नै गठन गरिएको छ । साथै अन्डरग्राउन्ड केबलहरूलाई विन्टरअगावै चार्ज गरेर लोड व्यवस्थापन गरिनेछ ।’
दसैँलगत्तै हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन सम्पन्न गर्ने तयारी रहेको र यसले प्रणालीको विश्वसनीयता बढाउने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्