काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालको समृद्धिका लागि आयात बढाउनेभन्दा स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने बताएका छन् ।
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले कृषि उत्पादन र उत्पादकत्व बढाएर आयात प्रतिस्थापन गर्न सकिने बताए । उनले परम्परागत खेती प्रणालीलाई आधुनिक, व्यावसायिक र प्रविधिमैत्री बनाउन कृषि यान्त्रीकरण आवश्यक रहेको उल्लेख गरे ।
भन्सार विभागको उपलब्ध तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२÷८३ मा खाद्य तथा कृषिजन्य वस्तुको आयात करिब चार खर्ब ४१ अर्ब रुपैयाँ पुगेको जानकारी दिँदै उनले धान, चामल, तरकारी र फलफूललगायत कृषि उपजको स्वदेशी उत्पादन बढाउने ठूलो सम्भावना रहेको बताए ।
‘किसानलाई भाषण होइन, प्रविधि चाहिएको छ । आश्वासन होइन, उत्पादन बढाउने साधन चाहिएको छ,’ उनले भने, ‘परम्परागत खेती प्रणालीबाट आधुनिक, व्यावसायिक र प्रविधिमैत्री कृषिमा रूपान्तरण गर्नुपर्छ । त्यसको महत्वपूर्ण आधार कृषि यान्त्रीकरण हो।’
आफू किसानको छोरो र मेकानिकल इन्जिनियरसमेत भएकाले कृषि यान्त्रीकरणको विषय व्यक्तिगत रूपमा पनि महत्वपूर्ण रहेको उनले बताए । किसानको श्रम, खेतीपातीका कठिनाइ र उत्पादनको सङ्घर्ष नजिकबाट बुझेको उल्लेख गर्दै उनले प्रविधिले किसानको जीवनमा परिवर्तन ल्याउन सक्ने धारणा राखे ।
मन्त्री साहले कृषि यान्त्रीकरणलाई कृषि र उद्योग जोड्ने महत्वपूर्ण आर्थिक क्षेत्रका रूपमा अघि बढाउनुपर्ने बताए । नेपालमै कृषि औजार, मेसिन, पार्टपुर्जा तथा प्रविधि उत्पादन गर्ने उद्योग विकास गर्नुपर्नेमा जोड दिँदै उनले स्वदेशी कृषि मेसिनरी उत्पादनलाई प्राथमिकता, लगानीमैत्री वातावरण र नेपाली प्रविधि तथा उद्यमशीलताको प्रवद्र्धनलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।
उनले नेपालमै कृषि उपकरण उत्पादन, एसेम्बली तथा पार्टपुर्जा निर्माण गर्ने उद्योगलाई प्रोत्साहन गर्न नीतिगत र प्रक्रियागत सहजीकरणका लागि पहल गर्ने बताए । कृषि मेसिनरी उद्योगमा देखिएका नीतिगत, भन्सार तथा प्रक्रियागत समस्या समाधानका लागि सम्बन्धित मन्त्रालय, सरकारी निकाय र निजी क्षेत्रसँग संवाद गर्ने पनि उनको भनाइ थियो ।
नेपाली भूगोल र किसानको क्षमताअनुसार साना, किफायती, टिकाउ तथा सहज मर्मत गर्न सकिने कृषि उपकरण उत्पादन गर्ने उद्यमलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए । व्यवसायीलाई आयात र वितरणमा मात्रै सीमित नभई स्वदेशी उत्पादन, अनुसन्धान, प्रविधि हस्तान्तरण र नवप्रवर्तनमा लगानी बढाउन पनि उनले आग्रह गरे ।
प्रदर्शनीमा सयभन्दा बढी कम्पनी तथा सङ्घसंस्थाको सहभागिता, दुई हजारभन्दा बढी कृषि यन्त्र तथा प्रविधिको प्रदर्शनी र ५० हजारभन्दा बढी किसानको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ । मन्त्री साहले प्रदर्शनीलाई प्रविधि, लगानी, बजार र सहकार्यको अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए ।
‘किसान समृद्ध नभएसम्म देश समृद्ध हुँदैन । स्वदेशी उत्पादन बलियो नभएसम्म अर्थतन्त्र बलियो हुँदैन र कृषि यान्त्रीकरणबिना नेपालको कृषि रूपान्तरण सम्भव छैन,’ उनले भने ।
उनले नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घका सदस्य तथा व्यवसायीलाई कृषि यान्त्रीकरणमार्फत देशको आर्थिक आत्मनिर्भरतामा योगदान गर्न आग्रह गर्दै सरकारबाट नीतिगत सहजीकरण र प्रोत्साहन हुने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्