काठमाडौँ । ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्काले बैंकका सिनियर व्यवस्थापनका ४ जनाको नाम नै लिएर मृत्यु रोजेपछि नाम उल्लेख गरिएका ४ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढ्ने भएको छ । खड्काले नाम लिएका बैंकका सीइओ सुरेन्द्र राज रेग्मी, बैंकका असिस्टेन्ट सीइओ दीपचन्द्र रेग्मी, डेपुटी सीइओ सुमन पोखरेल, र एच आर प्रमुख अनामिका सिंहलाई पक्राउ गर्ने तयारी भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
यद्यपी बैंकका सबै सिनियर कर्मचारीलाई पक्राउ गर्दा उत्पन्न हुनसक्ने अवस्थाबारे ख्याल गरेर मात्र यस्तो निर्णय गर्ने वा एक जनालाई मात्र पक्राउ गर्ने वा सबैलाई बयानका लागि मात्र बोलाउने भन्ने विषयमा छलफल भईरहेको बुझिएको छ ।
खड्काले सामाजिक सञ्जालमार्फत चार जना उच्च अधिकारीको नाम र तस्बिर सार्वजनिक गर्दै ‘तिमी हरामखोरहरुले मलाई मार्यौ भन्ने आरोप लगाएर सिलिङ्गमा पासो लगाएका थिए ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार खड्काले फेसबुकमा स्टाटस लेखेपछि आफ्नै घरमा प्लास्टिकको पासो लगाएर आत्महत्या गरेका थिए। घटनापछि प्रहरीले मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको छ भने शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको थियो।
उनले दिएको राजीनामा आत्महत्या भएकै दिन स्वीकृत भएको दाबी गरिएको छ। विशेषगरी एचआर विभागबाट निरन्तर मानसिक दबाब आएको आरोप सामाजिक सञ्जालमा समेत व्यापक रूपमा उठाइएको छ।
स्थानीयको माग : ‘आत्महत्या दुरुत्साहन’मा अनुसन्धान होस्
घटनापछि दमकमा स्थानीयवासी र सर्वसाधारणले निष्पक्ष अनुसन्धानको माग गरेका छन्। खड्काले नामै किटिसकेको अवस्थामा सम्बन्धित अधिकारीहरूमाथि ‘आत्महत्या दुरुत्साहन’ अन्तर्गत अनुसन्धान गर्नुपर्ने माग उठेको छ।
प्रहरीले भने घटनासँग सम्बन्धित सबै पक्षमाथि अनुसन्धान हुने जनाएको छ। इलाका प्रहरी कार्यालय दमकले सामाजिक सञ्जाल पोस्ट, पारिवारिक बयान र बैंकसँग सम्बन्धित कागजातसमेत अध्ययन गरिरहेको बताइएको छ।
बैंकभित्र त्रास र मौनता
घटनापछि बैंकका कर्मचारीहरू सार्वजनिक रूपमा बोल्न डराइरहेका छन्। व्यवस्थापनमाथि सीधा आरोप लागेको र कानुनी प्रक्रिया सुरु हुन सक्ने सम्भावनाका कारण संस्थाभित्र तनावपूर्ण अवस्था रहेको बताइएको छ।
यस प्रकरणले नेपालका बैंक तथा वित्तीय संस्थामा कार्यस्थलको मानसिक दबाब, कर्मचारीमाथिको व्यवहार र संस्थागत जिम्मेवारीबारे गम्भीर बहस सुरु गराएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्