काठमाडौँ । अबदेखि विद्यालयहरूले विद्यार्थीको इच्छा विपरीत कपाल काट्न वा कटाउन नपाउने भएका छन्। बिहीबार सरकारले स्वीकृत गरेको शिक्षा नियमावली (१०औँ संशोधन) मा यस्तो व्यवस्था गरिएको हो। यसअघि केही विद्यालयहरूले जबरजस्ती विद्यार्थीको कपाल काट्ने वा कटाउन लगाउने गरेको गुनासो आएपछि सरकारले यसलाई नियन्त्रण गर्न नयाँ प्रावधान ल्याएको हो।
नियमावलीको नियम २५ अनुसार, विद्यालय परिसर वा कक्षा कोठाभित्र विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पार्ने कुनै पनि गतिविधि सञ्चालन गर्न पाइने छैन।
त्यसैगरी, विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृङ्गार वा साजसज्जाका आधारमा होच्याउने, लाञ्छित गर्ने वा चरित्रमाथि प्रश्न उठाउने कार्यलाई पनि निषेध गरिएको छ।
विद्यार्थीलाई लामो समयसम्म घाम वा अन्य प्रतिकूल अवस्थामा उभ्याएर दण्ड दिने, आत्मसम्मान र मर्यादामा आघात पुग्ने वा शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पर्ने खालका गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ।
नियमावलीमा शुल्क नतिरेको आधारमा विद्यार्थीलाई अपमानित गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ। साथै, सार्वजनिक रूपमा लाञ्छित गर्ने, भेदभावपूर्ण व्यवहार गर्ने तथा कक्षा वा परीक्षामा सहभागी हुनबाट वञ्चित गर्ने कार्यसमेत गर्न नपाइने व्यवस्था गरिएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्