विराटनगर । देशकै दोस्रो ठुलो सहर विराटनगरस्थित कोशी अस्पतालले अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याएर संरक्षण गर्ने अभियानलाई तीव्र बनाएको छ । सोही अभियानअन्तर्गत गत सोमबार अस्पताल परिसरभित्र निर्माण गरिएका अवैध संरचनामा डोजर चलाइएपछि अस्पतालले अब खाली भएको जग्गामा तत्काल पर्खाल निर्माण गरेर संरक्षण गर्ने तयारी गरेको जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झाले अस्पतालको दीर्घकालीन गुरुयोजना कार्यान्वयन तथा स्वास्थ्य सेवा विस्तारका लागि ती संरचना हटाउनु आवश्यक रहेको बताए । अस्पतालको स्वामित्वमा त्यहाँ पाँच बिघाभन्दा बढी जग्गा रहेको छ ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा डा. झाले अतिक्रमण हटाइएका क्षेत्रमा अब ढिलाइ नगरी पर्खाल लगाएर अस्पतालको जग्गा सुरक्षित गरिने जानकारी दिए । ‘अस्पतालको जग्गा सुरक्षित राख्न हामी घेराबन्दी गर्छौं । त्यसपछि गुरुयोजनाअनुसार व्यवस्थित रूपमा पूर्वाधार विकासका काम अघि बढाइनेछ,’ उनले भनेका छन् ।
उनका अनुसार अस्पतालको विस्तार योजना कार्यान्वयनका लागि मन्त्रालय र सम्बन्धित मन्त्रीको समेत सक्रिय सहयोग रहेको छ । अस्पतालले भविष्यमा विशेषज्ञ सेवा विस्तार, नयाँ भवन निर्माण तथा आधुनिक स्वास्थ्य पूर्वाधार विकासका लागि उक्त जग्गा उपयोग गर्ने लक्ष्य लिएको छ ।
डोजर चलाएर अधिकांश व्यावसायिक सटर हटाइए पनि नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको ब्लड बैंक, देवकोटा पुस्तकालय तथा गणेश मन्दिरका मूल संरचना भने तत्कालका लागि यथावत राखिएको डा. झाले बताए ।
उनका अनुसार ती संरचनामध्ये केही अस्पतालको आपतकालीन तथा अत्यावश्यक सेवासँग प्रत्यक्ष जोडिएका भएकाले तत्काल हटाइएको छैन । यद्यपि अस्पतालको गुरुयोजना कार्यान्वयनका क्रममा अन्ततः ती संरचनाको व्यवस्थापन तथा स्थानान्तरण गरी अस्पतालको सम्पूर्ण जग्गा खाली गरिने उनले स्पष्ट पारे ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्